• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

अवैध रकम लुकाउन अफसोरमा लगानी, विनोद चौधरीसहित १६ नेपालीको संलग्न

खबरमुकाम । गैरकानुनी रुपमा कमाएको अवैध रकम ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको समाचार बाहिरीएको छ । 

कानुनी छिद्रको प्रयोग गरी गैरकानुनी रूपमा आर्जन गरेको धन ‘ट्याक्स हेभन’ मुलुकमा नेपालका नेता, धनाढ्य तथा ठूला व्यापारीले गोप्य तरिकाले ‘अफसोर कम्पनी’ खोलेर गरेको लगानी र सेयर खरिद–बिक्रीको खुलासा भएको छ।

आईसीआईजेसहित विश्वभरका १ सय ४० बढी सञ्चारमाध्यमको सहकार्यमा ‘प्यान्डोरा पेपर्स’ नाम दिएर भएको खुलासाअनुसार नेपालका दुई ठूला व्यापारिक घराना चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसन सम्बद्घ व्यक्ति समेत त्यस्तो कार्यमा संलग्न भएको भेटिएको हो।

आईसीआईजेले ९० देशका ३ सय ३० जनाभन्दा धेरै राजनीतिकर्मी, विभिन्न देशका राष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू, व्यवसायी, सरकारी अधिकारी, सेलेब्रेटी र अपराधमा संलग्नहरूले समेत अफसोर खाता र सेल कम्पनीमार्फत अवैध रकम लुकाएको र छाया अर्थतन्त्र चलाइरहेको खुलासा गरेको हो।

प्यान्डोरा पेपर्स खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र (आईसीआईजे) को नेतृत्वमा १ सय १७ देशका ६ सय बढी पत्रकारको सहभागितामा गरिएको खोज हो। 

यो खोजमा १ सय ४० बढी सञ्चारमाध्यम र सञ्चार संस्था सहभागी थिए । प्यान्डोरा पेपर्सले खुलासा गरेको अफसोर खाता र सेल कम्पनीमा १६ जना नेपालीको नाम पनि जोडिएको छ।

गैरकानुनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने मुलुकमा नाम मात्रका कम्पनी खडा गरेर गोप्य लगानी, कारोबार र सेयर खरिदबिक्री गर्ने काममा नेपाली पनि संलग्न रहेको प्रमाण फेला परेको खोज पत्रकारिता केन्द्रका लागि कृष्ण आचार्य र रामु सापकोटाले गरेको अध्ययन रिपोर्टमा उल्लेख छ।

अमेरिकाको वासिंटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट’ (आईसीआईजे)ले ‘खोज पत्रकारिता केन्द्र (खोपके) नेपाल’लाई उपलब्ध गराएको कागजातअनुसार प्रतिनिधि सभा सदस्य तथा अर्बपति विनोद चौधरी र उनको परिवारका सदस्यको नाममा ट्याक्स( हेभन कर प्रणाली पारदर्शी नहुने र जवाफदेही पनि नखोजिने) मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी खोली विभिन्न देशमा कारोबार गरेको पाइएको हो । 

ती कम्पनी विनोद चौधरी, उनकी श्रीमती सारिकादेवी र तीन छोरा निर्वाण, बरुण र राहुलको नाममा रहेको खोपकेले उल्लेख गरेको छ।

खोपकेले अफसोर कम्पनी खोलेर कारोबार गर्नेमा नेपालको अर्को ठूलो व्यापारिक घराना गोल्छा अर्गनाइजेसन पनि रहेको खुलासा गरेको छ। 

गोल्छा अर्गनाइजेसन सम्बद्ध लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमै कम्पनी रहेको फेला पारिएको छ।

नेपालिक्समा उल्लेख भएका नेपाली नागरिक अजेयराज सुमार्गी, अर्जुनप्रसाद शर्मा र किशोर रानाको लगानीमा थप विदेशी कम्पनी पनि सञ्चालनमा रहेको तथ्य फेला पारिएको छ।

यसबाहेक ललितपुर पुल्चोक ठेगाना भएका राजेन्द्र शाक्य र अन्य नेपाली व्यवसायी– सुहृदराज घिमिरे, पुरुषोत्तम पौड्याल, काठमाडौं ज्ञानेश्वरका सुधीर मित्तल, नेपालमा व्यवसाय गर्ने भारतीय नागरिक राधेश्याम सराफको लगानीमा पनि ट्याक्स हेभन मुलुकमा कम्पनी सञ्चालनमा रहेको देखिएको छ।

गैरआवासीय नेपालीले कुनै पनि नाममा नेपालबाट पैसा लगेर विदेशमा लगानी गर्न नपाइने व्यवस्था रहेको छ।

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन–२०२१’ अनुसार कुनै पनि नेपाली नागरिकले विदेशका बैंकमा खाता खोल्नेदेखि कुनै पनि कम्पनीमा लगानी गर्न पाउँदैनन् । ऐनविपरीत काम गरेमा ‘बिगोबमोजिम जरिमाना, ६ महिना कैद वा दुवै सजाय’ हुने व्यवस्था छ।

अफसोर दुनियाँले गरिबी बढाउने, असमानता निम्त्याउने अनि जब धनी र शक्तिशालीले देश लुट्न थाल्छन् शरणार्थी समस्याजस्ता थुप्रै समस्या निम्तने गर्छ।

हालसम्म ५५ नेपाली तथा गैरआवासीय नेपालीले अफसोर कारोबार गरेको विवरण खोपकेले नेपालिक्समार्फत् २ माघ २०७५ मा नै खुलासा गरिसकेको छ।

आईसीआईजेले ‘खोज पत्रकारिता केन्द्र नेपाललाई उपलब्ध गराएको विवरणअनुसार चौधरी परिवारका सदस्यहरूको नाममा ब्रिटिस भर्जिन आइल्यान्डमा तीन, सिंगापुरमा एक र पनामामा एक कम्पनी दर्ता छ।

‘प्यान्डोरा पेपर्स’ अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा सिनोभेसन इन्कर्पोरेटेड, सिजी होटल्स एन्ड रिसोर्ट लिमिटेड, सेन्सेइ क्यापिटल पार्टनर्स इंक र सिंगापुरमा सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडी नामका कम्पनी चौधरी परिवारका सदस्यहरूको नाममा दर्ता छ।

प्यान्डोरा लिक्सअनुसार, चौधरीकी श्रीमती सारिकादेवी र जेठा छोरा निर्वाणको नाममा समेत ब्रिटिस भर्जिन आइल्यान्डमा लगानी भेटिएको छ।
 अर्थात् ब्रिटिस भर्जिन आइल्यान्डको सिनोभेसन इन्कर्पोरेटेडमा उनीसहित परिवारका पाँच जना सदस्यको लगानी रहेको भेटिएको छ। 

सिंगापुरको सीजी हस्पिटालिटी होल्डिङ्स ग्लोबल पीटीई एलटीडीमा भने उनका तीन छोरा र श्रीमतीको लगानी छ। अर्कोतर्फ चौधरीले आयकर ऐन–२०५८ को व्यवस्थाको उल्टो व्याख्या गरेर विदेशमा लगानी गरेको जानकारहरूको टिप्पणी छ।

गोल्छा परिवारका लोकमान्य गोल्छा, उनका दिवंगत भइसकेका दुई भाइ, उनीहरूका काकाका छोरा चन्द्रकुमार गोल्छा र दिवाकरका छोरा हितेश गोल्छाको नाममा ट्याक्स हेभन मुलुक ब्रिटिस भर्जिन आइल्यान्डमा कम्पनी रहेको पनि पाइएको छ। 

फल्याटउड लिमिटेड’ उनीहरूको लगानीमा स्थापना भएको कम्पनी हो। उनीहरू सबैले नेपाली पासपोर्ट र ठेगाना प्रयोग गरेर उक्त कम्पनी स्थापना गरेको विवरणबाट देखिएको खोपकेको खोजमा देखिएको छ।

जेनेभास्थित ल फर्म ओभरसिज म्यानेजमेन्टको रेकर्डअनुसार सो कम्पनीमार्फत गरिने कारोबारका लागि उनीहरूले स्विट्जरल्यान्डस्थित बार्कलेज बैंकमा खाता पनि खोलेका छन्।

सन् २०१९ मा खोपकेले सार्वजनिक गरेको नेपालिक्स अनुसार ‘ट्याक्स हेभन’ मुलुक ब्रिटिस भर्जिन आइल्यान्डबाट सबैभन्दा पहिला लगानी भित्र्याउनेमा गोल्छा अर्गनाइजेसन परेको देखिएको थियो।

सुमार्गीका पाँच कम्पनी
अनौपचारिक माध्यमबाट रकम विदेश पु¥याउने, त्यहाँ कम्पनी खडा गर्ने र ती कम्पनीबाट फेरि प्रत्यक्ष वैदेशिक लगानी ९एफडीआई० भन्दै नेपालमा पैसा ल्याउने कार्यमा संलग्न अजेयराज सुमार्गीको अफसोर कारोबारका थप विवरण पनि फेला परेका छन्। 

नेपालिक्स खुलासा अनुसार ब्रिटिस भर्जिन आइल्यान्डमा दर्ता भएको जोधार इन्भेस्टमेन्ट कम्पनीबाट सुमार्गीका नेपालस्थित कम्पनीहरूमा ४ करोड ८३ लाख ७२ हजार २ सय २२ अमेरिकी डलर ९त्यसबेलाको ४ अर्ब ८३ करोड ७२ लाख २२ हजार २१० रुपैयाँ० भित्रिएको छ।

यसपटकको प्यान्डोरा पेपर्सका अनुसार सुमार्गी सन् २०१० मा ब्रिटिस भर्जिन आइल्यान्डमा खोलिएको जोधार इन्भेस्टमेन्ट लिमिटेड नामक कम्पनीका ‘लाभार्थी मालिक’ (बेनिफिसियल ओनर) हुन । उनी यो कम्पनीमा निर्देशकको भूमिकामा पनि छन्। 

त्यसका लागि सुमार्गीले हेलेनिक बैंक पब्लिक लिमिटेडमा कम्पनीका तर्फबाट आफ्नै हस्ताक्षर चल्नेगरी खाता खोलेको पाइएको छ।

प्यान्डोरा पेपर्सका अनुसार यसबाहेक सुमार्गीले ९ सेप्टेम्बर २०११ मा ब्रिटिस भर्जिन आइल्यान्डको वर्ल्डवाइड इन्क्रेडिबल लिमिटेडमा पनि लगानी गरेको भेटिएको छ। सन् २०१८ को एक रेकर्डअनुसार अजेयराज सुमार्गी यो कम्पनीका लाभार्थी मालिक र निर्देशक हुन्। यो कम्पनीको निर्देशक कम्पनी एड्ली कन्सल्ट्यान्टस लिमिटेड पनि रहेको कागजातहरूले देखाउँछन्।

सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डस्थित द अवेज इन्टरनेसनल लिमिटेडमा पनि लगानी भेटिएको छ। 
उनले सन् २००८ मा कम्पनी खोलेर लगानी गरेका हुन् । यो कम्पनीमा ब्रिटिस भर्जिन आइल्यान्डको अस्मिताज वल्र्ड लिमिटेडको पनि लगानी रहेको पाइएको छ। सुमार्गीले यो कम्पनीको नाम श्रीमती अस्मिताको नामसँग मिल्दो राखेका छन् ।

अजेयराज सुमार्गीको ब्रिटिस भर्जिन आइल्यान्डकै ‘द न्यु डिजिटेक इन्टरनेसनल’ लिमिटेडमा पनि लगानी रहेको देखिन्छ। उनी यो कम्पनीका निर्देशक हुन्।

कर छलीका लागि अति अनुकूल मानिने ब्रिटिस भर्जिन आइल्यान्डमा यसरी आफ्नै नाममा दर्ता भएको ‘द न्यु डिजिटेक इन्टरनेसनल’बाट सुमार्गीले सन् २००८ मा ३ लाख ८० हजार ब्रिटिस पाउन्ड विदेशी लगानी (एफडीआई) नेपाल भित्र्याएको तथ्य पनि यसअघि नै नेपालिक्समार्फत् खुलासा भइसकेको छ।

 द न्यु डिजिटेक कम्पनीको स्रोतका रूपमा सुमार्गीको नेपाली कम्पनी मुक्तिश्री प्रालि रहेको खुलेको छ।

यी हुन् १६ नेपाली

विनोद चौधरी

सारिकादेवी चौधरी

निर्वाण चौधरी

बरुण चौधरी

राहुल चौधरी

लोकमान्य गोल्छा

चन्द्रकुमार गोल्छा

हितेश गोल्छा

अजेयराज सुमार्गी

अर्जुनप्रसाद शर्मा

किशोर राना

राजेन्द्र शाक्य

सुुहृदराज घिमिरे

पुरुषोत्तम पौड्याल,

सुधीर मित्तल

किशोर राना

राधेश्याम सराफ (नेपालमा व्यापार गर्ने भारतीय नागरिक)

खोज पत्रकारिता केन्द्र (खोपके)ले तयार गरेको यस समाचारलाई नेपाल समाचारपत्रले लेखेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै