Dark

बैंक खाता खोल्नैपर्ने बाध्यताले आफूले पाउने भत्ताबाट वञ्चित हुँदै ज्येष्ठ नागरिक

हुम्ला । सिमकोट गाउँपालिकाका ज्येष्ठ नागरिक बैंक खाता खोल्नैपर्ने बाध्यताले आफूले पाउने भत्ताबाट बिमुख भएका छन् । उनीहरुलाई भौगोलिक कठिनाईका कारण बैंक खाता खोल्न उनीहरुलाई सास्ती भएको हो । भौगोलिक विकटताका कारण ७० वर्ष पार गरेका ज्येष्ठ नागरिकलाई गाउँबाट सदरमुकाम सिमकोट पुगेर बैंक खाता खोल्न निकै समस्या हुने गरेको छ । सामाजिक सुरक्षा भत्ता बुझ्नका लागि बैंक खाता खोल्नैपर्ने नियम लागू भएपछि ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिले सास्ती बेर्होनुपरेको छ ।

खाता खोल्न सदरमुकाम सिमकोटसम्म एक दिन पैदल हिँडेर आउनुपर्ने भएपछि उनीहरूलाई समस्या भएको हो । पाँच घण्टा पैदल उकालो बाटो हिँडेर बैंक खाता खोल्न सदरमूकाम आएको सिमकोट गाउँपालिका- ७ का ७८ वर्षीय पञ्चवीर रोकायाले बताए ।

दमका बिरामीसमेत रहेका रोकाया निकै सास्ती खेपेर बैंक खाता खोल्न आइपुगेको तर १० महिना बितिसक्दा पनि आफूले अहिलेसम्म गत साउनदेखिको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरे । सरकारले दिने सामाजिक सुरक्षा भत्ता आफूहरूलाई वितरण नगरेर ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकलाई दुःख दिने काम भएको आरोपसमेत लगाए ।
 

सामाजिक सुरक्षा भत्ताको दुरुपयोग रोक्न सरकारले बैंक खाता खोल्नै पर्ने नियम लागू गरेको भए पनि यसले अशक्त ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिलाई समस्या थपिएको छ ।त्यस्तै सिमकोट गाउँपालिका–१ का ८८ वर्षीय ज्येष्ठ नागरिक आङ्याल लामाले बैंक खाता नखोले भत्ता नपाइने सुने पनि आफू बैंक भएको स्थान सदरमुकाम सिमकोट जान नसक्ने बताए । सबैको हकमा यो नियम व्यवहारिक नभएको बताउँदै लामाले आफूजस्ता हिँड्न नसक्ने जेष्ठ नागरिकका लागि विकल्प दिन पनि सरकारलाई अनुरोध गरे ।

यता नाम्खा गाउँपालिका–६ हिमालपारिको गाउँ लिमीका ९० वर्षीय पाल्जुमा तामाङको अवस्था पनि उस्तै छ । उनले ३ दिन पैदल लाग्ने पालिका केन्द्रसम्म आफू जान नसक्ने बताउँदै शारीरिक अवस्थाले साथ नदिने र भत्ता पाउन बैंक खाता खोल्नैपर्ने बाध्यताले आफू भत्ता पाउनबाट बञ्चित भएको बताए ।

१० महिनादेखि पाएका छैनन् लक्षित समुदाय जेष्ठ नागरिकले भत्ताः 

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकासहित जिल्लाभरका लक्षित समुदायका व्यक्तिले १० महिनादेखि सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् ।

सामाजिक सुरक्षा भत्ता पाउने लक्षित समुदायअन्तर्गत ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति, दलित समुदायका व्यक्तिले आर्थिक वर्ष २०७६/७७ को पहिलो किस्तावापतको रकम हालसम्म पनि स्थानीय सरकारबाट नपाउँदा कठिनाइ भोग्नुपरेको गुनासो गरे ।

इच्छा लागेका सामान किन्न नपाएको,चाडपर्वको समयमा मिठो मसिनो खान नपाएको र औषधोपचार समेत गर्न नपाएको हुम्लाका जेष्ठ नागरिकहरूको गुनासो छ ।

ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित र एकल महिलालाई समयमै भत्ता बापतको रकम नदिँदा दशैँ, तिहार र हिउँदको समयमा कष्टकर जीवन बिताउनुपरेको सिमकोट गाउँपालिका–२ की मैना बोहराले बताइन् ।  

समाजका ज्येष्ठ नागरिकलाई सम्मान गर्नुपर्ने भए पनि सरकारबाट पाउने सुविधासमेत समयमा नदिएर अपमान गरेको एकल महिला मैना बोहराले बताइन् । भत्ता आउला भन्ने आशामा बसेका हुम्लाका ज्येष्ठ नागरिक चिसो हुने हिउँदमा भत्ता नपाउँदा र चाडपर्वको समयमा समेत भत्ता नपाउँदा निराश छन् ।

सिमकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले भने, ‘पुरानो संरचनाअनुसार घरघरमै गएर नगद रकम दिँदा तलमाथि हुने देखिएपछि नयाँ संरचनाअनुसार बैंक खाता सञ्चालन गरेर वितरण गरिने भएकाले केही ढिलाइ भएको हो । उहाँहरुको बैंक खाता सञ्चालनमा आइनसकेकाले जेष्ठ नागरिक भत्ता वितरणमा कारणले समस्या भएको हो,अबको केही दिनमै भत्ता वितरण गर्ने तयारीमा हामी छौँ,’ अधिकृत रोकायाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै