Dark

 संसारको सबैभन्दा पवित्र शब्द ‘आमा’

आज मातातिर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । आफूलाई जन्म दिने आमालाई सम्मान गरी यो दिनलाई  उत्सवको रुपमा  मनाइने गरिन्छ । तर कोरोनाको कारण  यस वर्षको मातातीर्थ औँसी पनि अघिल्लोे साल जस्तै भयो । आमासँग भौतिक रुपमा भेट नभएरै गयो सबै छोरीहरुको ।  

‘शास्त्रमा बाबुभन्दा आमा दशगुणा बढी मान्य हुन्छिन् भनी व्याख्या गरिएको छ, ‘मातृदेवो भवः’ भनेर सबैभन्दा पहिले भनिन्छ, त्यसपछि मात्र ‘पितृदेवो भवः’, यसैबाट शास्त्रले आमालाई महत्व दिएको स्पष्ट हुन्छ’ । ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवती’ अर्थात् छोरा कुपुत्र भए पनि आमा कहिल्यै कुआमा हुँदिनन् भन्ने भनाइ नै छ ।

 संसारको सबैभन्दा पवित्र नाता, पवित्र सम्बोधन हो आमा । आमाले सन्तानको लागी आफ्ना सारा खुसीलाई सजिलै वलिदान दिएर सन्तानको सुख, खूसी समृद्घि खोजिरहेकी हुन्छिन् । आमा भगवानको अर्को रुप हो ।
सर्वप्रथम हामीमध्ये धेरैले बोल्न सिकेको शब्द, आमा । अनि पल–पलमा सम्झना आउने, सुख दुःखमा झझल्को आउने एउटा अनुहार, ‘आमा’ । 

आजको दिन बिवाह गरेर पतिका घर गएका चेलीबेटीहरू टाढा टाढाबाट मीठा–मीठा परिकार र लत्ता कपडाहरु सहित आमाघर अर्थात माइती पुग्छन् ।    विभिन्न कारणले आमालाई भेट्न नपाएकाहरूले भने संचारका साधनहरूमार्फत् पनि आमालाई सम्झने गर्छन् ।

मानिसहरूले सामाजिक सञ्जालहरूका माध्यमबाट पनि आमाप्रतिका भावना सम्झनाहरू व्यक्त गर्छन् । आमा नभएकाहरूले पनि आमाको आत्माको शान्तिको कामना गर्दै आज श्राद्ध तर्पण गरी मातृत्वको स्मरण गर्छन् । त्यस्तै काठमाडौं उपत्यकामा आमा नभएका नेवार समुदायले भने भक्तपुरको हनुमानघाट पुगी आमाको सम्झनामा परम्परा अनुसार श्राद्ध तर्पण गर्छन् ।

मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धुमधामका साथ मेला लाग्ने गर्छ । तीर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्छन् । जीवित अथवा दिवङ्गत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम पर्व मानिन्छ । आजका दिन काठमाडौँको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा श्राद्ध गर्ने भक्तजनको भिड लाग्छ । बौद्ध धर्मावलम्बी समेत यहाँ दिवङ्गत आमाको सम्झनामा श्राद्ध गर्न आउँछन् ।

 द्वापर युगमा आजको दिनमा मातातिर्थमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी कुण्डमा खसेपछि हेर्दा दिवङ्गत आमाको मुख देखेर रुन थालेको र संयोगले त्यो दिन वैशाख कृष्ण औँसीलाई मातातिर्थ औसीको  रुपमा मनाउन थालिएको जनविश्वास छ । 

कुण्डमा देखिएकी आमाले ती ग्वालालाई नरोऊ प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिन हामी दिवङ्गत माता यहाँ आउँछौँ भनेपछि त्यसैबेलादेखि मेला लाग्न थालेको थियो ।
यसरी हरेक वर्ष आमा नहुनेहरूले मातातीर्थमा गई त्यहाँको कुण्डमा नुहाउने र मृतक आमाका नाममा मीठा–मीठा खाद्य पदार्थ चढाउने प्रचलन कायम भयो । आमाप्रतिको श्रद्धास्वरूप मातातीर्थमा ‘साझा आमा’ को मूर्ति समेत स्थापना गरियो ।

मातातीर्थ औँसी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिककालदेखि मनाइँदै आएको पर्व हो ।  आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झिने दिन हो । यिनै आमा जसले हामीलाई गर्भमा राखेर जन्म दिइन् र संसार देखाइन् । अनि संसारको सबै भन्दा न्यानो काखमा राखेर हुर्काइन् ।

आमाको माया अपरम्पार हुँदाहदै पनि अहिलेको समाजमा आमाप्रति गलत धारणा र विकृती फैलिँदै गएको देखिन्छ । दिनानुदिन बढ्दै गएको विकृतीले हरेक आमाहरु आँसुको सागरमा डुब्न बाध्य भएका छन् । दुःख गरेर हुर्काएको छोराले वृद्घा आश्रम लगेर छोड्दा कुन आमाको मन नरोला । अहिले आमा बाबा घरमा राख्न खोज्दैनन् । जसले आफ्नो खुसी बिर्सिएर सन्तानको लागि जिवन नै सुम्पिन्छिन् त्यही आमालाई रुवाएर बसिरहेका छन् अहिलेका अधिकांश छोराहरु । उनीहरु सोच्दैनन् कि समयको खेल हो पछि मेरो पनि त्यही दिन आउछ । बढ्दै गएको विकृति छिट्टै अन्त्य होस् ।

 ममता कि खानी अनि बालापनामा हाम्रा हरेक इच्छा, आकांक्षा अनि चाहान पूरा गरिदिने कल्प वृक्षसरी, यस पृथ्वी लोकका सम्पूर्ण आमाहरूलाई कोटी–कोटी नमन छ । सम्पुर्ण आमाहरुलाई मातातिर्थ औँसीको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै