
खबरमुकाम । सुरज पण्डित चर्चित गीत रेलको बाटोको गायक तथा संगीतकार हुन् । २०६८ सालदेखि गायन क्षेत्रमा सक्रिय जुम्ला चन्दननाथ नगरपालिका ४ मालाभिडका पण्डितको माया गर्ने जीवनसाथी, ए मेरी टुल्की नलाइ बाडुल्की, तम्रा मनमालगायत २ दर्जन बढि गीत चर्चित छन् । जुम्ला हुँदै काठमाडौंसम्मको यात्रामा भोगेका दुख र गरेको संघर्षको कथा पण्डितले कर्णाली उत्सवको चौंथो संस्करण अन्तर्गत शुक्रबारको शत्रमा सुनाए ।
गायक सुरज पण्डित
गायक बन्छु भन्ने सपना मेरो जीवनका लागि सायदै कल्पनाको विषय थियो । जुन घरबाट म यहाँ आइपुगेको छु, त्यो कर्णालीको भोगाइ हो । दुई आमा मध्ये जेठी आमाको म कान्छो छोरा हुँ । सानोमा बुवाले मेरी आमालाई म २ वर्षको हुँदा छुट्याएर राख्नुभएको भनेर मलाई आमाले भन्नुहुन्थ्यो । हामी बस्ने घरको आटीमा पानी चुहिन्थ्यो । आमाले चुहिनो छानो टालिरहनुभएको हुन्थ्यो । हामी विहान उठ्दा आमाले गीत गाइरहेको हुनुहुन्थ्यो । कैयौँ रात मकैबारीमा भालुले मकै खान आउँदा आमा डरले तीनवटा बच्चालाई काखमा राखेर रोएको अझै याद छ । बुवालाई यो कुरा सुन्दा दुख त लाग्ला तर छोरालो वास्तविक कथा सुनाइरहेको छ, बुवा मलाई माफ गर्नुहोला । मेरो घरमा एक हप्तामा भात खाने पालो मेरो घरमा एकदिनमात्रै आउँथ्यो । खाद्य संस्थानले हप्तामा एकपटक बाँड्ने १० किलो चामल लिने हैसियत मेरो आमाको रहेनछ । हामीले मकै र जौको भित्री भागलाई चामल सम्झेर, भात सम्झेर खान्थ्यौं । आमाले देखाएको बाटोमा आज म यहाँ छु भन्दा मलाई खुसी लाग्छ ।
मेरो बुवाले कर्णाली प्राविधिक शिक्षालयमा क्यान्टिन चलाउनुहुन्थ्यो । त्यतिखेर मैले अनामनगरको कर्णाली माविमा कक्षा ६ मा पढ्थे । मैले बुवासँग बुवा मेरो कापी र कलम सकिएको छ किनिदिनुस भनें । बुवाले मेरो ब्यापार भएको छैन अर्को हप्ता आ भनेर पठाउनुभयो । पछि फेरि त्यही स्कुलमा बुवाले महिनाको सय रुपैयाँ पनि फि तिरिदिन नमानेपछि मैलै स्कुल नै परिवर्तन गरेर अर्को श्री रत्न चण्डेश्वर उच्च माविमा भर्ना हुन गएँ ।
त्यसबेलै मैले ढुंगा फुटाएर ट्याक्टरलाई बेचेर वाकमेन र दुई जोर ब्याट्री किने । संगसंगै स्वरसम्राट नारायणगोपालको गितिश्रद्धाञ्जली भाग २ किने । मैले पहिलोपटक नारायणगोपालको गीत लौ सुन म भन्छु मेरो रामकहानी भन्ने गीत सुनेको थिएँ ।
त्यसपछि गितसंगित प्रति मेरो मोह बड्दै गयो । त्यतिखेर नेपाली तारा जस्ता कार्यक्रम टेलिभिजमा आउँथे । तर टिभि थिएन, म त्यही कार्यक्रम हेर्न छिमेकको घरमा जाँदा ढोका नै थुनिदिए । त्यसपछि मैले फेरि ढुंगा र गिटी फुटाएर १२ इन्चको ब्लयाक एण्ड ह्वाइट टिभी किने ।
एकदिन दिउँसो एक बजे स्कुलमा हाफ टाइमको समय चलिरहेको थियो । त्यतिखेर मैले कक्षाकोठाभित्र बसेर गीत गाइरहेको रहेछु । मेरा शिक्षक पूर्णप्रसाद धिताल सरले सुनेपछि फेरि गाउ भन्नुभयो । मैले पछि स्कुलको वार्षिकोत्सवमा पनि गीत गाएँ । त्यो मेरो पहिलो स्टेज थियो र उहाँ नै मेरो पहिलो गुरु बन्नुभयो । स्टेजमा जाने मोह बड्दै गयो । मलाई ज्युँदो श्रीमान्को विधुवा आमाको छोरा हुनुपर्छ भन्ने लाग्न थाल्यो ।
म नेपालगञ्जमा भएको मध्यपश्चिमाञ्चलस्तरीय छैठौं राष्ट्रिय खेलकुदमा सहभागी भएर स्वर्णपदक जितें । तर धनगढीमा भएको राष्ट्रियस्तरको खेलकुदमा भने सहभागी भए पनि स्वास्थ्यका कारण पुरस्कार जित्न सकिन । सायद मेरी आमाले खुवाएको जौको भातले काम गरेन । खेलाडी बन्ने मेरो सपना पुरा हुन सकेन मैले दौडिने सपना त्यही रोकें ।
२०६८ मा पदम रोकाय एकल साझ जुम्लामा भइरहेको थियो । मैले त्यहाँ एकपटक गीत गाउने अबसर दिनुस भनेर मागें । त्यसबेला राजधानीबाट आएका कलाकारभन्दा मेरो प्रस्तुतिले त्यहाँ आएका मान्छेको मन छोएछ । त्यसबेलै रोकायले मलाई एउटा गीत रेकर्ड गर्न दिन्छु काठमाडौं आउनुस भन्नुभयो । मैले ३५ हजार लगानीमा माया गर्ने जीवनसाथी भन्ने गीत रेकर्ड गरें । त्यतिखेर अडियोमात्रै चल्यो, त्यसको मुनाफाले मेरो जिन्दगी चलिरहेको छ, भलै आर्थिक मुनाफा हुन सकेन । नामको पछि दौडिएर जीवन वर्वाद नगर भन्नुहुन्थ्यो आमाले, तर एकदिन पक्कै खुसी फर्किन्छ होला भन्ने लागेरै मैले संगीत छोड्न सकिन ।
पहिलो गीत चलेपछि संगीतप्रतिको मेरो झुकाव झन बढ्यो । तर काठमाडौंमा बसिरहने अवस्था थिएन । म जुम्ला फर्किने तयारी गरिरहेका बेला एक दिन साथी खड्कजीत रोकायसँग भेट भयो, उनले कलाको सम्मान गर्नका लागि जुम्ला नपठाउनुस् भनेर एकजना रमेश भण्डारी दाइसँग आग्रह गरे । उहाँले म जागिर खोजौंला भन्नुभयो, म जुम्ला फर्किएँ ।
तर निकै समय खबर आएन । एक दिन म धार्मिकस्थल ठाकुरज्यू र विष्टज्यूमा गएर मलाई काठमाडौं जाने अवसर जुटाइदिनुस् भनेर फर्किदै थिएँ, आधा बाटो नपुग्दै रमेश दाइको फोन आयो । उहाँले काम मिल्यो काठमाडौं आउ भन्नुभयो । मैले सडक डिभिजन कार्यालयमा काम सुरु गरेँ । तर असोजसमा भर्ना भएको मान्छे पुस सम्म पनि तलब आएन, काम के हो भन्ने मेसो पनि पाउन सकिन । पुसदेखिमात्रै मैले काम गर्न पाएँ । चार महिनाको तलब एकैचोटी आउँथ्यो, कोठाभाडा तिर्ने कसरी, संगीत क्लास जाने कसरी भन्ने चिन्ताले नै पिरोल्थयो ।२०७६ फागुन २८ गते विहानको कुरा हो । मैले संगीत साधना गरिरहेको बेला धुन निस्कियो । त्यसबेला शहरमा रेलको खुब चर्चा थियो ।
काठमाडौंमा रेलको कुरा हुँदै गर्दा कर्णालीमा मोटरबाटोको सम्म परिकल्पना गरिएको थिएन, त्यो कुराले मलाई पिरोल्थ्यो । मेरो भोगाइ झलझल्ती आँखामा आउँथ्यो । त्यही संगीतलाई साथ दिने शब्द खोज्दा मैले रेलको बाटो बन्दै छ रे रेल चढौला नेपालैमा हुम्ला मोटरबाटो छैन के चढौंला हिमालैमा भन्ने शब्द कोरें । त्यसपछि यी शब्द मैले साथी लेखराज गिरीलाई पठाएँ । त्यसमा कर्णालीको सबै अबस्थाको खाका पठाएको थिएँ । उहाँले चैत १ गते गीत पुरा गरेर पठाउनुभयो । गीत, रेलको बाटो पुग्दैछ रे तिमी बस्ने शहरैमा,हुम्ला कहिले मोटर आउला बस्याको छु रहरैमा भयो ।
अहिले मलाई लाग्छ संसारमा सबैभन्दा ठूलो इच्छाशक्ति हो, इच्छाशक्ति ठूलो भयो भने एक दिन पक्कै सफल हुन सकिन्छ । न भुगोलले छेक्छ, न गरिबीले रोक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल