• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

१६ वर्ष नपुग्दै नागरिकता लिएकै कारण राष्ट्रिय परिचयपत्र विवरण दर्ताका क्रममा समस्या

खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिका–३ काहुलेकी सुनिता खत्री राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न दर्ता स्टेशन (शिविर स्थल)मा पुगिन् । तर, राष्ट्रिय परिचय पत्रका लागि फर्म भर्न खोज्दा सुनिताको नाम पञ्जी करण विभागको सिस्टममा इन्ट्री भएन । कारण थियो उनले १६ वर्ष पुरा नहुँदै नागरिकताको प्रमाणपत्र पाउनु । नागरिकतामा उल्लेख अभिलेख अध्ययन गर्दा उनले ९ दिनले १६ वर्ष नपुग्दै नागरिकताको प्रमाणपत्र लिए÷दिएको देखियो ।

दिनगन्तीले १६ वर्ष उमेर नपुग्दै नागरिकता लिएकै कारण राष्ट्रिय परिचय पत्रका लागि फर्म भर्न खोज्दा सिस्टमले ‘रिजेक्ट’ गरेको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनमा खटिएका कर्मचारीको जवाफ छ । २०४७ साल माघ १५ गते जन्म मिति भएकी सुनिता खत्रीको नागरिकता २०६३ साल माघ ६ गते जारी गरिएको उल्लेख छ । यस अनुसार उनको वर्ष र महिनाले १६ वर्ष पुगेको देखिन्छ तर दिनले ९ दिनले १६ वर्ष पुग्न बाँकी देखिन्छ ।
 

यस्तै, जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका युवराज श्रेष्ठको समेत राष्ट्रिय परिचयपत्रको फर्ममा नाम नै इन्ट्रि भएन । नाम इन्ट्री नभएपछि उनी रित्तै फर्किए । श्रेष्ठको त १६ वर्ष पुग्नुभन्दा ३ दिन अगावै नागरिकताको प्रमाणपत्र वितरण गरेको देखियो । २०४७ साल माघ ५ गते जन्मिएका श्रेष्ठको नागरिकता जारी मिति २०६३ साल माघ २ गते उल्लेख छ । उनले २०७४ साल माघ १९ गते प्रतिलिपी लिएको देखिएको छ । यस्ता समस्या उनीहरुको मात्र होइन । राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनमा उमेर नपुग्दै नागरिकता लिएका तीन÷चार जना स्थानीय विवरण दर्ता हुन नसक्दा फर्किएको राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका विवरण दर्ता अपरेटर अजय राजवंशीले बताए ।

राष्ट्रिय परिचय पत्रका लागि विवरण फर्म भर्ने क्रममा कतिपयको नागरिकतामा जारी मिति, नागरिकता नम्बर नै उल्लेख गर्न छुटेको पाइएको छ ।
कतिपयको नागरिकतामा लिङ्ग नै परिवर्तन गरिएको, कतिपयको थर परिवर्तन भएको पाइएको विवरण दर्ता अपरेटर राजवंशीले बताए । ‘ज–जसले १६ वर्ष उमेर नपुग्दै नागरिकता लिनुभयो उहाँहरुको नाम सर्भरमा रिजेक्ट भयो । त्यसमा हामीले केही गर्न मिल्दैन,’ राजवंशीले भने, ‘नागरिकताको एकातिर दमाई र अर्कातिर दर्जी उल्लेख गरेको पनि पाइयो ।

नागरिकतामा धेरै खालका समस्या देखियो जसले गर्दा धेरैको राष्ट्रिय परिचय पत्रका लागि विवरण भर्न सकिएन । जन्मदर्ताको आधारमा विवरण दर्ता गर्ने व्यवस्था हुँदैछ । त्यसपछि सहज होला ।’ नागरिकताको नेपाली र अंग्रेजी विवरणमा थर फरक उल्लेख भएका एक स्थानीयले भने तत्काल प्रशासन पुगेर त्रुटी सच्याएर पुनःदर्ता स्टेशन पुगेर विवरण दर्ता गराएका छन् ।

राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष्यका साथ खोटाङमा जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण दर्ता स्टेशनबाट गत साउन १ गतेदेखि तथा विभिन्न स्थानीय तहमा स्थापना गरिएको अस्थायी स्टेशनबाट गत माघ १५ गतेदेखि विवरण संकलनको काम भइरहेको छ । 

तर, नागरिकतामा भएका त्रुटीका कारण कतिपय नागरिकले राष्ट्रिय परिचयपत्र वितरणका लागि विवरण दर्ता गर्न सकेका छैनन् । नागरिकतामा भएको त्रुटीका कारण नागरिकले पाएको हैरानीको जिम्मेवारी नागरिकता वितरण गर्ने कर्मचारीले लिनुपर्ने कांग्रेस जन्तेढुंगा गाउँपालिका समितिका उपसभापति बाजिन्द्र बिष्ट बताउँछन् । विष्टले भने,‘१६ वर्ष नपुग्दै नागरिकता दिएको पाइयो जसका कारण सर्वसाधारणको नाम राष्ट्रिय परिचयपत्र विवरण संकलनको फर्ममा इन्ट्रि भएन, किन १६ वर्ष नपुग्दै नागरिकता दिइयो रु यो  नागरिकता वितरण गर्ने कर्मचारीको गम्भीर कमजोरी हो । यो समस्याको उपयुक्त समाधान खोज्न जरुरी छ ।’

१६ वर्ष नपुग्दै नागरिकता वितरण हुँदा राष्ट्रिय परिचय–पत्रको विवरण दर्ताका क्रममा समस्या निम्तिएको बारेमा भने जानकारी नआएको खोटाङका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताए ।

प्रजिअ शर्माले भने, ‘त्यस्तो नहुनु पर्ने हो, कहिलेकहीँ गल्ती भएको हुन सक्छ,नागरिकता हेर्छौँ, अभिलेख हेर्नु पर्ने हुन्छ । कुनै न कुनै निकास निकाल्छौंँ ।’ 

राष्ट्रिय परिचय–पत्र नागरिकको वैयक्तिक तथा जैविक विवरण समावेश भएको राष्ट्रिय पहिचान सहितको बायोमेट्रिक सुविधायुक्त र बहुउपयोगी प्रमाणपत्र हो । राष्ट्रिय परिचय पत्रमा व्यक्तिको नाम, थर, जन्म मिति, लिंग, आमाबुबाको नाम, ठेगाना, नागरिकताको किसिम, पति÷पत्नीको नाम, बाजेको नाम लगायतका व्यक्तिगत विवरण देखि औंलाको छाप, आँखाको नानी, परिचय नम्बर, फोटो, राष्ट्रियता, हस्ताक्षर लगायत समावेश गरिन्छ ।राष्ट्रिय परिचय–पत्र फर्ममा विवरण दर्ता भएका, १६ वर्ष उमेर पुगेका र नागरिकताको प्रमाण–पत्र लिएका व्यक्तिलाई राष्ट्रिय परिचय–पत्र वितरण गर्ने सरकारको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै