Dark

माधव नेपालसहित १४ सांसदमाथि कारबाही नगरे संसद चल्न दिँदैनौं- एमाले 

खबरमुकाम । नेकपा एमालेले माधवकुमार नेपालसहित १४ सांसदमाथि सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त गरेको सुचना नटाँसेसम्म संसद चल्न नदिने अडान कायमै राखेको छ ।

सभामुख सापकोटाले प्रमुख प्रतिपक्ष दलको माग सम्बोधन नगरेको भन्दै एमालले मंगलबार पनि प्रतिनिधिसभा बैठकमा अवरोध गरेको हो । 

सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकमा अनुपस्थित एमालेले पदमुक्त सांसदको सूचना टाँस गर्नुपर्ने अडान कायमै राखेको हो । 

यदि सूचना टाँस नगरे सभामुख सापकोटाले पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने सर्तसहित गत भदौ २३ देखि एमालेले प्रतिनिधिसभामा अवरोध गरिरहेको छ ।

एमालेले नेकपा एकीकृत समाजवमादीका अध्यक्ष बनिसकेका नेपालसहित १४ जना सांसदलाई पदमुक्त गरेर कारबाही गरेको पत्र संघीय संसद सचिवालयमा दर्ता गरे पनि सभामुखले अल्झाइदिएको एमालेको आरोप छ ।  

सभामुख सापकोटाले १३ दिनसम्म सूचना टाँस नगरी सभामुख सापकोटाले पार्टी विभाजनमा मतियारको भूमिका खेलेको एमालेको दाबी छ ।

‘एमालेको निर्णयअनुसार १४ सांसदलाई सभामुखज्यूले अझै पदमुक्तको सुचना टाँस गर्नु भएको छैन, सुचना टाँस नगर्ने भए राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ भन्ने अडान कायमै छ । दुई सर्त स्वीकार नगरेसम्म एमालले प्रतिनिधिसभा बैठकमा निरन्तर रुपमा अवरोध गरिरहनेछ,’ एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सञ्चारकर्मीसँग भने । 

त्यसैगरी सभामुखले एमालेसँग संवादको कुनै पहल नै नगरेको पनि प्रमुख सचेतक भट्टराईले बताएका छन् । 
‘हिजो सर्वदलीय बैठकमा दलहरूले दिएको सुझाव पनि उहाँले स्वीकार गर्नु भएको छैन, अहिलेसम्म एमालेसँग उहाँले संवाद बढाउनु भएको छैन् ।

संवाद र छलफलबाट उहाँ भागिरहनु भएको छ, सभामुख भएर प्रतिपक्षीसँग पदीय जिम्मेवारी पूरा गर्नु भएको छैन,’ प्रमुख सचेतक भट्टराईले भने । 

संवैधानिक र कानुनी रुपमा दिइएको पदीय जिम्मेवारी पूरा नगरेसम्म एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरिरहने भट्टराईले बताएका छन्। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै