• वि.सं २०८० असोज १२ शुक्रबार
  • Friday, 29 September, 2023
  • युनिकोड
  • Live
Dark

भन्सारमा यसरी चल्छ एजेन्टको ‘सेटिङ’

विराटनगर ।  विराटनगर महानगरपालिका–१२ रोडशेष चोकबाट प्रहरीले वैशाख ११ गते साँझ ६:३० बजेतिर एउटा भारतीय नम्बर प्लेटको ट्याक्टर नियन्त्रणमा लियो। 

बीआर ३८ सी २८९१ नम्बरको ट्याक्टर ‘फुड सप्लिमेन्ट’का सामग्री लोड गरेर गन्तव्यतिर लाग्दै थियो। राजस्व छलीको सामग्री लिएर गन्तव्यतिर हिँडेको सूचनाका आधारमा चालक भारतीय नागरिक विनोद यादवसहित ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यसको केहीबेरमै अर्थात् साँझ ७ बजेतिर विराटनगर–१६ रानीबाट प्रहरीले अर्को बीआर ३८ जे ८४५४ नम्बरको ट्याक्टर नियन्त्रणमा लियो। हवनमा प्रयोग हुने भनेर उल्लेख गरिएका सातवटा व्यावसायिक फार्मको सामग्रीले भरिएको ट्याक्टरसहित चालक भारतीय नागरिक पप्पु यादव पक्राउ परे। हवनमा प्रयोग हुने सामग्रीका नाममा अरू नै वस्तु र प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा बढी सामान आयात गरिएको सूचना प्रहरीमा थियो। 

विराटनगर भन्सार कार्यालयबाट जाँचपासको प्रक्रिया पूरा गरेर सामानको परिणाम उल्लेख गरिएको प्रज्ञापनपत्रसहित गन्तव्यतिर बढेका दुवै ट्याक्टर प्रहरीको निसानामा परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए।

उनका अनुसार प्रज्ञापनपत्रमा उल्लेख भएअनुसार सामानको परिणाम ठीक रहेको प्रमाणित गर्दै दुवै ट्याक्टरलाई भन्सारले गेट पाससहित गन्तव्यमा पुग्ने अनुमति दिएको थियो। एकै दिन फरकफरक स्थान र समयमा नियन्त्रणमा लिइएका ट्याक्टरलाई प्रहरीले कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझायो। 

राजस्वले अनुसन्धान थाल्दा प्रज्ञापनपत्रमा उल्लेख भएको भन्दा बढी परिणामको सामान र अरू नै सामग्री राखेर ल्याइएको पुष्टि भएको छ। प्रज्ञापनपत्रमा उल्लेख नै नभएका र तोकिएको परिणामभन्दा बढी सामान ट्याक्टरमा भेटिएपछि राजस्व छली एवं तस्करीमा विराटनगर भन्सार कार्यालयका कर्मचारी, एजेन्ट र एजेन्टका प्रतिनिधिबीचको खतरनाक ‘सेटिङ’ बाहिरिएको छ। एउटै बिलबिजकमा दोहोरो मालवस्तु भिœयाउने र सामानको न्यून मूल्यांकन गर्ने गरिएको पनि फेला परेको छ। 

प्रक्रिया पूरा गरेजस्तै देखाएर सहमति र मिलेमतोमा सामानको तस्करी गर्दै राजस्व छलेर राज्यलाई नोक्सानी पुर्‍याउने धन्दा चलिरहेको पाइएको राजस्व कार्यालय इटहरीका प्रमुख दीपक खड्काले बताए। उनका अनुसार हवनको सामान रहेको भनिएको ट्याक्टरमा सिलाइ मेसिन, बिजुलीको स्विच, ट्याक्टरका पार्ट्स, गमलगायत पनि भेटिएको छ। उक्त ट्याक्टरको भन्सार जाँचपास एजेन्ट चेतनाथ पौडेलले गराएका हुन्। 

शारीरिक क्षमता बढाउन प्रयोग गरिने ‘फुड सप्लिमेन्ट’का सामग्री रहेको ट्याक्टरमा  एडिसिभ सोलुसन, हेड बोर्न, सिपिभिस वेललर्ड, एडिसी सोलुसन, हिड बोन्डलगायतका १० वटा ‘आइटम’ मात्रै प्रज्ञापनपत्रमा उल्लेख रहेको राजस्व प्रमुख खड्काले बताए। तर ट्याक्टरमा भने सामानका १४ ‘आइटम’ भेटिएको उनको भनाइ छ। 

प्रज्ञापनपत्रमा उल्लेख नै नभएका योग प्रो प्रोटिन पावर, करोटेन प्लस प्रोटिन पावर, केबीक्यू ट्याब्लेट फुड सप्लिमेन्ट र कडिवोन ट्याब्लेट फुड सम्लिमेन्टसमेतका सामान पनि ट्याक्टरमा फेला परेको जानकारी खड्काले दिए। उनका अनुसार मारुती ट्रेड कन्सर्न विराटनगरको सामान रहेको उक्त ट्याक्टरको जाँचपास एजेन्टका प्रतिनिधि अरविन्द ठाकुरले गराएका हुन्। 

भारत तथा तेस्रो मुलुकबाट सामान आयात गर्दा जाँचपासको आवश्यक कागजी प्रक्रिया पूरा गरेको देखाएर सहमतिमा निर्वाध रूपले तस्करी धन्दा चलाउने गरिएको राजस्व स्रोतले बतायो। स्रोतका अनुसार बढी सामान फेला परेपछि आफ्ना कमजोरी ढाकछोप गर्न भन्सारका कर्मचारी तथा एजेन्ट सक्रिय भएर लागेका छन्। 

आयात भएका मालवस्तुको विवरण यकिन गरेर एजेन्ट वा उसका प्रतिनिधिले पेस गरेपछि जाँचपास गराएर भन्सारले तोकेको जाँचकी र अधिकृतस्तरका कर्मचारीले सामान ठीक भएमा कागजी प्रक्रिया पूरा गरेर गन्तव्यसम्म लैजानलाई अनुमति दिन्छन्। तर राजस्वले अवैध धन्दामा संलग्न भन्सारका कर्मचारी र एजेन्टमाथि कारबाही र अनुसन्धानको कुनै प्रक्रिया अघि बढाइएको छैन। यति गम्भीर तथा अवैध धन्दालाई लुकाएर मिलिभगत गरी ‘गुपचुप’ पार्दै उन्मुक्ति दिने चलखेलमा राजस्व प्रमुख खड्का आफैं लागेको स्रोतले बतायो। 

खड्काले दुवै चालकलाई छाडिदिइसकेका छन्। ‘हामीले दुई पटक लग्दा पनि अदालतले म्याद दिन मिलेन भनेर फर्काइदिएपछि चालकलाई हिरासतमा राख्न सकेनौँ,’ उनले भने, ‘कानुनअनुसार नै चालकलाई तारेखमा छाडेर आधार तथा प्रमाणका आधारमा कारबाही गर्न प्रक्रिया अघि बढाइएको छ।’  

अनुसन्धानका सबै प्रक्रिया सकिएपछि भन्सारका कर्मचारी तथा एजेन्टविरुद्ध विभागीय कारबाही र बिगोअनुसार मुद्दा दायर हुने खड्काले बताए।  आजको अन्नपुर्णमा खबर छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै