Dark

कर्णाली प्रदेश सरकार गठनको सकसः कांग्रेसले माग्यो दुई मन्त्रालय, तीन जना आकांक्षी !

सुर्खेत । नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएवापत तत्काल दुई मन्त्रालय मागेपछि प्रदेश सरकार गठनमा अन्यौल सिर्जना भएको छ ।

तत्काल दुई मन्त्रालय मागेपछि सकसमा परेका मुख्यमन्त्री शाहीले  नेकपा माओवादी केन्द्र संसदीय दलको वैठकमा कांग्रेसलाई दुई मन्त्रालय दिनुको विकल्प नभएको बताएका हुन् ।

‘पहिले एक मन्त्रालय र ६ महिनापछि मुख्यमन्त्री दिने कुरा आएको थियो,’ प्रदेश सभा सदस्य रातो कामी भन्छन्, ‘अहिले आर्थिक मामिला तथा योजना र सामाजिक विकास मन्त्रालय कांग्रेसले माग गरेको छ ।’

कर्णाली प्रदेश सभामा हाल नेकपा माओवादीका १२ र कांग्रेसका ६ सांसद छन् । 

माओवादी केन्द्रका सांसद गोपाल शर्मा, विन्दमान विष्ट र सीता नेपालीले मन्त्रालय माग गरिरहेका छन् भने हाल आर्थिक मामिला तथा योजना मन्त्रालय सम्हालेकी मन्त्री विमला केसीले छोड्न मानिरहेकी छैनन् । यसले पनि मुख्यमन्त्री शाहीलाई मन्त्री चयनमा समस्या पारेको श्रोतको दाबी छ ।
कांग्रेसले माग्यो दुई मन्त्रालय, तीन जना आकांक्षी !

कर्णाली प्रदेश सरकार गठनका लागि कांग्रेसमा पनि आन्तरिक किचलो देखिएको छ । कांग्रेसले दुई मन्त्रालय पाइहाले पनि ती दुई मन्त्रालयमा तीन जनाको दाबी परेको छ । माओवादीसँगको सहमति अनुसार दुई मन्त्रालय पाउने भएपछि कांग्रेसमा मन्त्री बन्न तीन जनाले दाबी गरिरहेका हुन् ।

सुर्खेतका यज्ञबहादुर विसीलाई मन्त्री बनाउन नेपाली कांग्रेसले संसदीय दलका नेता जीवनबहादुर शाहीलाई ज्ञापनपत्र नै बुझाइसकेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का पनि विसीलाई मन्त्री बनाउन आतुर छन् ।

अर्कातिर नेपाली कांग्रेसको पौडेल खेमाका दीनबन्धु श्रेष्ठ र हिमबहादुर शाही पनि मन्त्री आफूले पाउनुपर्ने माग गर्दै आइरहेका छन् । सत्ता साझेदारीको भागबण्डामा कुरा  मिलेको खण्डमा अब केही दिनभित्रै कांग्रेसका दुई मन्त्रीले सपथ लिने पक्कापक्की रहेको स्रोतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै