Dark

किन निर्विकल्प नेतृत्व चाहन्छन् ओली ?

खबरमुकाम । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले दसौं राष्ट्रिय महाधिवेशन (मंसिर १०–१२) मा सर्वसम्मत नेतृत्व चयन गर्ने तयारी गरेका छन् ।

 तर उपाध्यक्ष भीम रावलले अध्यक्ष ओलीविरुद्घ उम्मेदवारी दिने संकेत गरेका छन् भने नेता घनश्याम भुसाल पनि छलफलमा छन् । 

सर्वसम्मत नेतृत्वमार्फत ओली पार्टीभित्र र राष्ट्रिय राजनीतिमै केही राजनीतिक सन्देश प्रवाह गर्ने योजनामा पनि छन् ।

वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालजस्ता शीर्ष नेताले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) बनाएपछि तथा उपाध्यक्ष वामदेव गौतमले राजीनामा गरेपछि पार्टीभित्र ओलीलाई चुनौती दिने उनकै हैसियतको अर्को नेता छैनन्।

‘ओली शक्तिशाली अध्यक्ष बन्नेमा शंकै छैन, तर उहाँ निर्विकल्प पनि देखिन चाहनुहुन्छ ।

आफ्नो नेतृत्वमा पदाधिकारीसहित केन्द्रीय कमिटी नै सर्वसम्मत चयन गरेर पार्टीलाई एकछत्र नेतृत्व दिने उहाँको चाहना छ,’ दसबुँदे सहमति पक्षधर एमाले स्थायी कमिटीका एक सदस्यले भन्छन् ।

एमालेका अरू नेताले पनि आगामी चुनावमा ओलीलाई राष्ट्रिय नेताका रूपमा चित्रण गर्ने र उनको वरिपरि राजनीति केन्द्रित गर्ने योजना बनाएका छन् । एक पदाधिकारी भन्छन्, ‘यसका लागि ओलीलाई पहिला पार्टीभित्र निर्विकल्प र सर्वमान्य नेताका रूपमा स्थापित गर्नुपर्ने हुन्छ ।

 पार्टीमै विवाद हुने र नेतृत्वका लागि अर्को प्रतिस्पर्धी आउँदा आफ्नै सहकर्मीलाई पनि समेट्न नसकेको सन्देश जान्छ ।’ उनका अनुसार यसबाहेक ओली आफ्नो परम्परागत समूहलाई सुदृढ गर्ने रणनीतिमा पनि छन् ।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार अहिले एमालेले धेरै चुनौतीको सामना गरिरहेको हुँदा पार्टीलाई एकढिक्का बनाएर लैजान सर्वसम्मत नेतृत्व चयन आवश्यक बनेको हो । 

सर्वसम्मत नेतृत्व छनोट गर्ने ओलीको प्रयास चुनौतीरहित भने छैन । उपाध्यक्ष रावलले अध्यक्षको दाबेदारीको घोषणा गरेका छन् । अर्का नेता भुसाल पनि साथीहरूसँग छलफलमा छन् । 

‘अध्यक्षमा उम्मेदवारीको संकेत गरेका रावल सुदूरपश्चिमबाट फर्कनुभएको छैन, उहाँ फर्किएर छलफल गरेपछि स्थिति स्पष्ट हुन्छ,’ भुसालनिकट एक नेताले भने ।

दसबुँदे पक्षधरका अन्य नेता भने ओलीको प्रस्ताव कुरेर बसेका छन् । सम्मानजनक सम्बोधन भए उनीहरू ओलीलाई निर्विकल्प मान्ने योजनामा छन् । एमालेमा अब १५ सदस्यीय पदाधिकारी चयन हुने भएकाले आफ्नो परम्परागत समूह र असन्तुष्ट समूहलाई समेट्न ओलीका लागि सहज छैन ।

विगतमा ओलीको आलोचना गर्दै आएका एमाले उपाध्यक्ष युवराज ज्ञवाली पनि अहिले सर्वसम्मत नेतृत्व चयन हुँदा राम्रो सन्देश जाने बताउँछन् ।

एमालेभित्र संगठनमा बलियो बनी नसकेकाले पनि उनीहरू चुनावको जोखिम उठाउन इच्छुक छैनन् ।

ओलीले सर्वसम्मत नेतृत्वको प्रयास गरे पनि पार्टीले आन्तरिक प्रतिस्पर्धालाई भने खुला राखेको छ । 

ओलीले पनि आफ्नो प्रतिवेदनमा एमालेले आन्तरिक प्रतिस्पर्धालाई पनि महत्व दिएका छन् । 

यो समाचार आजको कान्तिपुर दैनिकबाट लिईएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै