• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

विवाह बन्धनमा बाँधिए मनोज गजुरेल

खबरमुकाम । चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन्। गजुरेलले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग सोमबार विवाह गरेका हुन्। 

दोस्रो विवाह गरेका मनोजको पहिलो विवाह चार वर्षअघि सम्बन्ध विच्छेदमा टुंगिएको थियो ।

 पहिलो श्रीमतीका तर्फबाट मनोजका एक छोरा र एक छोरी छन् । गजुरेलले विवाह गरेकाे सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । 

यस्तो छ  गजुरेलको स्टाटस 

आफन्त, साथी तथा शुभचिन्तकहरुमा सुखद जानकारी !
जीवन सधैँ सरल रेखामा नहिँड्ने रहेछ। मेरो लामो वैवाहिक जीवन ४ वर्ष पहिले कानुनी रुपमा टुंगिएको कुरा यहाँहरुलाई विदितै छ। त्यसयता म मेरा छोरा र छोरीको एकल अभिभावक भएर बसिरहेको जानकारी पनि जगजाहेर नैतिकताको  छ।

जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविक हो। त्यसैगरी मेरा बाबु-नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो। यी दुबै अवस्थामा साथ दिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो। बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो। 

यसै क्रममा नेपाल सरकारको न्याय सेवाकी अधिकृत मन्जु पोखरेलजीसँग मेरो चिनजान हुनपुग्यो। बिस्तारै हाम्रो घनिष्टता बढ्न थाल्यो। एकखालको परिवेश र उस्तै खालको भोगाइबाट गुज्रिएका हामी अन्ततः सहयात्रा गर्ने निर्णयमा पुग्यौं। 

एकअर्काका जिम्मेवारीलाई साझा जिम्मेवारी मानेर पूरा गर्ने  बाचा गर्यौं। अगाडि आइपर्ने सु:ख/दु:खुलाई मिलेर स्वीकार र प्रतिकार गर्ने संकल्प लियौं। हामीलाई यो निर्णयमा पुग्न हाम्रा बाबुनानीहरुको सुझाव र सहमतिले पनि ठूलो मद्दत गर्यो।

सम्पूर्ण मिडियाकर्मी साथीहरुलाई सादर अनुरोध छ- कृपया मेरो व्यक्तिगत जीवनका बारेमा काल्पनिक समाचार नलेखि दिनुहोला।  मन्जुजीको इज्जत र प्रतिष्ठामा आँच आउने अमर्यादित कथा नकथिदिनुहोला। हाम्रा सन्तानको सुख र शान्तिका लागि परपीडक ट्रोल र भिडियो नबनाईदिनु होला ! 

कसैको निजी जीवनका बारेमा कपोकल्पित  समाचार बनाउने, असम्बन्धित मान्छेसँग नाम जाेड्ने, हाम्रो विगतको जीवन, वर्तमानको विवाह तथा भविष्यको योजनाका बारेमा अनुमानकारिता नगर्नुहुन पनि अनुरोध गर्दछु। त्यसैगरी हाम्रो नितान्त व्यक्तिगत मामिलाका बारेमा अनावश्यक सामग्री बनाउने कानुनी, व्यवहारिक र सामाजिक अनुमति कसैलाई नभएको कुरापनि जोडदार रुपमा जाहेर गर्दछु।

विगतका अराजक अन्तर्वार्ता, असामाजिक क्रियाकलाप तथा अभद्र व्यवहारका कारण म र मेरा छोराछोरीले ठूलो आघातबाट गुज्रनु परेको छ। त्यस्ता क्रियाकलापलाई स्थान दिने, उचाल्ने र गिजोल्ने युट्युब, अनलाइन समाचार, टिकटक लगायत संजालका प्रयोगकर्ताहरूलाई पनि भद्र सुझाव छ- कृपया एउटा जिम्मेवार अभिभावक भएर बोल्ने र लेख्ने गर्नुहोला। सामाजिक सञ्जालको चरम दुरुपयोगले आफू र आफ्ना सन्तानलाई पार्न सक्ने गम्भीर असरलाई पनि महशुस गर्नुहोला।

अन्त्यमा, पुनः सम्पुर्ण आफन्त, साथी तथा शुभचिन्तकहरुलाई  यो सुखद जानकारी गराउँछौँ कि हामीले आज मिति २०७८ साल असोज २५ गते सोमबार बिहान डोलेश्वर महादेवकाे दर्शन गर्यौँ। त्यसपछि परिवारको उपस्थितिमा त्यहीँ विवाह सम्पन्न गर्यौँ। अनि, सपरिवार मानव सेवा आश्रम (कौशलटार)मा रहेका  बुवाआमालाई खाना खुवाएर/खाएर विवाह सम्पन्न गरेका छौँ  । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशीर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद। 

नवदुर्गा भवानीले सबैको रक्षा गरुन्। बडादशैँको हार्दिक शुभकामना!

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै