Dark

सोलुखुम्बुमा अप्टिकल फाइबर लिंक स्थापना

खबरमुकाम । दुर्गम स्थानहरुमध्येको सोलुखुम्बु जिल्लाका सेवाग्राहीहरुले हालै सम्पन्न गरिएको अप्टिकल फाइबर लिंक स्थापनापछि दिगो र निरन्तर दूरसञ्चार सेवा प्रयोग गर्न पाउने जनाइएको छ । 

नेपाल टेलिकमले हिमाली जिल्ला सोलुखुम्बुलाई पहिलो पटक अप्टिकल फाइबर लिंकबाट जोडेपछि सेवाको गुणस्तरमा थप वृद्घि हुने देखिएको छ । समुद्री सतहबाट ३ हजार मिटर उचाईमा रहेको सोलुखुम्बु जिल्लाको पत्ताले रिपिटर स्टेशनलाई हिजो कात्तिक ११ गते बिहीबार  १० जीबीपीएस क्षमताको फाइबर लिंकबाट जोडिएको हो ।  

सेवाग्राहीहरुको आवश्यकता र चाहना भएतापनि रेडियो लिंकको स्वाभाविक गुण तथा क्षमताको सीमितताले गर्दा विगत लामो समयदेखि उच्च गति तथा गुणस्तरका सेवा उपलब्ध भएको थिएन । नयाँ अप्टिकल फाइबर लिंक सञ्चालनमा अप्रत्यासित समस्या भएमा रेडियो लिंकलाई तुरुन्तै प्रयोग गर्न सकिने भएकाले सेवाको नियमित उपलब्धतामा सहयोग पुग्ने भएको हो । 

पत्ताले रिपिटरलाई फाइबरबाट लिंक गरिसकेपछि सगरमाथा आधार शिविर, खुम्जुङ, नाम्चे, लुक्ला, सल्लेरी, फाप्लु लगायत उच्च हिमाली क्षेत्र र सोलुखुम्बु जिल्लाको सम्पूर्ण टेलिफोन, इन्टरनेट तथा फोरजी सेवाहरुको गुणस्तर अभिवृद्घि हुने जनाइएको छ । त्यस्तै, यो लिंकबाट ओखलढुंगा तथा खोटाङ जिल्लाका टावरहरुको मोबाइल ट्राफिक आदान प्रदान गर्न सजिलो हुनेछ । 

यसैगरी, यी क्षेत्रमा विगतका वर्षहरुमा टेलिफोन सेवाको गुणस्तरीयताका बारेमा टिका टिप्पणी हुने गरेको सन्दर्भमा अप्टिकल फाइबर लिंकको प्रयोगसँगै अब उप्रान्त ग्राहकवर्गले गुणस्तरीय सेवाको अनुभव गर्नसक्ने अपेक्षा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै