
काठमाडौं । माधव नेपालको तर्फबाट विवाद समाधान कार्यदलका संयोजक भीम रावलमाथि केन्द्रीय सदस्यहरूले प्रश्न र आशंका व्यक्त गरेका छन् । खासगरी असार २७ गते भएको १० बुँदे सहमतिपत्रको बढाइचढाइ गरेर केन्द्रीय कमिटीमा प्रस्तुत गरेको भनेर नेपाल निकट केन्द्रीय सदस्यहरूले आलोचना गरेका हुन् ।
रावलको ब्रिफिङप्रति असन्तुष्ट भएका केन्द्रीय सदस्यहरूले प्रतिनिधिसभा विघटन गर्ने र कम्युनिस्ट आन्दोलन एवं पार्टीलाई यो अवस्थामा ल्याइपुर्याउन अध्यक्ष ओलीले आत्मालोचना गर्ने कि नगर्ने भन्नेबारे १० बुँदेमा उल्लेख नभएको भन्दै आलोचना गरेका थिए । उनीहरूले रावलले ओलीप्रति नरमभाव देखाएको भन्दै आशंका पनि व्यक्त गरेका थिए ।
रावलले वार्तामा भएका कुरा राखेपछि नेता नेपाल रक्षात्मक भएर बोलेको र त्यसलाई लिएर केन्द्रीय सदस्यहरूले आक्रोश व्यक्त गरेको एक केन्द्रीय सदस्यले बताए । ‘रावलकै कारण नेपाल डिफेन्सिभ भएर बोल्नुभयो त्यसपछि केन्द्रीय सदस्यहरू जगन्नाथ खतिवडा, मेटमणि चौधरी, सुरेन्द्र मानन्धर, रामकुमारी झाँक्री, बलराम बाँस्कोटालगायतले विरोध गर्नुभएको थियो । उहाँहरूले राजनीतिक रूपमा आफूहरूको जित हुँदा पनि किन रक्षात्मक हुनुपर्यो भन्ने धारणा राख्नुभएको थियो,’ ती सदस्यले भने ।
ती नेताहरूले एकता कसैले पनि अस्वीकार गर्न नसक्ने तर एकता १० बुँदे जस्तो मानेर आत्मसमर्पणमा एकता गर्न नसकिने धारणा राखेका ती नेताको भनाइ थियो । अहिले अध्यक्ष ओलीले आफ्नो सुविधाका लागि एकता खोजेको र त्यसमा आफूहरूको र तल्लो तहसम्मका कार्यकर्ताको आत्मसम्मान हुनेगरी मात्रै एकतामा जानुपर्ने उनीहरूले धारणा राखेका थिए ।
झाँक्रीले केन्द्रीय समितिमा आफूले राखेको धारणाबारे भनिन्, ‘मैले अवस्था कसरी सिर्जना भयो भन्नेबारे कुरा राखेको थिए । आज जसरी वार्ता समिति भर्सेस स्थायी कमिटी बनिरहेको छ र स्थायी कमिटी भर्सेस केन्द्रीय कमिटी बनिरहेको त्यसले हो ।’
वार्ता कार्यदलमा रहेका नेताहरूका माथि उनले प्रश्न उठाएकी थिइन् । त्यहाँ आफूहरू नै सर्वेसर्वा भएको र माधव नेपालसँग मान्छे नै नभएको भनेर कुरा राखेको भन्दै उनले बैठकमा आक्रोश व्यक्त गरेकी थिइन् ।
रावलसँग रामकुमारी झाँक्रीको पनि भनाभन परेको थियो । आफ्नो आलोचना भएपछि रावलले केही शब्द ओलीको आलोचनामा पनि खर्चिएका थिए । ओली तानाशाह भएको उनको भनाइ थियो । झाँक्री यही कुरामा रावलसँग जंगिएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।
‘आज तपाईंले यहाँ भित्र जे कुरा भन्नुभयो त्यो बाहिर गएर भन्न सक्नुहुन्छ ?’, रावललाई रामकुमारीको प्रश्न थियो, ‘यही कुरा ओलीको अगाडि भन्न सक्नुहुन्छ ? मिडियामा गएर बोल्न सक्नुहुन्छ ?’
बैठकमा उनले भनेकी थिइन्, ‘दोस्रो तहका नेताहरू माथि केही प्रश्न छन् । माधव नेपालले पार्टी विभाजन गर्नुभयो भने उहाँसँग २० जना केन्द्रीय सदस्य हुने छैनन्, माधव नेपालले अर्को सरकारलाई विश्वासको मत दिए २ जना सांसद हुने छैनन् भन्नेजस्ता वार्ता समितिका केही नेताले गएर उतापट्टी भन्नुभयो यसको कारणले हाम्रो टिम कमजोर भएको छ । कमजोर भएका ओली किन अहिले यस्तो गरिरहेका छन् भन्दा तपाईंहरूको कमजोर प्रस्तुतिले हो । माधव नेपाल केही पनि होइन जे हो हामीहरू हो भनेकाले यस्तो भएको छ । यो काम बन्द गर्नुस् । पार्टी एकता गर्दाखेरी उहाँको आवश्यकताले होइन हाम्रो आत्मसम्मानले गर्नुपर्छ ।’
झाँक्रीले बोलिसकेपछि रावलले प्रतिवाद गरेका थिए । त्यसपछि अरु केन्द्रीय सदस्यहरूले रावलको आलोचना गरेका थिए । त्यसपछि नेता जगन्नाथ खतिवडाले पनि ओलीका सर्तमा र आवश्यकतामा नभएर नेपाल पक्षको सर्त र आत्मसम्मानमा एकताको प्रस्ताव तयार गर्नुपर्ने धारणा राखेका थिए । बिहीबारको बैठकमा केन्द्रीय सदस्यहरु रवीन्द्र अधिकारी, निरज आचार्य लगायतले पार्टी एकतामा जोड दिनपर्ने धारणा राखेका थिए । नेपाल पक्षको केन्द्रीय कमिटी बैठक शुक्रबार पनि जारी रहनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- पाकिस्तानमा पिठोको मूल्य १२० प्रतिशत र प्याज २२८ प्रतिशतले बढ्यो
- काठमाडौंमा मेयर साहविरुद्ध प्रर्दशन
- प्रचण्ड, देउवा र नेपालबीच मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल
- घट्यो सुन–चाँदीको मूल्य
- मन्त्री र उम्मेदवार छान्न भोलि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
- थ्री पिस सुट र छालाको सुटमै ४१०० मीटरको हिमाल चढे एक जापानी सुचिकार
- यी स्थानमा चट्याङ्ग सहित हल्का वर्षा हुने
- लक्जमबर्गको पोस्टमा पोर्चुगलको आधा दर्जन गोल