Dark

शारीरिकरूपमा होची तर अग्लो आत्मविश्वासकी धनी ‘गीता दिदी’को गर्व गर्नलायक संघर्षको कथा

काठमाडौँ । मान्छेले न आफूले चाहजसरी जन्मिन पाउँछ, न आफूले सोचेजस्तो जीवन बाँच्न पाउँछ। हरेक मान्छेले आफ्नै भाग्यले निर्धारण गरेको जीवन बाँच्नुपर्छ। भाग्यले त्यस्तै कठिन जिवन दिएकी उनले कठिन जीवनलाई पनि गर्व गर्न लायकको बनाइन् र सबैको प्रेरणाको स्रोत बनिन् । उनी अर्थात गीता भुसाल।

गीताको जन्म स्याङ्जामा भएको हो। उनी करिब एक फुटकी मात्रै छिन्। जबकि एउटा सग्लो मान्छेको हात नै एक फुट भन्दा बढी लामो हुन्छ। उनी शारीरिकरूपमा जति होची छिन्– उनको आत्मविश्वास त्यति नै अग्लो छ। सामान्य मानिसको तुलनामा उनी एकदमै फरक छिन् शारीरिकरूपमा।

उनीसँग खुट्टा जस्तो देखिने खुट्टा भएपनि कम्मरको सहारामा लत्रिँदै हिँड्नुपर्ने बाध्यता रहेको छ। उनीसँग हातजस्तो देखिने हात भएपनि, हातले धेरै काम दिँदैन। गीताको त्यही हात पनि दुई पटक भाचिए तरपनि उनले हस्तकलाका सामग्री बनाउन भने छाडेकी छैनन्। 
 

शेषमतीस्थित अपांग सेवा केन्द्रमा रहेकी स्याङ्जा पीडिखोलाकी २७ वर्षीया गिता बिहान ९ बजे अपांग सेवा केन्द्रबाट निस्किएर साँझ ६ बजेतिर फर्किन्छिन्।

उनि दिनभरि स्वयम्भूनाथ स्तुपा आसपास हस्तकलाका सामग्री बेच्छिन्। ग्राहक कुर्दाकुर्दै दिक्क लाग्यो भने युट्युब खोलेर हस्तकलाका सामग्री बनाउन सिकाउने भिडियो हेरेर बस्छिन्। भोक लाग्यो भने आफैले ल्याएको रारा चाउचाउ खान्छिन् गीताको दिनचर्या यसरीनै चलेको २ बर्ष भयो।  

स्वयम्भु स्तुपामा उनीजस्तै व्यापार गर्नेहरू अरु पनि  धेरै छन्। तर, उनी अरुभन्दा फरक भएकोले   उनी टिकटकमा पनि भाइरल छिन्। उनलाई ‘भाइरल दिदी’ भनेर सम्बोधन गर्छन् स्वयम्भु दर्शनार्थीहरूले।

उनसँग फोटो खिच्न, टिकटकमा भिडियो बनाउनेको संख्या पनि निकै बाक्लो छ। फोटो खिच्न आउनेहरूले ‘कति राम्री हो नि तपाई’ भन्दा उनी फुरुंग हुन्छिन्।

‘मान्छेहरू आएर, तारिफ गर्दै हामीले गर्न नसक्ने सीप रहेछ भन्छन् सामान किन्छन्। यसरी आफ्नो सिप र पसनिाको कमाइ खान पाएकोमा उनलाई खुसी लाग्छ। त्यसमाथि उनलाई स्वयम्भूको बसाइ साथीभाइ र परिचित मान्छेसँगको भेटघाटजस्तो लाग्छ। उनलाई साँझ कोठमा पर्किन पनि मन लाग्दैन। गीता भन्छिन्, ‘यस्तै गरी दिन बित्छ साँझ कोठा फर्केपछि फेरि एक्लै हुन्छु।’
गितालाई पढ्न र नाच्न  एकदमै इच्छा रहेको छ। उनलाई डान्सर बन्न मन छ। उनले लुरी नामक अपाङंगतासँग सम्बन्धित टेलिफिल्म खेलिसकेकी छिन्।

उनि शारीरीक रुपमा असक्त भएपनि कहिल्यै कसैले हेला गरेको भने छैन। उनी भन्छिन्, ‘सबैले माया गर्नुहुन्छ।’ उनलाई काम गर्दा पीडा हुन्छ। उनी सोच्छिन् पछिसम्म कसरी चल्छ?

१५ वर्षको हुँदा उनलाई  गाउँको दाइ प्रेम भुसालले तिलगंगाको एउटा सेवा केन्द्रमा ल्याएर राखेका रहेछन्।

‘गाउँमा हुँदा उनको जीवन मरेसरहै थियो। उनलाई गाँउमा भन्दा काठमाडौँ बस्न नै मन पर्छ। गाउँले र घरकै मानिसले तिरस्कृत गरेका थिए। घरकाले पनि ‘चाँडै मरे हुन्थ्यो’ भनेपछि गाउँको दाइले तिलगंगाको सेवा केन्द्रमा राखिदिनुभयो,’ उनले काठमाडौँ आउनुको कारण सुनाइन्।

त्यतिबेला नलाई नै राम्रो होला भनेर आमाले काठमाडौँ पठाएको बताउँछिन्। यति भनिरहँदा उनका आँखा रसाए र अनुहार भिज्यो। भिजेको अनुहार छुँदै गीताले भनिन्, ‘त्यसपछि जीवन कता–कता मोडियो।’

........

उनले आफ्नो विगत सुनाइन्
उनको जीवनमा ‘ज्योति’ बनेर त्यही बेलै आइन् ज्योति मगर। ज्योतिकै सहारामा गीताले पढ्न पाइन्। ‘कक्षा ४ देखि १० सम्म ज्योति दिदीले सहारा दिइन्,’ उनले भनिन्।
 


पुनःस्थापना केन्द्रमा आएपछि नै पढ्न थालेकी हुन् उनले। ‘पुनःस्थापना केन्द्रमा आएपछि केही समय सरसँग कोठामा पढेँ। त्यसपछि सिधै कक्षा ४ मा भर्ना भएँ,’ उनले भनिन्।

त्यसकारण ज्योतिलाई कहिल्यै भुल्न नसक्ने बताउँछिन् उनी। ज्योतिले गीताले गर्न नसक्ने सबै काम गरिदिन्थिन्। गीताको प्रिय साथी बनिन् ज्योति।

‘ज्योति दिदीले त्यो बेला साथ नदिएको भए मेरो ज्यानै तल–माथि हुन सक्थ्यो,’ उनी भन्छिन्।

गीताले २०७४ सालमा एसइईमा ‘सी प्लस’ ल्याइन्। ‘त्यसपछि मेरो जीवन परिर्वतन भयो,’ उनले भनिन्।

पुनःस्थापना केन्द्रमा उनी कक्षा १० उत्तीर्ण नहुँदासम्म बस्न पाउने सर्त थियो। यो सर्त हरेक विद्यार्थीमा लागू हुन्थ्यो, भयो। गीताले बसिरहेको ठाउँ छाड्नुपर्ने भयो।

त्यसपछि उनी साथीको डेरामा बस्न थालिन्। तर, उनीसँग सधैँ कोठाभाडा तिर्नका लागि पैसा थिएन।

‘स्कुलमा नाचेर, गीत गाएर केही पैसा जम्मा गरेको थिएँ,’ उनले सुनाइन्, ‘त्यही पैसाले एक महिनाको भाडा तिरेँ।’

त्यसपछि गीतालाई पैसाको समस्या पर्यो। उनले चिनेजानेकालाई काम खोजिदिन अनुरोध गरिन्। र, फ्याक्ट्रीमा माला सिलाउने मेसिन चलाउने काम पाइन्। तर, हातले साथ दिएन। काम गर्ने क्रममा फेरि हात भाँचियो।

त्यसपछि काम गरेको दुई दिनमै फ्याक्ट्रीबाट निकालिइन् उनी। ‘त्यसपछि काठमाडौँ सधैँको लागि छोड्ने निर्णय गरेँ,’ उनले भनिन्।

र, उनी गाउँ फर्किइन्। गाउँमा बस्न थालेपछि उनी सबैको वाहवाही पाउन थालिन्। कारण–एसइई।

‘अपांग भएर पनि पढ्न सकेको भन्दै गाउँलेहरू प्रशंसा गर्थे,’ उनले सुनाइन्, ‘अपांग भएकालाई हेप्न हुँदैन भन्ने गाउँलेमा चेत पलाएको थियो।’ गाउँलेमा चेत पलाएको देखेर गीता खुसी थिइन्। उनकी आमाले पनि अब उनलाई गाउँमै बस्न कर गरिन्। तर, उनी मानिनन्। र, भनिन्, ‘ऊ बेला मार्दिनु भएन। अब आफ्नै तरिकाले बाँच्न दिनुस्।’

गीताको कुराले उनकी आमा रोइन्। त्यसपछि गीताले आमालाई सम्झाइन्। ‘म बाँच्न सक्छु आफ्नै पौरखले,’ उनले भनिन्। तर, त्यतिन्जेलसम्म गीताले कुनै सीप सिकेकी थिइनन्। उनीसँग केवल आँट थियो। साथीहरूले एक संस्थामा जागिर मिलाइदिएपछि उनी एक्लै काठमाडौँ फर्किइन्।

............

‘मैले केही साथीहरूलाई राम्रो संस्थामा काम खोजिदिन आग्रह गरेकी थिएँ। उनीहरूले एक संस्थामा काम खोजिदिए,’ उनले भनिन्, ‘गाउँ बसेको चार महिनामा अपांग सेवा केन्द्रबाट फोन आयो।’

उनी काठमाडौँ फर्केको पनि तीन वर्ष भयो। अहिले उनी हस्तकलाका सामान बनाउन सक्ने भएकी छन्। ‘अहिले हातमा सिप छ। कसैसँग माग्नुपर्दैन,’ उनले खुसी प्रकट गरिन्।

त्यति मात्रै होइन, उनीसँग आत्मनिर्भर हुन सक्ने आँट पनि छ। ‘गर्नु परे नाङ्लोमा सामान बेचेर जीवन निर्वाह गर्न पनि सक्छु,’ उनी भन्छिन्।

उनी काममा सपांगभन्दा कम छैनन्। ‘सपांगहरू काम गर्दा हात–आँखा दुख्यो भन्छन्। तर, मलाई त्यस्तो छैन,’ उनी भन्छिन्।

काठमाडौँ आएर तिलगंगाको संस्थामा ६ महिना बसेँ। त्यसपछि संस्थाको हाकिमका मान्छे यहाँ बस्न आएर, मलाई निकालिदिए।’ उनी त्यो संस्थाको नाम खोल्न चाहँदिनन्। ‘मलाई निकाले पनि म ‘संस्थाले बदनाम गर्न चाहँदिनँ,’ उनी भन्छिन, ‘आ–आफ्नो भाग–भोग हो।’


तिलगंगाको संस्थाबाट निकालिएपछि उनी सडकमा भौतारिँदै  एक हप्ता बिताउनुपरेको थियो। उनले सुनाइन्, ‘कतै जाऊँ भने कसैलाई चिनेको थिएन। खल्तीमा जम्मा १५ रूपैयाँ मात्रै थियो। खानेकुरा किनेर खानलाई पनि पैसा थिएन र बटुवाले दिएको खानेकुरा खाएर बसेँ।’

त्यति बेला त ‘अब बाँचेर काम छैन’ भन्ने सोच मनमा आयो।

‘बाटोमा बस्दा गाडीमुनि पसौँजस्तो लाग्थ्यो।  तर मरिएन र झन् अपांग भइयो भने के गर्नु भन्ने ठानेर मर्ने आँट पनि गर्न सकिनन्।

त्यसपछि उनले विष सेवन गर्ने योजना बनाएर, बाटोमा हिँडिरहेकी ८ वर्षीया बालिकालाई बोलाएर विष किन्न पठाइन्। ‘त्यति बेला खल्तीमा १५ रूपैयाँ थियो। त्यही दिएर बालिकालाई पठाएँ तर, पसलेले दिएनछन्।’

त्यो घटना सम्झिँदा उनलाई अहिले पनि एकदमै हाँसो उठ्छ। ‘अहिले पो थाहा भयो  साना बच्चालाई विष दिँदैनन् भन्ने कुरा।’
विष खान खोजेको थाहा पाएर एउटी महिलाले जोरपाटी अपांग पुनःस्थापना केन्द्रमा राखिदिइन् उनलाई।

उनी हेपिएकी कारण  सडकमा बेवारिसे भएर बस्दा पनि गाउँ जान मन फिटिक्कै लागेन। आमालाई भने धेरै सम्झिरहन्थिन्।

तीन भाइ र एक बहिनीको अनुहारसम्म पनि याद गर्न चाहन्नथिन्। ‘गाउँमा छँदा भाइले धेरै हेला गर्थे।,’ उनी भन्छिन्, ‘अरुले त भने भने आफ्नै बाले पनि आमालाई यस्ता सन्तानलाई के पाल्छेस् भन्नुहुन्थ्यो।’
 

परिवारबाटै हेपिएपछि आत्मनिर्भर हुने अठोट पलाएपनि, कसरी आत्मनिर्भर हुने भन्नेबारे उनले भेउ पाउन सकेकी थिइनन् उनले।

गाउँमा छँदा उनलाई एकदमै पढ्ने रहर लागे पनि अवसर पाइनन्। तर ‘पुनःस्थापना केन्द्रमा पुगेपछि पढ्ने मौका मिल्यो उनलाई।

अब गीतालाई जीवन एक्लै बिताउनु पर्ने हो कि भन्ने चिन्ता छ। ‘जीवन कटाउन एउटा साथी नि चाहिने हो हुन त। तर, बिहे गर्ने कल्ले? उनले भनिन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै