• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

म ‘परमादेश’ दिन्छु, निगाहमा तिमी मन्त्री देऊ... 

खबरमुकाम । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा सरकार गठन भएको ८८ दिनपछि मन्त्रिपरिषद विस्तार गरेका छन् । लामो समयसम्म मन्त्रिपरिषद विस्तार गर्न नसक्दा ५ दलीय गठबन्धनभित्रै चौतर्फी आलोचनाकाे सिकार बनेका देउवाले शुक्रबार ३ राज्यमन्त्रीसहित २५ सदस्यीय मन्त्रिपरिषद  विस्तार गरेका छन् । देउवा नेतृत्वको सरकारमा मन्त्री बनेका मध्ये १९ औं बरियताक्रममा रहेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालको नियुक्तिलाई लिएर राजनीतिक वृत्तले न्यायालयमाथि नै टिका टिप्पणी गर्न  थालेको छ । किन कि मन्त्री बनेकामध्ये हमाल गैरसांसद हुन् । अर्थात उनी संघीय सांसदको सदस्य होइनन् । 

नेपालको संविधानको धारा ७८ को उपधारा (१) बमोजिम राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय सांसदको सदस्य नभएको व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई टेकेर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हमाललाई मन्त्रीमा नियुक्त गरेकी हुन् । उसो त पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पनि गैर सांसदलाई मन्त्रीमा नियुक्त नगरेकाे भने होइन । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री हमालको नाम प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएर आउनाले प्रधानन्यायाधीश जबराले ‘परमादेश’ सँग मन्त्री पद साटेको टिका टिप्पणी हुन थालेको छ । 

नेपालगञ्ज स्थायी घर भएका हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । प्रधानन्यायाधीश जबराले गठबन्धन सरकारमा आफ्नो भाग मागेको भन्ने समाचार विभिन्न मिडियाहरुमा आइरहदा उनकै जेठान जो कांग्रेसका क्रियाशील सदस्य मात्र भएका हमाल मन्त्री बन्नुले अदालतीय न्याय निरुपणमा सर्वसाधरणको विश्वास गुम्ने खतरा बढेको छ । 

पूर्वप्रधानमन्त्री ओलीले गरेको प्रतिनिधि सभा विघटनलाई पुनर्स्थापना गर्न र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न निर्णायक भूमिका खेलेका १ सय १ सांसदहरु हुँदा पनि प्रधानन्याधीशको कोटामा हमाललाई मन्त्री नियुक्त गर्नु बाध्यता रहेको स्वयम् प्रधानमन्त्री देउवाकै अभिव्यक्तिले समेत प्रष्ट पारेको छ । शनिबार बालुवाटारमा स्कुल अफ डेमोक्रेसी अमेरिका शाखाद्वारा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री देउवाले ‘शुक्रबार मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । तर गठबन्धनको सरकार हुँदा पार्टीका क्षमतावान र योग्य साथीहरू मन्त्री बनाउन सकिएन । यसमा म दुखी छु,’ भन्ने अभिव्यक्ति दिनुले पनि उनी दवाबमा थिए भन्ने अनुमान लगाउन सकिन्छ । 

प्रधानमन्त्री देउवाकै पार्टी नेपाली कांग्रेसका नेता कार्यकर्ताले पनि मन्त्री बन्नुमा हमालको त्याग र बलिदानीको जवाफ देउवाबाट मागिरहेका छन् । कांग्रेसको १३ औं महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिधिनिमा हारेका हमाल मन्त्री बन्नुले गठबन्धन सरकारसँग प्रधानन्यायाधीश जबराले आफ्नो भाग मागेको तथ्यलाई पुष्टि गरेको छ । 

मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा र पूर्णता दिँदापनि देउवा उक्तिकै विवादित देखिएका छन् । संविधानविद भीर्माजुन आचार्यले प्रधानन्यायाधीश जबराले ‘परमादेश’ सँग मन्त्री पद साटेको आरोप लागाएका छन् । आचार्यले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘परमादेशसँग न्यायालयका मुख्यले मन्त्री पदको सट्टापट्टा गरेको कुरा आयो । जसरी गरेका हुन, गरेकै देखियो।’

आजभन्दा १९ वर्षअघि तत्कालीन प्रतिनिधि सभा विघटन गरेर आलोचित बनेका देउवा अहिले ओलीले विघटन गरेको प्रतिनिधि सभालाई पुनर्स्थापित गराएर प्रधानमन्त्री बनेको आज ८९ दिन भयो । व्यवस्था फेरियो तर कार्यशैली, व्यक्ति र सोच फेरिन नसक्दा १९ वर्षअघि तत्कालीन राजा ज्ञानेन्द्र शाहको चरणमा साशन सत्ता सुम्पिएका देउवा अहिले न्यायालयको निगाहमा प्रधानमन्त्री भए ।

नेपाली उखान छ, नुन खाएपछि गुण लगाउनु पर्छ । देउवाले जनताको पसिनाको नुनिलो नुन (कर) त खाएकै छन् तर ८९ दिनसम्म गुण जनतालाई होइन केवल माधवकुमार नेपाललाई र चोलेन्द्र शमशेर जबरालाई लगाए । नेपाललाई एमाले फुटाउन अध्यादेश ल्याएर सहयोग गरे प्रधानन्याधीशलाई जेठान हमाललाई मन्त्री बनाएर गुण लगाए । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
100 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै