• वि.सं २०७८ कात्तिक ०२ मंगलबार
  • Tuesday, 19 October, 2021
  • युनिकोड
  • Live
Dark

एमालेका  ‘बा पन्थी’ छुद्र बोली र तालिमा रमाउँदै 

खबरमुकाम । नेकपा एमाले यतिबेला विभाजन भइसकेको छ । अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहँदा पटक– पटक प्रतिनिधि सभा विघटन गरेर पार्टीबाटै आलोचित भएर यतिबेला सत्तामा नरहे पनि ठाटका साथ बालकोटमा बसिरहेका छन् । आफ्नै पार्टीका नेता कार्यकर्ताविरुद्घ उत्तेजक अभिव्यक्ति दिइरहेका छन् ।

अहिले अध्यक्ष ओलीलाई पार्टीका चौथो पुस्ताले राम्रोसँग हौसला प्रदान गरिरहेको छ । ओलीले राम्रो भन्दा पनि ताली र सत्तोसराप गर्दा पनि ताली बर्साउन नभुल्ने चौथो पुस्ताका कार्यकर्ता ओली बहिरगमनका प्रमुख कारक हुन् । ‘केपी ओली आइ लभ यु,’ ‘ओली बा वी लभ यु’ र ‘आजलाई होइन भोलीलाई, १० वर्ष केपी ओलीलाई’ भन्दै सडकमा निस्किने हजारौं युवाले ओली बहिरगमनको बाटो रोजेका हुन् । 

काम भन्दा बढी भाषण र उखान टुक्का बाँडेर जनतामा भ्रम सिर्जना गर्न माहिर ओलीले बोलेका वाक्य–वाक्यमा तालिका पर्रा दिएर भावनात्मक उत्तेजनामा ल्याउने तिनै चौथो पुस्ता हुन् । जसले बामपन्थी पार्टीलाई ओलीको देवत्वकरण गर्दै ‘बापन्थी’ बनाइदिए । एउटा राजनीतिक दलले अर्को दलले ल्याएका नीति कार्यक्रम, विचार आदिमा आपत्ति जनाउनु, फरक मत राख्नु, विरोध गर्नु स्वभाविक नै मानिन्छ ।

लोकतान्त्रिक पार्टीभित्र पनि फरक मतको कदर, सम्मान हुन्छ । फरक मतको बारेमा विचार, विमर्श हुन्छ । तर आफ्नै पार्टीका शीर्ष नेताबीच हात धोएर नै विरुद्घमा लागेको भने दुर्लभै देख्न पाइन्छ । त्यो देखियो एमालेमा र केपी ओलीको नेतृत्वमा । 

ओलीले जब पहिलो पटक प्रतिनिधि सभा विघटन गरे । उनलाई देवत्वकरण गर्ने नेता कार्यकर्ताले त्यसलाई गलत भन्ने आँट गर्न सकेनन् । उल्टै भनिदिए, ‘जनतामाझ ताजा जनादेश माग्नु लोकतन्त्रमा गलत हो ?’ जब सर्वोच्चले प्रतिनिधि सभा विघटन गलत र असंवैधानिक भन्दै पुर्नस्थापनाको फैसला गर्‍यो त्यसपछि पनि गल्ती महशुस गरेनन् । रातारात आफ्नै पार्टीका नेता विरुद्घ अनेक षड्यन्त्र रच्दै मधेशवादी दलसँग साँठगाँठमा लागे ओली । ओलीलाई पहिलो प्रतिनिधि सभा विघटनले धित मरेन । पुनः एक पटक फेरि प्रयास गरे । एउटा अबोध बालकलाई पटक–पटक जिस्काएर आनन्द मान्ने तन्नेरी जस्तै स्वभावका ओली । दोस्रो पटकको प्रतिनिधि सभा विघटनमा पनि उनकै पार्टीका नेताहरुले सक्दो विरोध गरे । तर उनलाई देवत्वकरण गर्नेहरुले भने पुनः ठूलै उपलब्धी भएको, आमूल परिवर्तन भएको महशुस गरे ।


 

त्यही अनुसार प्रचार प्रसार पनि गरे । गुणगान  गाए । तर दोस्रो कदमलाई पनि सर्वोच्चले असंवैधानिक र गलत प्रमाणित गरेपछि ओली प्रधानमन्त्रीबाट पदमुक्त भए । बालुबाटारबाट बालकोटको बार्दलीमा सीमित भए । सत्ता मोह सजिलै त्याग्न नसक्दा बालकोटको बार्दलीबाटै आफ्ना पार्टीका नेता विरुद्घ विछिप्त अवस्थामा बर्बराउन थाले । बालकोटको आलिसान महलको आगनमा हजारौं समर्थक जम्मा गरेर माथिल्लो तलाको बार्दलीबाट बर्बराए ‘ जनताको सरकार ढाल्ने, विकास प्रेमी सरकार ढाल्ने अगुवाइकर्ता माधव नेपाल,’ आफ्नै पार्टीका वरिष्ठ नेता विरुद्घ विष बमन गरे ।

समर्थकले तालीका पर्रामा कञ्जुस्याँइ गरेनन् । उनी फेरी जोसका साथ रौसिदै भन्न थाले ‘ जनादेशबाट होइन, परमादेशबाट , अकारण, कुनै गल्ती गरेर होइन । काम गर्न नसकेर होइन । देशको विकास गरेर , संविधान कार्यन्वयन गरेर, संविधानलाई सर्वस्वीकार्य गराएर विकासको लहरलाई अगाडि बढाएर, अन्तराष्ट्रिय स्तरमा नेपालको छवीलाई माथि उठाएर, नेपालको स्वाभिमान र गौरवलाई माथि उठाएर काम गर्दागर्दै जालीझेलीहरुको जालझेल, कपट स्वरुप अदालतमा मुद्दा हालेर, असंवैधानिक फैसलाबाट जनादेश विपरित विश्वा कही नभएको नजीर स्थापना भएको छ,’ यति भनिरहदा लामै तालिको पर्रा पाए उनले ।

उनले जुन संविधाको अवमूल्यान गरे सर्वोच्चले त्यसलाई सच्यायो । सर्वोच्चको फैसलालाई नै असंवैधानिक भनेर अदालतको अवमूल्यान गर्न पछि परेनन् । यती भनिसक्दा र भइसक्दा पनि उनमा कतिपनि गल्ती महशुस भयो न समर्थकले नै कहि गल्ती त थियो कि भनेर सोचे ।

उनका समर्थकहरुलाई यो विश्वास छ कि बा जे बोल्छन् ठीक बोल्छन् । जे गर्छन् ठीक गर्छन् । बा बाट कहिल्यै गल्ती हुँदैन । उनी असाधारण हुन् । महापुरुष । देवताको पनि देव ! यस्ता महापुरुषबाट पनि गल्ती हुन्छ भनेर सोच्ने ? यसरी सुरु भयो एमालेमा बापन्थी संस्कार । अहिलेसम्म पनि बबराउछन् ओली । समर्थकहरु बजाइरहेका छन् ताली । लोकतन्त्र र व्यवस्थाको साह्रै चिन्ता लिन्छन् ।  गाउछन् विरक्त गीत ‘भत्काइदेउ धराहरा, पुरिदेउ रानीपोखरी, टालिदेउ सुरुङका प्वालहरु, भत्काइदेउ बाटा र पुलहरु ओली याद आउने सबै चिजहरु !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै