Dark

उपत्यकामा दुई हप्तादेखि थुप्रिएको फोहोर उठाउन थालियो

खबरमुकाम । काठमाडौंमा दुई हप्तादेखि थुप्रिएको फोहोर बुधवार बाट उठाउन थालिएको छ।

काठमाडौं महानगरपालिका र नुवाकोटको सिसडोलका बासिन्दाबीच फोहोर व्यवस्थापनबारे ९ बुँदे सहमति भएसँगै फोहोर उठाउन थालिएको हो । 

सिसडोलवासीसँग मंगलबार बेलुका भएको सहमतिअनुसार सरकारी पक्षले सिसडोलसम्मको बाटो १५ दिनभित्र ग्राभेल गर्ने, बाटोमा छरेका फोहोर उठाउने र टाइम कार्डको प्रयोग गरिने छ ।  

काठमाडौं उपत्यकाबाट संकलित एक हजार दुई सय मेट्रिक टन फोहोर दैनिक रुपमा सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।

 बर्खाको बेला सिसडोलसम्म पुग्ने बाटो बिग्रिएको कारण देखाउँदै महानगरपालिकाले फोहोर नउठाउँदा राजधानी शहर दुर्गन्धित बनेको छ।

साथै सिसडोलका विद्यालय र क्लबहरुमा खेलकुद सामग्रीको व्यवस्थापन गर्ने तथा सडकमा परेका जग्गाको मुआब्जाबारे छलफल गर्ने उल्लेख छ ।

यो सहमतिसँगै आजदेखि उपत्यकामा थुप्रिएको फोहर सिसडोलमा व्यवस्थापन गर्ने काम सुरु भएको छ ।

 महानगरपालिकाका वातावरण विभाग प्रमुख हरिकुमार श्रेष्ठका अनुसार नियमित रुपमा पूर्णक्षमतामा फोहोर उठाउँदा पनि अहिलेसम्म जम्मा भएको फोहोर उठाइसक्न करिब एक महिना लाग्ने अनुमान छ । 

करिब १५० सवारीले नियमित रुपमा नुवाकोटको सिसडोलस्थित ल्यान्डफिल साइटमा फोहोर लैजान सकेमा ४ हप्तामा मात्रै शहरमा थुप्रिएका फोहोर उठाइसकिने छ । त्यसपछि मात्रै फोहोर उठाउने काम नियमित तालिकामा फर्किन सम्भव हुन्छ ।

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको हिजो बसेको बैठकले आजदेखि फोहोर उठाउने निर्णय गरेको थियो ।

हाल उपत्यकाभर ३० हजार टन फोहोर थुप्रिएको महानगरपालिकाको वातावरण विभागको अनुमान छ । फोहोर नउठाएको भन्दै मेयर विद्यासुन्दर शाक्यको आलोचना हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै