Dark

पाउलान् त प्रधानमन्त्री देउवाले विश्वासको मत ? यस्तो छ अंकगणित...

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा विश्वासको मत लिने भएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो पटक गरेको प्रतिनिधि सभा विघटनको विरुद्घमा नेकपा एमाले असन्तुष्ट समूहका २३ सांसद सहित १ सय ४६ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटमा गत असार २८ मा सर्वोच्चले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको थियो । सर्वोच्चको निर्णयका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । 
 

एमाले असन्तुष्ट समूहका २३ सांसदको समर्थनमा प्रतिनिधि सभा पुनर्स्थापना भएर प्रधानमन्त्री कांग्रेस सभापति देउवा नियुक्त भएका हुन् । प्रतिनिधि सभामा हाल कायम रहेको २ सय ७१ सांसद मध्ये देउवाले विश्वासको मत पाउनका लागि १ सय ३६ सांसदको समर्थन आवस्यक रहेको छ । प्रतिनिधि सभामा हाल नेकपा एमाले १ सय २१, नेपाली कांग्रेस ६१, नेकपा माओवादी केन्द्र ४९, जनता समाजवादी पार्टी ३४, राष्ट्रिय जनमोर्चा पार्टी १ र नेपाल मजदुर किसान पार्टीको १  सांसद रहेका छन् ।

 यस मध्ये देउवाको पक्षमा नेपाली कांग्रेसबाट ६१, माओवादी केन्द्रका ४९, जसपा उपेन्द्र यादव समूहका १७, राष्ट्रिय जनमोर्चा १ सांसद देउवाको पक्षमा रहेका छन् । यद्यपि एमाले असन्तुष्ट समूहका नेता माधवकुमार नेपालले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने अभिव्यक्ति दिएका छन् । एमाले असन्तुष्ट समूहका पक्षमा २३ सांसद रहेका छन् ।

उनीहरुले प्रतिनिधि सभा पुनर्स्थापना र देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चमा दायर गरिएको रिटमा पनि हस्ताक्षर गरेका थिए । यदि आइतबार दिउँसो ४ बजेसम्म कुनै नाटकीय परिवर्तन नभएमा देउवाले विश्वासको मत पाउने छन् । एमाले संस्थापन समूहको शुक्रबार बसेको स्थायी कमिटीको बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ । 

एमाले संस्थापन समूहका केही सांसदहरुले फ्लोर क्रस गरेर दिउवालाई सघाउने वचन दिएको पनि कांग्रेस स्रोतको दाबी रहेको छ । संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नियुक्त प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा दलको ह्वीप नलाग्ने सर्वोच्चको ठहर रहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै