Dark

पहिलो हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता सम्पन्न, मन्त्री अथकद्धारा खेलाडीलाई पुरस्कार वितरण

खबरमुकाम । नेपालमा पहिलो पटक आयोजना गरीएको हाइ अल्टिच्युड रिङ रेस्लिङ प्रतियोगिता सम्पन्न भएको छ । दोलखाको चरिकोटस्थित फुटबल मैदानमा शनिबार भएको प्रतियोगितामा विभिन्न ६ विधामा नेपाली रेस्लिङ खेलाडीहरुबिच प्रतिस्पर्धा भएको हो । 

प्रतियोगितामा हेभी वेट च्याम्पीयनको उपाधि चट्टानले उचालेका छन । साविक विजेता नुवाकोटे टाइगरलाई हराउँदै चट्टान आरडब्लूको हेभी वेट च्याम्पियन बनेका हुन् । च्याम्पियन बनेका चट्टानले नगद १ लाख ५० हजार पुरस्कार सहित आरडब्लू बेल्ट प्राप्त गरेका छन । 


 

प्रतियोगिताको लाइट वेट म्याचको उपाधि सीजे वल्र्डले जिते । उनले उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे । ट्याग टिम म्याचमा थगु र एक्स–हिरो संयुक्त रुपमा विजेता बने । उपाधि सहित दुवैले ७५ हजार रुपैयाँ प्राप्त गरे ।

लाइट हेभी वेट म्याचको च्याम्पियन डेभिड बने । साइनलाई हराउँदै उपाधि जितेका डेभिडले ५० हजार रुपैयाँ प्राप्त गरे । ट्रिपल थ्रेट हार्डकोरको विजेता द युभ बने । उनले १ लाख २० हजार रुपैयाँ प्राप्त गरे । रोयल ब्याटल म्याचमा साइन विजेता बने । उनले ४५ हजार रुपैयाँ प्राप्त गरे । बागमती प्रदेश खेलकुद विकास परिषद् र नेपाल रिङ रेस्लिङ संघले संयुक्त रुपमा पहिलो पटक हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता आयोजना गरेका हुन् । 

कार्यक्रमका प्रमुख अतिथी युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले उपाधि विजेता खेलाडीलाई पुरस्कार वितरण गरेका छन् । खेलाडीहरुको हौसला बढाउन चरिकोट पुगेका मन्त्री अथकले पुरस्कार बितरणका क्रममा खेलाडीहरुलाई थप लगनशील भएर खेल क्षेत्रमा लाग्न आग्रह गरेका छन् । उनले नेपालमा पहिलो पटक संचालन भएको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिताले खेलकुद क्षेत्रको विकासका साथै पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने बताए । 

खेलकुद गतिविधिको प्रभावकारी कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई अझ सक्रिय बनाउन आवश्यक रहेको बताउँदै मन्त्री अथकले प्रदेश खेलकुद परिषदको सक्रियता तारिफयोग्य रहेको भन्दै खुसी समेत व्यक्त गरेका छन् । 
त्यसैगरी, प्रदेश खेलकुद विकास परिषद् बागमतीका सदस्य सचिव सुर्यलाल भण्डारीले केन्द्र, प्रदेश र स्थानीय तहको सहकार्यबाट मात्र खेलकुद पर्यटनको विकास गर्न सकिने धारणा राखेका छन् । 

नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले आगामी दिनमा नेपालमै अन्तराष्ट्रिय स्तरको हाइ अल्टिच्युड रेस्लिङ प्रतियोगिता संचालन गर्ने योजना रहेको बताएकी छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै