
काठमाडौं । कोभिड–१९ संक्रमितको संख्या दिनहुँ उच्च हुँदै गएपछि अक्सिजन अभाव हुन सक्ने आँकलन धेरैको छ । तर, सरकारले संक्रमितका लागि अक्सिजन अभाव हुन नदिने प्रतिबद्धता जनाएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल अक्सिजन अभाव नहुने निष्कर्ष निकालेको छ ।
अक्सिजन चाहिने संक्रमितको संख्या बढेकाले अभाव हुने त्रास सर्वसाधारणमा बढ्दै जाँदा उद्योगहरुले पनि नेपालमै उत्पादन भइरहेको अक्सिजन ग्यासले अहिलेको मागलाई धान्न सक्ने बताएका छन् ।
अहिले कति उत्पादन र खपत हुन्छ अक्सिजन ?
नेपाल अक्सिजन उत्पादक संघका अनुसार अहिले देशभर २० वटा अक्सिजन प्लान्ट सञ्चालनमा छन् । काठमाडौं उपत्यकामा मात्रै आठवटा प्लान्ट सञ्चालित छन् ।
नेपालमा उत्पादन हुने अक्सिजनमध्ये ३० देखि ४० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गरेको संघको तथ्यांक छ । एउटा प्लान्टबाट दैनिक ५०० वटा ४७ लिटर क्षमताका सिलिन्डरमा ग्यास भर्न सकिने जनाइएको छ ।
काठमाडौंमा केही सरकारी र अधिकांश निजी अस्पतालहरुले आफ्नै प्लान्टमार्फत अक्सिजनको व्यवस्था गरिरहेका छन् ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भएको अक्सिजन प्लान्टले अहिले दैनिक ६० जनाको हाराहारीमा कोभिड–१९ संक्रमितलाई अक्सिजन पुगिरहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।
कोभिड संक्रमित बढ्दै गएपछि आफ्नै अक्सिजन प्लान्ट भएको वीर अस्पतालमा प्लान्ट चुस्त बनाउन मर्मतको काम भइरहेको छ ।“एक–दुई दिनमै प्लानटबाट अक्सिजन सप्लाइ गर्न तयार हुन्छ, हामी मर्मतमा जुटेका छौँ,” अस्पतालका कोभिड युनिट संयोजक डा. अच्युत कार्कीले बाह्रखरीसँग भने ।
त्यस्तै, महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भएको अक्सिजन प्लान्ट सञ्चालनका लागि पनि मर्मतको काम भइरहेको अस्पताल प्रशासनले जनाएको छ ।
नेपालका निम्न अस्पतालहरुमा आफ्नै अक्सिजन प्लान्ट रहेका छन् ।
१. बी एन्ड सी हस्पिटल, झापा
२. न्युरो कार्डियो एन्ड मल्टिस्पेससियालिटी हस्पिटल, मोरङ
३. धनकुटा हस्पिटल, धनकुटा
४. नोबेल अस्पताल, विराटनगर
५. नेसनल मेडिकल कलेज, काठमाडौं
६. सिभिल हस्पिटल, काठमाडौं
७. परोपकार प्रसूतिगृह, काठमाडौं
८. भरतपुर अस्पताल, चितवन
९. वीरेन्द्र सैनिक अस्पताल, काठमाडौं
१०. त्रिशूली अस्पताल, नुवाकोट
११. धादिङ अस्पताल, धादिङ
१२. त्रिवि शिक्षण अस्पताल, काठमाडौं
१३. चितवन मेडिकल कलेज, चितवन
१४. धुलिखेल अस्पताल, काठमाडौं
१५. अल्का अस्पताल, ललितपुर
१६. धौलागिरि अस्पताल, बागलुङ
१७. मणिपाल अस्पताल, कास्की
१८. गण्डकी मेडिकल कलेज, कास्की
१९. फेवासिटी अस्पताल, कास्की
२०. फिस्टेल हस्पिटल, कास्की
२१. नेपालगन्ज मेडिकल कलेज, बाँके
२२. लुम्बिनी मेडिकल कलेज, पाल्पा
२३. युनिभर्सल मेडिकल कलेज, कपिलवस्तु
२४. कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
२५. डडेल्धुरा अस्पताल, डडेल्धुरा
२६. सेती प्रादेशिक अस्पताल, कैलाली
२८. महाकाली अस्पताल, कञ्चनपुर
तत्काल अक्सिजन सर्टेज हुँदैन ः व्यवसायी
कोभिड अस्पतालहरुमा अहिले दैनिक अक्सिजनको माग साबिकभन्दा दोब्बरले बढेको छ । बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित शंकर अक्सिजन ग्यास प्रालिका सञ्चालक शंकरलाल अग्रवाल भन्छन्, “अक्सिजनको माग कोभिड अस्पतालहरुमा दोब्बर नै बढेको छ । तर, अन्य अस्पतालमा भने घटेको छ । हामीले एउटै सप्लायर्सबाट दैनिक ४०० को हाराहारीमा अक्सिजन सिलिन्डर सप्लाइ गरिरहेका छौँ । अस्पतालहरुमा पठाउने अक्सिजन ग्यासको सिलिन्डर रोटेसन भइरहेको हुन्छ । बढीमा दुई घण्टामा खाली सिलिन्डर उद्योगमा आइपुगे पनि एउटा ग्यास प्लान्टबाट ३० देखि ४० वटा सिलिन्डर भर्न सकिन्छ । यो हिसाबले अहिले नै अक्सिजन सर्टेज हुने अवस्था त छैन । बाहिर हल्ला आएजस्तो अक्सिजन अभाव भएको छैन ।अहिलेको मागलाई हामीसँग भएको स्रोत–साधनले धान्न सकिन्छ ।”
अग्रवालका अनुसार अहिले घरमा सिलिन्डर जोहो गर्न लिन आउनेको संख्या धेरै छ । तर, काठमाडौं उपत्यकाको हकमा जुनसुकै बेला सप्लाइ गर्न सकिने भएकाले आत्तिएर घरमा अक्सिजन भन्डारण गर्नुपर्ने अवस्था नरहेको अग्रवाल बताउँछन् ।
“हामी चौबीसै घण्टा अक्सिजन दिन तयारी अवस्थामा छौँ । आवश्यक परे थोरै धरौटी राखेर घरमै सिलिन्डर लैजान पनि दिन्छौँ । तर, प्यानिक भएर अनावश्यक भन्डारण गर्नुपर्ने अवस्था भने छैन,” अग्रवाल थप्छन् ।
अक्सिजन सहजताका लागि सरकारका प्रयास के–के छन् ?
कोभिड–१९ संक्रमण बढेसँगै संक्रमितहरुलाई अक्सिजन अभाव हुन नदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन खपत हुने उद्योगहरु केही समय बन्द गर्न उद्योगहरुलाई अनुरोध गर्दै आएको छ । त्यस्ता उद्योगहरु तत्कालका लागि बन्द गर्न मन्त्रालयले सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई लिखित रुपमा समेत आग्रह गरेको थियो ।
ग्यास पर्याप्त उत्पादन भए पनि सिलिन्डर अभाव हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै सिलिन्डर उत्पादक मुलुकहरुबाट सिलिन्डर ल्याउन कूटनीतिक प्रयास भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बताए ।
अहिले भएका प्लान्टलाई पूर्ण क्षमतामा चलाएको अवस्थामा अस्पतालमा अक्सिजन अभाव नहुने संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नाले बताए ।
अक्सिजन सिलिन्डरको अभाव हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै ५० हजार सिलिन्डर ल्याउने निर्णय भएको र त्यसमध्ये तत्काल ‘फास्ट ट्रयाक’ विधिबाट २० हजार सिलिन्डर ल्याउने मन्त्रिपरिषद्ले निर्णय गरेको पनि मन्त्री ठगुन्नाले जानकारी दिए । यसका लागि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइसकिएको उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- वालिङ नगरपालिका र नगर विकास कोषबीच वाालिङ बसपार्क निर्माण गर्न ऋण तथा अनुदान सम्झौता
- एनसेलद्वारा ‘पर्पल किकअफ’ मैत्रिपूर्ण फुटबल खेल आयोजना
- पर्यटनको ‘पिक सिजन’ सुरु हुन लाग्दा होटलको प्री बुकिङ ५० प्रतिशत मात्रै
- जुम्ला विमानस्थल विस्तार गर्न ४ करोडभन्दा बढी बजेट स्वीकृत
- सिटिजन्स बैंक र सूर्या हेल्थ केयरबीच समझदारी, उपचारमा १५ प्रतिशतसम्म छुट
- पूर्व राष्ट्रपति डा. यादव र भण्डारीले खाली खुट्टै पूजाअर्चना गरेः हालका राष्ट्रपति पौडेलले चप्पल लगाएर
- २०७९ को पद्मश्री साहित्य पुरस्कार ‘मनु’ उपन्यासलाई र साधना सम्मान वात्स्यायनलाई
- बर्दिबासमा मधेशकै सबैभन्दा ठूलो ताल बन्दैः चुरे संरक्षणमा स्थानीय सरकार संवेदनशील