Dark

ओली नेपाललाई दोस्रो अध्यक्ष दिन तयारः सम्मानजनक एकताको अडानमा नेपाल

काठमाडौं । नेकपा एमाले संस्थापन समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएको विवाद समाधानका लागि असन्तुष्ट समूहका नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताएका छन् ।

एमाले संस्थापन समूहको केन्द्रीय कमिटीको १० औं बैठकको तेस्रो दिनको बैठक समापनको क्रममा मन्तव्य राख्दै ओलीले यस्तो बताएका हुन् । 

उनले भने, ‘माधवकुमार नेपाल पार्टीमा आउने भए दोस्रो अध्यक्ष दिन्छु, त्यसका निम्ति केन्द्रीय कमिटीलाई सम्झाउँलासम्म भनेको थिएँ । तर उहाँले बहुमत नभएको कमिटीका निर्णय कहाँ मान्छु भनेको समेत साथीहरूले सुनाउनुभयो ।’

ओलीले सम्बोधनको क्रममा पार्टी एकतालाई जोगाउन हदैसम्मको लचकता अपनाउने जानकारी पनि केन्द्रीय सदस्यहरुलाई गराएका छन् ।

 

तर, माधव नेपालले पार्टी कब्जा गर्नको लागि बहुमत खोजेर बसेकाले पार्टी एकतामा समस्या भइरहेको ओलीको भनाइ थियो ।

ओलीले बैठकमा भने, ‘मोही मथ्दा पनि घिउ लागिहाल्छ कि भनेर म लागेको लागेकै छु । एकताको लागि कुनै कन्जुस्याई गरेको छैन । म थाकेको छैन साथीहरु ।’

पार्टी एकता भए पार्टीका सबै संरचनाहरु २०७५ जेठ २ अघिकै अवस्थाबाट क्रियाशिल हुने उनले बताए । पार्टी एकताका लागि हदैसम्मको लचिलो भएर १० बुँदे कार्यान्वयन गर्न आफू लागि परेको ओलीको भनाइ थियो  ।

उता असन्तुष्ट समूहको स्थायी कमिटीको बैठकले पनि सम्मानजनक एकताको लागि पहल गर्ने निर्णय गरेको छ ।

त्यसका लागि पार्टी अध्यक्षसँग थप छलफल गर्न यसअघि बनाइएको कार्यदलका सदस्यहरुलाई जिम्मेवारी दिइएको नेता योगेश भट्टराईले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै