Dark

विश्वासको मत लिन गण्डकीका मुख्यमन्त्रीलाई सकस, दुईमत नपुग्ने

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा गरेपछि प्रदेश प्रमुखले पुनः मुख्यमन्त्रीमा नियुक्त गरेको विहीबार एक महिना पुग्दै छ ।

संसदमा ठूलो दलको हैसियतमा मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले संविधानअनुसार एक महिनाभित्रै अर्थात् विहीबारभित्रै विश्वासको मत लिनुपर्छ ।

सर्वोच्च अदालतले राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापाको  पद थमौती गरिदिएपछि गण्डकीमा सत्तापक्ष र प्रतिपक्ष दुबै पक्ष अल्पमतमा छन् । 

नेकपा एमाले र विपक्षी काँग्रेसलगायत पार्टीहरू आ–आफ्नो नेतृत्वमा सरकार टिकाउन र भत्काउन बहुमत पु¥याउने योजनामा लागे पनि सफल हुन सकेका छैनन् ।

सत्तारुढ एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन योजनावद्ध रुपमा लागे पनि बहुमत जुटाउन सकिरहेको छैन । उता, प्रमुख प्रतिपक्ष दल काँग्रेसले पनि आफ्नो नेतृत्वमा सरकार बनाउने योजना बनाए पनि जनमोर्चाका तीन सांसद मध्येका कृष्ण थापाले गठबन्धनलाई सहयोग नगर्ने बताएसँगै बहुमत प्राप्त गर्न सकेको छैन ।

गण्डकी प्रदेशसभामा कुल ६० सांसद छन् । बहुमत जुटाउन ३१ मत चाहिन्छ । मुख्यमन्त्री गुरुङको पार्टी एमालेका जम्मा पक्षमा २७ सांसद छन् । एमालेका २७ सांसदमध्ये प्रदेशसभामा माधव–झलनाथ पक्षमा एकजना इन्द्रलाल सापकोटा मात्रै छन् । उनले पृथ्वी सुब्बा नेतृत्वको सरकारलाई समर्थन गर्ने ओली पक्षको दाबी छ ।  

स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन मुख्यमन्त्री गुरुङलाई नै छ । यो सहित एमालेको पक्षमा अहिलेसम्म २८ मत पुग्छ ।
एमालेसँगै रहेको २६ मत, माधव नेपाल पक्षको एक मत, दीपक मनाङ्गेको एक मत र जनमोर्चाका कृष्ण थापाको समेत मत जोड्दा २९ मत मात्रै पुग्ने अवस्थामा मुख्यमन्त्री गुरुङले चमत्कारिक रुपमा थप दुईमत पाएर ३१ पु¥याएको अवस्थामा उनको सरकार जोगिन्छ, नत्र ढल्छ ।

निर्णायक मानिएको जनमोर्चाले सरकारलाई समर्थन नगर्ने निर्णय गरेको र तीन सांसदमध्ये दुईजना विपक्षी गठबन्धनमा खुलेर लागिसकेकाले नेता गुरुङको पक्षमा यही अवस्थामा बहुमत पुग्ने सम्भावना देखिँदैन ।

विश्वासको मतको विपक्षमा माओवादी केन्द्रका सभामुखसहित १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका २ र जनता समाजवादी पार्टीका २ सांसद छन् । सभामुखले दुबै पक्षको बराबर मत भएको अवस्थामा मात्रै मत हाल्न पाउँछन् । सभामुखबाहेक विपक्षीको पोल्टामा ३० मत छ ।

गण्डकी प्रदेशको तेस्रो ठूलो दल माओवादी केन्द्र हो । १२ जना प्रदेश सांसद रहेका माओवादी केन्द्रका ११ जनाले मतदान गर्न पाउनेछन् । नेत्रनाथ अधिकारीचाहिँ माओवादी केन्द्रबाट निर्वाचित सभामुख भएकाले मतदान गर्न पाउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै