Dark

प्रधानमन्त्री ज्यू – मतदान होइन यो जीवनदानको समय हो

‘अब आँसु खसाउनु पर्दैन

रगत बगाउनु पर्दैन

नेपाली मन अब फुट्दैन ’

यी माथिका कविताका हरफहरु प्रधानमन्त्री केपी शर्मा ओलीले लेखेका हुन् । जति कविताका पंक्तिहरु सुन्दर छन् त्यत्तिलनै अन्धकार छ नेपाली जनताको भविष्य ।

रक्त कुण्डमा डुबुल्की मारेर अनि रगतकै होली खेलेर सत्तामा पुगेकाहरु अहिले भनिरहेका छन्, ‘अब आँसु खसाउनु पर्दैन, रगत बगाउनु पर्देन ।’  मन बहलाउनको लागि कविता हो भने ठिकै हो । प्रधानमन्त्रीले लेखेको कवितामा यर्थाथता पाउन भने गाह्रो छ ।

हुन त प्रधानमन्त्रीका यस्ता स्वैरकल्पनायुक्त गफ सुनेको आजमात्र हैन । डाँडा पाखाहरुमा रेल कुदाउने, भान्छामा पाइपबाटै ग्यास पुर्‍याउने र सिलिन्डर युगको अन्त्य गर्ने, हावाबाट विजुली निकाल्ने जस्ता हावादारी गफ चुट्ने प्रधानमन्त्रीले कवितामा शान्ती, स्वतन्त्रता, न्याय, समानता र अधिकारका कुरा गरिरहनु नौलो भने होइन ।

अहिलेको महामारीमा प्रधानमनत्री लगाएत देशका संबै संयन्त्रको ध्यान यसको नियन्त्रण र जनताको जीवन रक्षा तर्फ लाग्नु पर्नेमा प्रधानमन्त्री लगाएतका संयन्त्रहरु हावादारी सपनाको खेती गर्दे, कविता लेख्दै हाइसञ्चोले दैनिकी बिताइरहेका छन् । स्वैरकल्पनायूक्त सपनाको खेती गरेर जनताको आँखामा छारो हालिरहेका छन् ।

प्रधानमन्त्रीले कोरोनाको बारेमा भ्रमपूर्ण अभिव्यक्ति दिएर कोरोना लाई ख्याल ख्याल सम्झदा आज दैनिक २ सय भन्दा धेरै नागरिकले ज्यान गुमाउन परेको छ ।

कोरोना कहरले विश्व नै आक्रान्त बनिरहेको बेला हाम्रा प्रधानमन्त्री भने जनतालाई बेसार पानि र अम्बाको पात पकाएर खान सुझाव दिदै जनमतको खिल्ली उडाई बसेका छन् ।

कोरोना महामारीले नेपाललाई मात्र हैन विश्वका अति विकसित देशलाई पनि घुँडा टेकाएको छ । तर त्यस देशको सरकार जनताप्रति उत्तरदायी र संयमित छ  ।

प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकार अहिले देश संवैधानिक लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसक्दा पनि श्री ३ को अवशेष बोकेर कानुनी राज्य भन्दा बाहिर छ । आफै नियम बनाउछ अनि आफै उल्लंघन गर्छ । मुलुक धर्म निरपेक्ष राष्ट्र भइसक्दा पनि ओली पशुपतिमा सुनको जलप लगाउन राज्यकोश बाट दान गर्ने र अयोध्याय बनाउन जम्बो टोली खटाउन व्यस्त छन् ।

अस्पतालमा जनता अक्सिजन नपाएर जीवन मृत्यको दोसाँधमा छन् देशकै अभिभावक भनिएकाहरु रोम जल्दा पनि बाँसुरी बजाएर बस्ने रोमका शासक नेरो झै कविता लेखेर बसेका छन् । हावादारी सपनाको खेती गरिरहेका छन् । आँसु बगाउन पर्दैन भनिरहेका छन्  तर जनता आँसु पिएरै बाँचिरहेका छन् ।

महामारीको समयमा सरकारले हैसला दिनु पर्ने हो । अस्पताल बनाउन निर्देशन दिनुपर्ने हो तर पशुपतिमा लास जलाउने दाउराको अभाव नगराउन निर्देशन दिदै हिडेका छन् । 

प्रधानमन्त्री ज्यू बरु हामीलाई चाहिदैन पानी जाहज, चाहिदैन भान्छा–भान्छामा ग्यस पाइप । चाहिदैन स्मार्ट सिटी, चाहिदैन हावाबाट विजुली । सकिन्छ भने त्यसको बदलामा नागरिकहरुले उपचार नपाएर मर्नु नपरोस् । मृतकका आफन्तले देशको स्वास्थ्य स्थिति र खिचातानी देखेर धिकार्न नपरोस् ।

जसले कानुन बनाउछ उसैले कानुनको पालना गरोस् । तपाईले देखाएका हावादारी सपना छाडिदिनुस् । तथ्य र प्रमाणमा टेकेर मात्र बोल्ने बानीको विकास गरौ ।

यो भक्ती धारामा रहेर कविता लेख्ने समय हैन । यो कुनै स्वैरकल्पना र जाजुसीमय साहित्य रचनाको समय पनि हैन । अहिलेको प्राथमिकता भनेको मतदान गरेर सत्ता र शक्तिमा पुर्‍याउने जनताको जीवन बचाउने समय हो । जीवन रहेमा तपाईले ल्याएको चुच्चे रेलमा सयर गर्दै स्वैरकल्पनायूक्त कविता पछि नै लेखौला । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै