• वि.सं २०७९ असोज २१ शुक्रबार
  • Friday, 07 October, 2022
  • युनिकोड
  • Live
Dark

ओलीमाथि खनिए प्रचण्ड- संसद विघटन प्रतिगमन नभएर के हो ? कि नेपाली जनता भेडा भन्ठान्नुभो !

खबरमुकाम । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको प्रतिगमनको व्याख्याप्रति आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,‘प्रतिनिधिसभा विघटन गरेर प्रमुख प्रतिपक्षी दलका नेताले प्रतिगमनको व्याख्या गर्नुभयो, लोकतन्त्रको व्याख्या गर्नुभयो, मलाई आश्चर्य लाग्यो जसले जे भने पनि हुने रहेछ ।’

ओलीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर संसद् विघटन गरिएको उनको आरोप थियो । देशमा राजनीतिक स्थायित्व हुने र देश समृद्धितर्फ जानेछ भन्ने सबैको अपेक्षा थियो तर, दुर्भाग्यवश त्यसो हुन नसकेको बताउँदै अध्यक्ष प्रचण्डले भने, ‘संविधानसभाबाट संविधान घोषणा भएपछि देशमा राजनीतिक स्थायित्व हुनेछ र देश समृद्धितर्फ जानेछ अपेक्षा गरिएको थियो । तर, दुर्भाग्यवश त्यसो हुन सकेन । पाँच वर्षसम्म संसद् अविच्छिन्न सञ्चालन हुनेछ र संविधानले निर्देशित गरे अनुसार नै हामी स्थायित्व र समृद्धिको यात्रा जानेछौँ भन्ने सबैको अपेक्षा थियो । तर, तीन वर्ष पुग्दा नपुग्दै संविधानको भावना र मर्मअनुसार सरकार लाग्न सकेन ।’

सबैजना मिलेर बनाइएको विधान र व्यवस्थालाई लत्याएर संसद विघटन गर्ने कार्य प्रतिगमनकारी भएको औल्याउँदै उनले प्रश्न गरे,‘सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म त्यसलाई विघटन गर्न पाइँदैन भनेर हामी सबैले सचेत रूपमा व्यवस्था गरेको होइन ?, ‘सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको भावनाविपरीत सत्तारुढ दलको बैठक बस्दाबस्दै त्यसबारे चर्चा पनि नगरी हठात् प्रतिनिधिसभा विघटन गर्ने काम प्रतिगमन नभएर के हो ?’

निर्वाचन घोषणा गर्ने कुरालाई आफूले प्रतिगमन नभनेको तर संविधान मिचेर हुँदै नभएको अधिकार प्रयोग गर्ने कुरालाई प्रतिगमन भनेको स्पष्ट पार्दै उनले थपे,‘उहाँले अहिलेको निर्वाचन पनि प्रतिगमन हो त ? भनेर प्रश्न गर्नुभयो । यो तुलना गर्नेको पनि हद हुन्छ । हामी यहाँ बस्ने केही नबुझ्ने भन्ने ठान्नुभएको हो कि नेपाली जनता भेडै छन् भन्ने ठान्नुभएको हो ? अहिले संविधानद्वारा निर्देशित भावअनुसार हामीले स्थानीय तहको निर्वाचन सम्पन्न गरेर संघ र प्रदेशको निर्वाचन गर्दैछौँ ।’

पार्टीभित्रको विवादले यो सार्वभौम संस्थालाई प्रहार गर्ने अधिकार कसले दियो ? भनी प्रचण्डले प्रश्न गरेका छन् । पार्टीभित्र छलफल चलिरहेको थियो । तर एकाएक केले उत्प्रेरित गर्‍यो संसद् विघटन गर्न ? भन्दै प्रचण्डले थप प्रश्न गरेका छन् । उनले गठबन्धन सरकारले संविधानको भावना र मर्मअनुसार नै स्थानीय निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको र प्रदेश र संघको निर्वाचन नै त्यसरी नै सम्पन्न गर्ने तयारीमा सरकार जुटेको जानकारी दिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
80 %
Laugh
0 %
Sad
0 %
Angry
20 %

छुटाउनुभयो कि?

सबै