• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

भत्ता पाएपछि दशैं मनाउने योजना भएका विपन्न परिवारहरुको दशैं खल्लो

खबरमुकाम । अख्तियारी ढिला आएको भन्दै नगरपालिकाले समयमा सामाजिक सुरक्षा भत्ता रकम बैंकमा पठाउन नसक्दा सामाजिक सुरक्षा भत्ताको आशामा दशैं मनाउने विपन्न परिवार मार्कामा परेका छन् । 

बागलुङको जैमिनी नगरपालिका-१ की ९० वर्षीया बसुन्धरा शर्माको यस वर्षको दशैं खल्लो बनेको छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ता बुझेर दशैंका लागि आवश्यक तयारी गर्ने योजना बनाएकी शर्माले भत्ता नपाएपछि सबै योजना भताभुंग भएको बताइन् ।

विवाह गरेको एक साताभित्रै श्रीमानको निधन भएपछि बसुन्धरा एकल जीवन बिताउँदै आएकी छन । घरमा कमाइ गर्ने पनि कोही छैनन् । त्यस्तै, गत वर्षको बर्खामा घर पनि पहिरोले भासिएपछि जैमिनी नगरपालिकाले उनलाई ओत लाग्ने घर बनाइदिएको छ । 

निमेक गरेर खाने उमेर उनको रहेन । पर्दाको घडीमा न काँध थाप्ने छोराछोरी नै छन् । विहानबेलुकी हातमुख जोर्ने सहयोगी सामाजिक सुरक्षा भत्ता पनि यसपाली नआउँदा उनको दशैं निरस बनेको छ । 

प्रमुख प्रशासकीय अधिकृत ज्ञानराज कोइराला भने उक्त विषयमा यसो भन्छन्, ‘हामीले बैंकको खातामा पैसा पठाइसकेका छौं, बैंकले पुर्‍याउँदै होला ।’ बैंक कर्मचारीहरु स्थानीय तहबाटै ढिला गरी रकम पठाउँदा बाँड्ने समय नपुगेको बताउँछन् । 

कोष तथा लेखा नियन्त्रण कार्यालयबाट अख्तियारी ढिला प्राप्त हुने, बैंक तथा वित्तीय संस्थामा निकासा भइसकेको रकमसमेत लक्षित समूहलाई बाँड्न ढिला हुने लगायतका कारणले लक्षित समूह भत्ता पाउनबाट वञ्चित भएका छन् । 

तमानखोला गाउँपालिकाले आइतबार मात्रै बैंकमा पैसा पठाएको थियो । दशैं बिदा हुन २ दिन मात्र बाँकी रहँदा सामाजिक सुरक्षा भत्ताबापतको रकम बैंकमा पठाइएको हुँदा दशैंअघि लक्षित समूहले भत्ता पाउन नसक्ने गाउँपालिकाका कर्मचारीले बताए । त्यस्तै, गाउँपालिकाले लेखा अधिकृतको सरुवा लगायतका कारण समयमा निकासा दिन नसकेको जनाएको छ । 

यसैगरी, बरेङ गाउँपालिकामा पनि भत्ता रकम बाँड्न ढिला भएको छ । बागलुङ नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बाँडेको छैन । लक्षित वर्ग भत्ताको आशामा बैंक धाए पनि नगरपालिकाले भत्ता नपठाएको जवाफ पाएर खालि हात घर फर्कने गरेका छन् । 

पेन्सनको सुविधा नभएका ज्येष्ठ नागरिकलाई दशैंका लागि खुद्रा बनाउने र दशैं खर्चको जोहो गर्ने आधार भत्ता रकम हो ।

नगरपालिकाद्वारा आइतबार साँझ मात्र चेक पठाएको गरिमा विकास बैंक बागलुङ शाखाका प्रमुख ओमप्रकाश शर्मा पौडेलको भनाइ छ । चेक ढिला गरी प्राप्त हुँदा दशैंअघि भत्ता बाँड्न समस्या भएको बताइएको छ । स्थानीय तहले सम्झौताअनुसार १५ दिनअघि चेक दिनुपर्ने व्यवस्था छ । साथै, शाखा प्रमुख पौडेलले चेक प्राप्त भएको १५ दिनभित्र लाभग्राहीको खातामा रकम जम्मा हुनुपर्ने जानकारी दिए । 

ढिलो भए पनि बागलुङको काठेखोला गाउँपालिकाको अधिकांश वडामा भने सामाजिक सुरक्षा भत्ता वितरण भएको छ । प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले दशैंअघि नै सबैले भत्ता पाउनेगरी १५ असोजमा बैंकमा भत्ता पठाइएको बताए । बैंक कर्मचारीका अनुसार बैंक तथा वित्तीय संस्थामार्फत वितरण हुने भत्ता सम्बन्धित व्यक्तिको खातामा पठाउन मात्र २ दिन समय लाग्ने गर्छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै