• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

छोरी यो समाजको बोझ हो ? यदि होईन भने कहिलेसम्म अकालमा ज्यान गुमाउने ?

खबरमुकाम । मैले बुझेको, देखेको र भोग्दै आएको समाजमा छोरीलाई बोझको रुपमा लिइएको पाइन्छ । म आफू पनि छोरी भएको हिसाबले होला समाजमा महिलामाथि भएका विविध शोषणका घटनाले आङ जिरिङ्ङ गराउँछ । कता – कता आत्मविश्वासमा ठेस पुर्‍याउँछ । नारीलाई देवीको रुपा, शक्तिको प्रतिकका रुपमा हजारौं वर्षदेखि पुज्दै आएको यो समाजमा यहाँ आफन्तबाटै छोरीहरु मारिदा मुख खोल्ने चेष्टा गर्न सक्दैन् । आमाबुबाको लागि सन्तान सबै समान हुनु पर्ने होइन र ? किन अहिले २१ औं सताब्दीमा आएर पनि छोरा छोरी मा यति भेदभाव ? 

मिडियाकर्मीका हिसाबले हरेक दिन समाचार लेख्न विवश छु, छोरी भएको कारणले अस्पतालमा छोडेर भाग्यो रे, छोरा नपाएकै कारण श्रीमानले दोस्रो विवाह गर्‍यो रे, छोरा पाउने आशमा ७ / ८ वटी छोरीको आमा बन्नु पर्‍यो रे । लगायतका समाचारले बुझ्ने भएदेखि आजसम्म आनन्दको सास फेर्न दिएको छैन । 

नारीलाई महाकाली, सरस्वती लगायतका महान देवीको रुपमा स्वीकारेको हाम्रो समाजले छोरीलाई दोस्रो दर्जाको नागरिकको रुपमा कहिलेसम्म स्वीकार गरिरहला ? केही जैविक कुरा बाहेक पुरुषको सरह महिलाले पनि गर्न सक्छन् भन्ने कुरा आजको २१ औं शताव्दीमा प्रमाणित भइसकेको छ । फेरी छोरा पाउने कि छोरी भन्ने विषयमा महिलामा भन्दापनि पुरुषमै निर्भर हुने कुरा विज्ञानले पुष्टि गरिसकेको छ । तर यो समाजमा महिला नै दोषी देखिन्छन् । छोरी पाउँदा अध्यारो अनुहार लगाउन विवश छन्, मानौं ठूलै अपराध भएझैं गर्छ यो  समाज । 

जब घरमा छोरी जन्मिन्छ अनि मनस्थितिमा यो राखिदिन्छन् कि छोरी अर्काको घर जाने जात हो । र उसले बुझ्ने भएदेखि नै सोही अनुसारको व्यवहार र आचरण सिकाइन्छ । उसको बाल मस्तिष्कमा यो समाजले भरिदिन्छ ‘तिमी छोरी हौ । तिमी पराई नै हौ ।  त्यही कुरा आत्मसाथ गर्दै ऊ अगाडि बढ्छे किनकि परिवार र समाजबाट त्यही सिकाइएको छ । 

त्यही छोरी ठूलो हुन्छे उसको बिबाह  भएर जाँदा आफ्नो जन्म दिने आमाबुबाले पराई सम्झिन्छन् । अर्काको घर जाने जात भन्छन् भने अरूबाट के आश गर्ने ? बिबाह भएपछि बुहारी घरको इज्जत रे । घरको इज्जतलाई उनीहरूले चाँहि किन इज्जत दिन सक्दैनन् । बुहारी अर्काको घरबाट आएकी यसलाई किन आफ्नो भन्ने भन्ने पुरातनवादी सोचबाट हाम्रो समाजले कहिले छुटकारा पाउने ? 

छोरी भएकै कारण निर्मला पन्तको बलात्कार पछि हत्या भयो । उनको नाममा धेरैले डलरको खेती गरे तर विडम्बना हत्या भएको ३ वर्ष बितिसक्दापनि अपराधी ुसार्वजानिक गर्न समेत सरकारले सकेको छैन । 

साबिता भण्डारी लगायतका सबै धेरै बुहारीले अकालमा ज्यान गुमाउन परेको छ । दाइजोका लागि छोरी बुहारीको ज्यान किन यति सस्तो हुँदैछ ? 

दाइजो माग्ने फेरि महिलाले नै हो हत्यामा धेरै संलग्न धेरै जसो आमाजु, सासु र नन्द संलग्न हुन्छन् । महिलाको शत्रु किन महिला नै हुन्छन् ? के छोरीको ज्यान भन्दा दाइजो ठूलो हो ? 

सुस्मिता केसी, सबिता भण्डारी, निर्मला पन्तजस्ता धेरै छोरीहरूले दाइजो र बलात्कारको कारण ज्यान गुमाउन परेको यी प्रतिनिधि घटना मात्र हुन् । छोरीहरु यहाँ आफन्तबाटै असुरक्षित छन् भन्ने कु्रा यी प्रतिनिधि घटनाका पात्रहरुले पुष्टि गरेको छ।

छोरा जन्मिएपछि मुक्ति पाइन्छ र मरेपछि पनि स्वर्ग गइन्छ भन्ने पाखण्डी सोचले गाँजेको हाम्रो समाजमा  आखिर त्यही छोराले बाबुआमालाई वृद्ध आश्रम पुर्याउँछ । यो पितृसत्तात्मक समाजको सोचलाई  जरैदेखि उखेल्न अझै धेरै समय लाग्न सक्छ । सबैले आफ्नो सोच बदलौं । छोरी बोझ होइन  छोरी सान हो । मान प्रतिष्ठा हो । अहिलेको युगमा छोराछोरीमा भेदभाव नगरौं । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
20 %
WOW
0 %
 Like
40 %
Laugh
0 %
Sad
40 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै