• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

एमाले र माओवादीलाई पुनः एक गराउन चीनको सक्रिय प्रयास

खबरमुकाम । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीहरु नेकपा एमाले र माओवादी केन्द्रबीच दरार आएपछि चीनले पार्टीहरुलाई पुनः एक गराउन सक्रिय प्रयास गरिरहेको छ । 

चीनले यी दुई ठूला कम्युनिस्ट शक्तिहरु मिलेर नेपाली जनताको आकांक्षा पुरा गरेको हेर्ने चाहना रहेको बताउँदै पार्टीहरुलाई मिलेर अघि बढ्न आग्रह गरेको छ ।

मंगलबार नेपाल डायलग फोरमले भर्चुअल माध्यममा आयोजना गरेको कार्यक्रममा चिनियाँ राजदूत होउ यान्छीले एमाले र माओवादीलाई मिलेर अघि बढ्न सल्लाह दिएकी छन् । उनले एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल दुवैको नाम लिएर भनिन्, ‘नेपाली जनताको आकांक्षा पुरा गर्न तपाईंहरु मिल्नु जरुरी छ ।’ उक्त भर्चुअल कार्यक्रममा एमाले एवम् माओवादी सांसद तथा नेताहरु सहभागी थिए ।
 
राजदूत यान्छीले उक्त संवादमा हाल गठित माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)को नाम भने लिइनन् । जसलाई कूटनीतिमा अर्थपूर्णरुपमा लिइएको छ । बेइजिङले तत्कालिन नेकपालाई विभाजन हुन नदिन पनि सतहमा देखिने गरि आफू सक्रिय रहेको थियो । 

बेइजिङले हाल यी दुई पार्टीहरुलाई मिल्ने सुझाव दिइरहँदा प्रधानमन्त्री शेरबहादुर देउवा भने भारतसँग सम्बन्ध विस्तार गर्न भन्दै आफ्नो प्रतिनिधिमण्डललाई दिल्ली पठाइरहेका छन् ।

यही कार्यक्रमद्वारा एमालेले हालै सम्पन्न गरेको विधान महाधिवेशन र माओवादीले गरेको पार्टीका कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा पनि चीनले बधाइ दिएको छ । 

एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी जिनपिङलाई चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको अवसरमा लेखेको पत्रका लागि समेत राजदूत यान्छीले धन्यवाद ज्ञापन गरेकी छन् । 

त्यस्तै, एमाले सचिव तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने, ‘सयवर्ष छोटो समय हो । यसबीचमा कसरी एउटा कम्युनिस्ट पार्टीले सफलता हासिल गर्नसक्छ भन्ने कुरा परीक्षणको कुरा पनि हो ।’ उनले चिनियाँ कम्युनिस्ट पार्टीले दूरदृष्टिपूर्ण नेतृत्व प्राप्त गरेको र समाजवादका लागि चिनियाँ समृद्घि जरुरी भएको पनि बताए ।

माओवादी स्थायी कमिटी सदस्य शक्ति बस्नेतले चीनले हासिल गरेको सफलताबाट नेपाली कम्युनिस्ट पार्टीहरुले पनि सिक्नुपर्ने बताए । उनले चीनले प्राप्त गरेको कुशल नेतृत्व र जनताप्रति चिनियाँ कम्युनिस्ट पार्टीको योगदान नेपाली कम्युनिस्ट आन्दोलनका लागि अनुकरणीय रहेको बताए ।

राजदूत यान्छीले बडादशेंको उपलक्ष्यमा नेपाली नागरिकलाई पनि शुभकामना दिएकी छिन् । साथै, उनले राष्ट्र–राष्ट्र, नागरिक–नागरिक र दल-दलसँग चीनले सम्बन्ध अघि बढाउन चाहेको उल्लेख गर्दै कसरी चिनियाँ कम्युनिस्ट पार्टी १ सय वर्षमै विश्वकै ठूलो अर्थतन्त्र भएको चर्चा गरिन् ।  

यान्छीले सीपसीले पार्टी विधानअनुसार चलेको र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अपनाएको भन्दै नेपाली कम्युनिस्ट पार्टीले पनि यी कुराहरु सिक्नुपर्ने सुझाव दिएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै