Dark

टुहुरै रह्यो टुहुरेको ‘आमा दिदी बहिनी’को मुक्तिको सपना ! यस्तो छ गीतको रचनागर्भ...

खबरमुकाम । जनवादी गायक जेबी टुहुरेको ७८ वर्षको उमेरमा निधन भएको छ । जनवादी गीत गाएर जनमानसमा बस्न सफल भएका टुहुरेका दर्जनौं जनवादी गीतहरु वामपन्थी राजनीतिक वृत्तमा घन्किरहन्छन् । खासगरी, मुक्ति, स्वतन्त्रता र जागरणका गीतहरु गाउने टुहुरे नेपाली जनवादी गायनका धरोहर मानिन्छन् । यसमध्ये उनको आमा दिदी बहिनी बहिनी हो, कति बस्छौ दासी भै... गीत सबैभन्दा बढी चर्चित गीत हो । 

कसरी बन्यो त यो गीत ? भन्ने सन्दर्भमा आजभन्दा करिब ४ वर्ष अगाडि उनीसँग लिइएको अन्तरवार्ताको आधारमा तयार पारिएको यो सामाग्री खबरमुकामकर्मी ज्योति भट्टराईको ग्यालरीबाट लिइएको हो ।

एउटा बुढो अनुहार, कोट, पाईन्ट ढाका टोपी लगाएर स्टेजमा उक्लन्छ । ती मध्यम कदका मानिस,  फुर्तिलो पारामा सम्बोधन गर्छन । धेरै मान्छेलाई प्रभावित बनाउँछन् र आफ्ना केही कुराहरु राख्दै ओझेल पर्छन् । राजनीतिक वृत्तका मञ्चहरुमा गीत गाएरै आफ्नो उमेर डाँडो कटाएका व्यक्ती हुन् जेबी टुहुरे । नागरिकतामा त उनको नाम जुठ बहादुर टुहुरे खड्गी छ । तर त्यो नाम उनलाई, सरकारी अड्डामा काम चलाउन मात्रै काम लाग्थ्यो । सरकारी अड्डाले उनलाई जुठबहादुर भन्छ तर मानिसहरु जुठबहादुर चिन्दैनथे । 

आमा दिदी बहिनी बहिनी हाे, कति बस्छौ दासी भै... 
सुख को संधै प्यासी बनेर 

यो गीत नेपालको धेरै चर्चित गीतहरुमध्ये पर्छ । कुनै न कुनै माध्यमबाट यो गीत नसुन्ने ज्यादै कम मानिसहरु होलान् । विश्लेषक आहुती भन्छन ‘यो गीत २०३६ को पेरिफेरीमा लेखिएको देखिन्छ । त्यतिबेला नेपालमा जबरजस्त सामन्तवाद थियो र त्यस्तो समयमा महिलाहरुलाई घरबाट बाहिर निस्कन अपिल गरेको छ । जेवी टुहुरेको स्वर हाई नोटमा जाने स्वर भएको र लोक संगीतको पक्ष जनस्तरमा नै भिजेको हुने भएकोले गर्दा यो गीत चर्चित हुन पुग्यो ।’ 

वि.स. २०२८ देखि सुरु भएको झापा विद्रोह र त्यसपछि सिर्जना भएको आतंकले त्यस्ता धेरै नेताहरु विस्थापित हुन पुगे । जेबी टुहुरेहरु भने त्यतै गाउँ गाउँमा गीत गाएर लुकीलुकी हिँडे । उनी सुनाउँछन ‘त्यतिखेर म कोशी प्रान्तीय परिषदमा संगठित थिएँ ।’ हुन त उनले २०२६ तिरै अर्थात, झापा विद्रोह सुरु हुनभन्दा २ वर्ष अगाडि नै ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ लगायत गीत गाइसकेका थिए । झापा विद्रोहपछि भने जेबीहरुको सांगीतिक यात्रा तितरबितर भइरहेको थियो । बि.स. २०३२ सालमा पुष्पलालहरुसँग छुट्टीएर जब मदन भण्डारी, जिवराज आश्रित लगायत नेताहरु फर्किए । जेबीले तिनै नेताहरुले बनारसबाट ल्याएको कोसेलीबापत केही पुस्तकहरु प्राप्त गरे । जसमा एउटा सानो ‘चरी भरर’ भन्ने पुस्तक थियो । उनी सुनाउँछन्, ‘त्यस पुस्तकभित्र मोदनाथ प्रश्रित लगायत थुप्रै लेखकका रचनाहरु थिए । त्यहाँभित्र, एकदेव ज्ञवालीको एउटा कविता मलाई सारै मन प¥यो मैले गुनगुनाएँ ।’

हुन त यो गीत वि.स. २०३३ सालदेखि नेपालको कुना कन्दरामा घन्किन थालेको हो । यो संवत संझने र इतिहासको थोर बहुत ज्ञान हुने मानिसहरु सहजै कल्पना गरिहाल्छन् । यो गीत गाउन कति अप्ठेरो समय थियो त्यो भन्ने । त्यतिबेला पञ्चायत काल थियो । मानिसहरुले आफ्ना अधिकारका कुरा गर्नु अपराध सरह थियो । त्यसै बेला अधिकारकै गीत गाएर मानिसहरुको मनमनमा बस्नु कति जोखिम थियो होला ? उनी भन्छन ‘जतिबेला मैले यो गीत गाएँ त्यतिखेर म त्यतिनै वर्षको थिएँ र पञ्चायत सोह्रबर्षे जवान ।’ त्यस्तो समयमा पनि उनको गीत सुन्नका लागि ग्रामिण महिलाहरु रात विहान नभनी आउने गर्थे ।
 
नेपालको इतिहासमा त्यो कालखण्ड निकै अप्ठेरो थियो । मानिसहरुको शान्ति खल्बल्याउन एकजना प्रहरी नै काफी हुने समय थियो त्यो । ‘झापा बिद्रोह’पछि नेपालको पूर्वी क्षेत्रमा निकै ठूलो आतङ्क थियो । राज्य पक्ष र बिद्रोही पक्ष आ–आफ्नै गतिविधिमा थिए र जनतामा भने एक किसिमको डर थियो । यहीबीचमा गाए जेबी टुहुरेले यो गीत । डरै डरकाबीचमा पनि मानिसहरुले एकदमै मन पराए उनको गीत । मानिसहरुले वन जाँदा, खेताला जाँदा, दाउरा घाँस गर्दा गाउन थाले यसलाई र बुझ्न थाले टुहुरेका शव्दहरुलाई । 
पुस्तक हातमा लिएर टुहुरेले सुरुमा, आमा दिदि बहिनी हो कति बस्छौ दासी भै... को लय तयार पारे । आफ्नो कथा सुनाउँदै भन्छन् ‘त्यत्तीखेर धरानको सैनिक भवनमा मैले पहिलो पटक यो गीत गाएको हुँ । विद्यार्थीहरुको कार्यक्रम थियो ।’ त्यस दिनदेखि उनले यो गीत कति पटक गाए उनी आफैलाई हेक्का छैन । यो गीतको शब्दले भने गायक आफैलाई अप्ठेरोमा पारिरह्यो । किनभने त्यस गीतभित्र एउटा शब्दको लाइन छ,

लालीपाउडर ‘रेशमैको बुट्टे चोलो चट्ट आङमा कस्न पाई 
लालि पाउडर घस्न पाई 
टेरलिङको झिल्के सारी लाउनपाई मख्ख परी, बुद्धि सबै भ्रष्ट पारी 
पुरुषको खेलैना भई जिबनलाई ब्यर्थै फाल्यो, भोगबिलासको साधन बनेर ।’

यो गीतको सुरुवाती चरणमा टुङ्ग्याउनी नै यहीँ थियो । जेबी भन्छन्, ‘महिलाहरुलाई होच्याएको शब्दले मलाई मनमा चिसो पसिरह्यो । यो गीतसँग मेरो आफ्नो भने चित्त बुझिरहेको थिएन ।’ तर पनि यो गीत उनले करिव २ बर्ष गाउँदै हिँडिरहे । २०३५ सालतिर धरानमा रामेश भेटिए । दुई एकै किसिमका गायक भेटिएपछि उनीहरु एक आपसमा गफ गर्दै चतारा लाइनतिर लागे । टुहुरेले आफ््नो मनको दुःख पोखिहाले । उनी आफ्नो त्यस दिनको कथा सुनाउँदै भन्छन्,‘ मैले रामेशलाई आफ्नो गीतसंग आफैँलाई परेको सकस सुनाइहालें । उनले मेरो गाँठो फुकाउने प्रयत्न गरिदिए ।’ भएछ के भने दुई भाई मिलेर यसो गर्दा पो हुन्छ कि उसो गर्दा पो हुनछ कि भनेर घोत्लिन सुरु गरेछन् । निकै लामो घोत्लाई पछि समाधान निकालेछन् । अन्तिममा नारीलाई होच्याउने शब्द छ, त्यसैले सुरुमा नारीलाई सम्मान गर्ने शब्द प्रयोग गर्ने । त्यसपछि दुई भाइले आलोपाले शब्द थप्ने क्रम चल्यो । निकै लामो बसाइपछि आलो पालो गरेर सबैभन्दा पहिलाको शब्द दोहा थपियो । त्यसपछि गीतमा थपियो सबैभन्दा अगाडि, अर्थात गीतले उचाईलिनुभन्दा अगाडी,

आफ्नै पौरख खान्छन्, आफ्नै सीपमा बाँच्छन् 
दुःख कस्ट सहेर श्रृष्टि यिनले थाम्छन्
असल महान व्यक्तिहरु यिनले जन्माउँछन् 
ज्ञानगुन बुद्धिहरु यिनैले सिकाउँछन् ।
तर पनि अँधेरोमा जीवन बिताउँछन् ।

त्यसपछि उनको गीतसँग सम्बन्धित सकस केही त हल भयो तर हरेकपटक यो गीत टुङ्ग्याउनीमा मनमा चिसो पस्न भने उनलाई ठीक भएन । तर पनि उनले निरन्तर गाइरहे गीतहरु, आमा दिदी बहिनी हो ..............। 

महिला नेतृ शान्ता मानवी भन्छिन् ‘मैले यो गीत एकदेव ज्ञवालीको मुखबाटै सुनेकी हुँ । बनारस बस्दा उहाँले यो गीत सुनाउनुभएको थियो । यस गीतको शब्द पक्षले मलाई साह्रै मन छोएको थियो । पछि जब जेबी टुहुरेको मुखबाट सुनें । त्यहाँ त झन धेरै जीवन्त पक्ष थपिएर आयो ।’ यस गीतको कारणले त्यतिखेर खुबै धेरै मान्छेहरु महिला आन्दोलनमा सहभागी भएकोमा दुई मत छैन । 

आफ्नो सिर्जना आफैलाई चिसो पसी पसी गाउनु कति सकसपुर्ण हुन्छ होला ! हामी अहिले कल्पना गर्न सक्छौ कि सक्दैनौं, ती दिनहरु सम्झिएर अहिलेपनि उनको अनुहारमा अलिकति अँध्यारो झल्किन्छ । यसरी आफै खुशी नभई नभई पनि लगातार उनले यो गीत गाइरहे । उनी सुनाउँछन्, ‘सुरुमा उठान गर्दा त गज्जबै लाग्थ्यो टुङ्ग्याउनीमा भने चिसो पसी नै हाल्थ्यो ।’ समय पनि उस्तै थियो, कहिले गाउँदा गाउँदै पुलिस बाट लखेटिनु पर्ने, कहिले के हुने त्यस्तै उस्तै भईनै रहन्थ्यो । यसरि पुलिस को डर एकातिर र अर्कोतिर आफ्नै गीतको शब्द संग चित्त नबुझ्नु र शब्दबाटै लखेटिनु कति पिडादायक हुँदो हो । तै पनि गाइरहे टुहुरेले । किनकि यो गीत उनको परिचय बनिसकेको थियो ।

यिनले यो गीत किन पनि छोड्न सकेनन् भने उनलाई चिसो पस्ने शब्दभन्दा अरु शब्दहरु जति छन् ती शब्दहरु, त्यतिखेरको ग्रामीण परिवेशको फोटो खिचेजस्तो थियो । उनी सुनाउँछन्, ‘फेरि अरु शब्द त गाउँ जस्ताको तस्तै छ नि त, ग्रामीण महिलाका दुःख, पीडा जस्ताको तस्तै र कलात्मक प्रस्तुति, घाँस, दाउरा, पँधेरो, विवाह लगायतका कार्यक्रममा दुना टपरी बुन्ने, पुजाआजका लागि बाती कात्ने, चुलो चौको आदिमा मात्र सीमित थिए महिलाहरु ।  

यसरी आफैले गाएको गीतको टुङ्ग्याउनी शब्दसँग चित्त नबुझी–नबुझी पनि जेबी टुहुरेलाई भने मान्छेहरुले मनमा राखिसकेका थिए । उनी देशका कुना कन्दराका गायक बनिसकेका थिए । यसै क्रममा टुहुरे २०३६ सालमा काठमाडौं आए । त्यसपछि लागे ठहिटी । ठहिटीमा उनका तिनै साथी रामेश बस्थे । उनको गीतको चिसो पनि त्यही समयदेखि बन्द भयो । किन कि त्यहाँ भेटिए कवि बम देवान, जेबी भन्छन्, ‘ठहिटीमा पाँच तल्लामाथि रामेश बस्नुहुन्थ्यो । त्यहाँ कवि बम देवान भेटिए । मैले मेसो पारेर गीतको आफ्नो दुःख पोखें ।’ त्यसपछि तिनै कविले समाधान निकालेछन् । गीतको अन्त्यमा पनि नारीलाई सम्मान गर्ने शब्द थपिदिने । ‘यो त गज्जब भयो’ उनी हाँस्दै सुनाउँछन्, ‘कवि देवान आशुकवि नै थिए । उनले एकैछिनमा पछाडिको अन्तरा थपिदिए ।’ त्यसपछि मात्र करिब तीन वर्षपछि पुराभयो यो गीत र थपियो अन्तिम अन्तरा !

सामन्तीको कुचक्र यो दुष्ट रिती बुझेको, बुझी सब ब्युँझ अब
ध्वस्त पार्न नारी बन्न, दुःख अनि जीवनको 
युगले आज भन्दछ, नारी पनि मान्छे हो 
जाग उठ नारी हो, सिर्जनाको घाम बनेर ।

उनी आफ्नै गीतसँग पहिलोपटक खुसी भए । उनको मनको चिसो मेटियो । यस गीतको खास पक्ष भन्ने हो भने, तत्कालीन ग्रामीण महिलाहरुको दर्दनाक वास्तविकतालाई देखाउँदै त्यसलाई तोड्नलाई जोड दिएको देखिन्छ । युवा राजनितिज्ञ तथा विश्लेषक विश्वप्रकाश शर्मा भन्छन्, ‘त्यस समयमा मानिसहरुलाई संघर्षमा प्रेरित गर्ने र घरबाट बाहिर निकाल्ने । सामाजिक रुपमा उनीहरुको सहभागितालाई केन्द्रमा राख्ने किसिमको गीत थियो । त्यतिबेलाको समाजमा यस गीतले महिलाहरुलाई त जागरुक गराएकै थियो, सँगसँगै बेलाको समाजको मर्मलाई छोएको थियो । मानवीय भावनालाई एकदमै केन्द्रमा राखेर गाइएको गीत थियो र त्यो गीत एकदमै चर्चित भयो ।’

वि.सं. २०३३ बाट गाउन सुरु गरेको यो गीत २०३६ मा आएर पुरा भयो । अहिले पनि उनी सुनाउँछन्, ‘मलाई यो गीतभित्रको यही शब्द सबैभन्दा बढी मनपर्छ । र अलि कम मन पर्ने शब्द भने त्यही नारीलाई होच्याउने शब्द नै हो ।’ पूर्व क्षेत्रको लोकलयमा संगित भरिएको यो गीत जब उनी गाउन सुरु गर्छन् तब मान्छेहरु बडो प्रफुल्ल भएर नाच्न सुरु गर्छन् । तर यी ७८ बर्षे जेबीको हाउभाउलाई राम्रोसँग ख्याल गर्ने हो भने, उनलाई कम मनपर्ने शब्द गाउँदा उनको जोस कम हुने, र जब उनलाई एकदमै मनपर्ने शब्द गाउन थाल्छन् तब उनी एकदमै जोसिलो देखिन्छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै