Dark

समाजसँग मेरो एउटा प्रश्न छ- के फरक छ रजस्वला भएकी र नभएकी नारीबीचमा ?

कतिले मलाई छाउपडी, महिनावारीको विपक्षमा लेख्छे आफुले मात्र खुब महसुस गरेकी छे ? भनेर स्वाङ पार्छे भनेको सुनेकी पनि छु । हुन त, अचानोको पीडा खुकुरीलाई के थाहा ?  भनेजस्तै म जुन विषयमा लेखिरहेकी छु त्यसको पीडा ममात्रै महसुस गर्न सक्छु ।

सबैभन्दा ठूलो कुरा त छोरी भएर जन्मिएँ र तपाईं जस्तै एउटा मान्छे जन्माउन सक्ने बन्न पाएँ यसमा म गर्व गर्छु । मैले, मभित्रको नारी त्यस दिन आभास गरें, जब  म उमेरले  १२ वर्ष नाघेकी थिए । म स्कुलबाट घर फर्कंदै गर्दा मैले लगाएको स्कर्टको पछाडि रातो रङ देखें ।

जुन रङले मलाई बालिकाबाट किशोरी बनाउॅंदै थियो । अनि भविष्यमा म आमा बन्न योग्य भएको संकेत गर्दै थियो ।

तर हर्ष  र उल्लासको प्रतीक मनिने त्यही रातो रङ महिनावारी हुँदा अपवित्रता र अभिसाप  बन्यो । 

साँच्चिकै नारी हुन निकै गाह्रो रहेछ, हिजोसम्म बाबाको काखमा लडीबुडी खेल्दै गरेकी म, एउटी कोपिलाजस्तो छोरी थिएँ । अचानक आज सबैको छि छी र दुरदुर  हुँदै थिएँ । परिवार सॅंगसॅंगै डाइनिङ टेबलमा खाने म, आज एक्लै त्यो चिसो कोठाको भुइँमा खान बाध्य भएँ । सबै बन्देजहरु मानी नै रहेकी थिएँ ।

तर पीडाको पराकाष्ठा त त्यो दिन नाघ्यो, जब भाइटिकामा एक मात्र भाइलाई टिका लगाउन मेरै शरीरको रगत अपवित्र भयो, मेरै हात अपवित्र भए मेरो भाइको निधार रंगाउन समेत दिइएन मलाई अछुत÷नछुने÷छुई÷परसरेकी आदि पदवी दिइयो ।

 

त्यो ५० रुपैंयाको प्याडले मेरो शरीरको रगत सोसी नै रहेको थियो । मलाई स्कुलमा पढाइएका परिवर्तनका पाठहरुले घच्घच्याइरहेका थिए । समाजिक शिक्षा अन्र्तगत किताबमा पढेको, समाजमा भएको अन्याय विरुद्ध लड्नुपर्छ भन्ने आवाजहरु आज आफैंसँग अन्याय हुँदा मौन बस्न बाध्य भएका छन् । मेरो मस्तिष्कमा क्रान्तिको भकुन्डो खेलिरहेको थियो ।

सानोछँदा आमाले लक्ष्मीपूजाको दिन मेरा पाइलाहरु लक्ष्मीको मानेर पुजा कोठासम्म मेरो पैतलाको छाप बनाउनुहुन्थ्यो । व्रत पूजाआजाका दिन कन्या मानेर मेरो गोडाको पानी खानुहुन्थ्यो । लक्ष्मीको अवतार मानेर हिजोसम्म मेरी आमाले पुज्ने गर्नुहुन्थ्यो, आज त्यही लक्ष्मीको डर देखाएर अलग्गै राखिॅंदैछ ।

आज म ती सबै टाढैबाट चियाइरहेकी छु । म महिनावारी हुँदा चार दिन अलग्गै बस्छु, तर मन्दिरमा बस्ने देवी संसारकी सृष्टिकर्ताको पनि रजस्वला हुन्छ होला नि ? तर, उनलाई  त चार दिन मन्दिरबाट अलग्गै कहिल्यै राखिॅंदैन ।

अझ अचम्मको कुरा महिनावारीपछि सुनपानी हालेर चोख्याइन्छ । तर तिमी त्यही अपवित्र रगतबाट सिर्जित भएका आफूलाई के हालेर शुद्ध पार्छौ ? रुढिवादी, छाउपढीवादी, कुरितिको सिकार म एउटी नारी वञ्चित छु । आफ्ना भावनाहरु व्यक्त गर्न, अपेक्षा गर्न भुइँको चिस्यान मुटुमै पस्दा पनि, मोक्ष प्राप्तिको लागि छट्पटाइरहे ।

मेरा लागि, मठमन्दिर बारिए, भान्सा बारियो, दुनियाँ बारियो, ३३ कोटि देवीदेउता बारिए, धुरीखाँबाका तिनै कुल–कुल्यान बारिए ।

कोपिलासरी खेलिरहेको मुहार देखाउन सकिँन। एकान्तमा बस्दा मन पीडाको हुटहुटीले पोल्ने गर्छ । छाउगोठमै खुवाइन्छ मलाई ।

जबसम्म समाजमा भएका परिवर्तनशील सोचहरु, न्यायका बोलीहरू, हकहितका नाराहरुले हामीभीत्र नै सकारात्मक परिवर्तन गर्न सक्दैनन् त्यसको कुनै अर्थ हुँदैन । हाम्रा बोली र ब्यवहारमा जवसम्म मेल खाँदैन तवसम्म हामी कृत्रिम जिन्दगी बाँचिरहन्छौं । र, यस्ता घटना समाजमा सुक्ष्म गतिमा मौलाइरहने र सामाजिक मान्यताहरु विगत भन्दा फरक अनुभूत गर्न नसकिने पक्का हुन्छ। 

हरेक महिनामा चार दिनसम्म मलाई छुट्टै राखेर खाना खुवाउँदा, मेरो थाल घरभित्र नलादाँ, छोइएला कि भनेर सबै परपर भाग्दा, धारामा छुन जान नपाउँदा, मन्दिर छिर्न नपाउँदा, कसैको विवाह ब्रतबन्ध, पूजाआजामा सरिक हुन नपाउँदा र चार दिनपछि बल्ल सुनपानी छर्केर चोख्याउँदा मलाई मनभित्र पीडा हुन्छ ।

यो विकृति हटाए हट्न सक्छ । यो कुप्रथा बदल्न चाहे पक्कै बदलिन्छ । आखिर सीमित मान्छेले आफू शक्तिकेन्द्रमा रहिरहन बनाएको नियम हो यो । समाज र संस्कारसँग मेरो एउटा प्रश्न छ– के फरक छ रजस्वला भएकी र नभएकी नारीबीचमा ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै