Dark

कर्णालीमा माओवादीद्वारा प्रदेश सभा बैठक बहिष्कार, सर्वदलीय बैठक आह्वान

खबरमुकाम । कर्णालीमा प्रदेश सभा बैठक माओवादी केन्द्रले बहिष्कार गरेपछि बैठक सञ्चालन गर्न सभामुख राजबहादुर शाहीले सर्वदलीय बैठक आह्वान गरेका छन् । 

हिजो मंगलबार सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले नै प्रदेश सभा बहिष्कार गरेपश्चात् बैठक स्थगित भएको थियो । बैठक सञ्चालन गर्न आज बुधबारका लागि सभामुख शाहीले सर्वदलीय बैठक बोलाएका हुन् ।

हिजो मंगलबार प्रदेश सभाको दशौं अधिवेशनको २६औं बैठकको शुरूमै नेकपा (माओवादी केन्द्र)का प्रदेश सभा सदस्य गोपाल शर्माले सत्ता गठबन्धनको प्रमुख दल माओवादी केन्द्रको जिम्मेवारी र आवश्यकतालाई सदन र सरकारमा पूर्णतया बेवास्ता गरिएको असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदेश सभा सदस्य गोपाल शर्माले पर्याप्त बजेट विनियोजन गरी कार्यविधि बनाएर नयाँ व्यवस्था वा प्रदेश प्राप्तिको आन्दोलनमा जीवन बलिदान गर्ने सहिद परिवारका लागि सहिद स्मृति र घाइते अपाङ्गता भएका व्यक्तिको जीवन निर्वाह भत्ताको व्यवस्था गरिए पनि त्यसको कार्यान्वयन नगरी बजेट फ्रिज पारिएको आरोप लगाएका छन् । शर्माले अर्थ तथा प्राकृतिक स्रोत समिति नेतृत्वविहीन बनाइएको सवालसमेत उठाएका छन् ।     

संसदीय समितिको बैठकमा कार्यसूची निर्माण, निर्णय प्रक्रिया नियम विपरीत भएको जनाउँदै उनले कतिपय निर्णय प्रक्रियामा असम्बन्धित क्षेत्रबाट हस्तक्षेप भएका कारण शान्ति तथा पुनःस्थापना, पर्वतीय विश्वविद्यालय दलित सशक्तिकरण, सिजा सभ्यता, आमसञ्चार प्रतिष्ठान जस्ता महत्त्वपूर्ण विधेयक कार्यसूचीमै प्रवेश गर्न नसकेको औँल्याएका हुन् ।

मंगलबार प्रदेश सभामा असन्तुष्टि पोख्दै माओवादी केन्द्रले बैठक बहिष्कार गरेपछि समस्याको समाधान खोज्न सभामुख शाहीले सर्वदलीय बैठक आह्वान गरेका हुन् । कर्णाली प्रदेशमा सर्वदलीय बैठक आज दिउँसो ३ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै