.jpg)
तनहुँको शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगमा फोहर भेटिएको छ।
जिल्ला प्रशासन कार्यालय तनहुँले गरेको अनुगमनका क्रममा यहाँ सञ्चालित उद्योगले सरसफाइको मापदण्ड पूरा नगरेको भेटिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालको नेतृत्वमा गरिएको अनुगमनका क्रममा चार उद्योग फोहर रहेको भेटिएको छ।
उपभोक्ताको गुनासो आएपछि शुक्लागण्डकी नगरपालिकास्थित बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गर्दा सबैले मापदण्ड पूरा नगरेको भेटिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
बेलचौताराका कृष्ण पाउरोटी, खैरेनीटारको सूर्य पाउरोटी, आयसा अरमान पाउरोटी र प्रीति बेकरी उद्योगले सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा नगरेको अनुगमनबाट भेटिएको छ। ‘एकातर्फ उद्योग सञ्चालनका निम्ति आवश्यक प्रक्रिया पूरा नगरी उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटियो,’ उनले भने, ‘न उद्योगमा उत्पादित वस्तुको लेबलिङ छ, न त सरसफाइ नै।’
अनुगमनका क्रममा उद्योग वरपर झिंगा भन्किरहेको थियो भने एक दिन पछाडिको उत्पादन मिति राखेर बजार पठाउन प्याकिङ गरिएको भेटिएको थियो। यी उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि तीनका सञ्चालकलाई पत्रमार्फत स्थानीय प्रशासन कार्यालयमा उपस्थित हुन बोलाइएको छ।
‘अधिकांश उद्योगमा फोहर छन्, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिएको र व्यवस्थित तरिकाले नचलाएको पाइयो,’ सहायक प्रजिअ बरालले भने, ‘उनीहरुलाई नियमानुसार कानूनी कारवाही गछौँ।’ उद्योग सञ्चालकलाई खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन र नियमावलीअनुसार कारवाही हुने उनले जानकारी दिए।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक महिना बजार अनुगमन गर्नुपर्ने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचनले बताए। बजार अनुगमनले उद्योगी व्यवसायीलाई अनुशासित बनाउने बताउँदै उनले व्यवसाय गर्दा उपभोक्तको हितलाई पनि ख्याल गर्न सुझाव दिए।
जिल्ला प्रशासन कार्यालयले एक दिन अगाडि मात्रै व्यासनगरपालिका–२ मालेगबरमा सञ्चालित न्यू झलक दालमोठ उद्योग बन्द गराएको छ। उद्योगले दालमोठ, सिन्थेटिक ड्रिंक, अन्य उत्पादकको मिठाई आफैंले प्याक गरेको भेटिएको थियो। उक्त उद्योगमा सामान खरिदको बिलसमेत भेटिएको थिएन भने उद्योगले अनुज्ञापत्र लिएको थिएन।
अनुगमन पश्चात् उद्योगका सञ्चालक वीरेन्द्रकुमार श्रेष्ठसमेतको सहमतिमा हाल उत्पादन बन्द गरिएको छ भने उत्पादन भइसकेको वस्तुको उत्पादक स्वयंमले गुणस्तर परीक्षण गराउने सहमति भएको छ । उद्योगलाई १५ दिनभित्र सम्पूर्ण कानूनी प्रक्रिया पूरा गराउन निर्देशन दिइएको छ।
बन्द क्रसरबाट चोरी
बन्दीपुर गाउँपालिका–६ सराङघाटमा सञ्चालित नमूना ग्रिड एण्ड क्रसर उद्योग अवैध भएको भन्दै जिल्ला प्रशासन कार्यालयले बन्द गराएको उद्योग हो। प्रशासनले क्रसर बन्द गराएको महिनौं भयो । तर, त्यहाँबाट अवैधरुपमा ढुङ्गा गिटी बालुवा ओसारपसार निरन्तर भइरहन्छ।
सोमबार पनि उद्योगबाट ढुंगा, गिटी, बालुवा ओसारपोसार हुँदै थियो। सुराकी पाएपछि प्रहरी पुगेर ओसारपसारमा संग्लन रहेका सात टिपर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता प्रहरी नायव उपरीक्षक युवराज तिम्लिसिनाले जानकारी दिए। उनका अनुसार ग १ क ४३०७, ग १ क ४३३०, ग १ ख ७९९७, ग १ ख ९२५३, ग १ क ४१७६, ग १ ख ७८४७ र ग १ क ४२८२ नम्बरका टिपर नियन्त्रणमा लिइएको हो।
व्यासनगरपालिका–१३ सुडेबाट दमौलीतर्फ आउँदै गरेका टिपर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। प्रहरीले नियन्त्रणमा लिएको टिपर कारबाहीका लागि बन्दीपुर गाउँपालिकाको कार्यालयमा पठाइएकामा गाउँपालिकाले ती टिपरबाट रु ५२ हजार जरिवाना असुलेको छ।
प्रशासनले बन्द गराएको उक्त क्रसर उद्योग सिल भने गरिएको छैन। तसर्थ बेलाबखतमा उद्योगबाट बालुवा, ढुंगा, गिटी ओसारपसार हुँदै आइरहेको छ। ‘क्रसर बन्द गराइएपनि सिल भएको छैन, रातारात माल ओसारपोसार हुनेगरेको सूचना आएको छ’, प्रहरी नायव उपरीक्षक तिम्लिसिनाले भने।
सर्वसाधारणलाई जेब्राक्रसबाट हिँड्न सिकाइँदै
पृथ्वीराजमार्गको तनहुँको दमौली बजारस्थित सडकखण्डमा सोमबार दिउँसो सर्वसाधारण जथाभावी बाटो काटिरहेका थिए। बजार क्षेत्रमा ठाउँ ठाउँमा जेब्राक्रस भएपनि जेब्राक्रस भएको ठाउँभन्दा अन्यत्रैबाट मानिस ओहोरदोहोर गरिरहेका थिए। यत्तिकैमा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक अरुण पौडेल आइपुगे र सर्वसाधारणलाई भन्न थाले, ‘जथाभावी बाटो नकाटिनुहोला दुर्घटना हुन सक्छ, जेब्राक्रसबाट मात्रै बाटो काट्नु है।’
प्रहरी उपरीक्षक पौडेलको आग्रहपछि सर्वसाधारण जेब्राक्रस भएको ठाउँबाट बाटो वारपार गर्न थाले। प्रहरी उपरीक्षक पौडेल, जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख डोलेन्द्र हमाललगायत प्रहरीले एक घण्टाभन्दा बढी सडकमै उभिएर जेब्राक्रसबाट बाटो वारपार गर्न सर्वसाधारणलाई सिकाउन थाले।
जेब्राक्रस भएका ठाउँबाट बाटो नकाटी जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेपछि जिल्ला प्रहरी कार्यालय तनहुँले सर्वसाधारणलाई जेब्राक्रसबाट बाटो काट्न सिकाउन शुरु गरेको छ। ‘सर्वसाधारणलाई सचेत गराउनका लागि यो अभियान शुरु गरेका हौँ,’ प्रहरी उपरीक्षक पौडेलले भने, ‘कतिपयलाई यो विषय थाहा नहुँन पनि सक्छ।’
शहरी क्षेत्रमा पैदलयात्रीको सङ्ख्या बढी हुने र व्यवस्थित आवतजावत नहुँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले एक हप्तासम्म सर्वसाधारणलाई सचेत गराइने पौडेलले जानकारी दिए। ‘दिनको दुई घण्टाभन्दा बढी यो अभियान सञ्चालन हुन्छ, यसले गर्दा बाटो काट्ने महानुभावलाई मात्रै होइन अन्य सबैलाई पनि जेब्राक्रसबाट मात्र बाटो काट्नुपर्छ भन्ने चेतना अभिवृद्धि हुन्छ,’ उनले भने। प्रहरी उपरीक्षक पौडेलका अनुसार यो अभियानका क्रममा जेब्राक्रसबाट सर्वसाधारणले बाटो काट्दा सवारी रोक्नुपर्छ भनेर पनि सवारी चालकलाई सिकाइनेछ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख हमालले दमौलीमा मात्र नभई अन्य शहरी क्षेत्रमा पनि यस अभियानलाई विस्तार गरिने जानकारी दिए। दमौलीमा १२ ठाउँमा जेब्राक्रसको व्यवस्था गरिएको छ भने अन्य स्थानीय तहमा पनि सम्बन्धित पालिकाको सहयोगमा जेब्राक्रसको व्यवस्थापन गर्ने कार्यलाई अगाडि बढाइएको छ।
आरोग्य सेवा केन्द्र सञ्चालन
तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको छ। प्रत्येक स्थानीय तहमा केन्द्र स्थापना गर्ने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँको लक्ष्यअनुसार उक्त वडाको मेलमिलाप केन्द्रमा आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो।
आरोग्य सेवा केन्द्रको उद्घाटन गर्दै आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले केन्द्रबाट आयुर्वेद पद्दतिको उपचार सेवा दिनेमात्र नभई ध्यान, योग र साधनाप्रति सर्वसाधारणलाई आकर्षित गराउनुपर्ने बताए। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले पछिल्लो समय आयुर्वेद सेवाप्रति जनताको विश्वास बढ्दै गएकाले सबैले उक्त सेवा लिनुपर्नेमा जोड दिए।
आधुनिक चिकित्सा प्रणालीभन्दा आयुर्वेदिक चिकित्सा प्रणाली महत्वपूर्ण रहेकाले यसकै महत्व बुझाउन हरेक स्थानीय तहमा आरोग्य केन्द्र स्थापना गरिएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँका अध्यक्ष देवीबहादुर बस्नेतले बताए। सर्वसाधारणलाई आयुर्वेद स्वास्थ्य सेवाका लागि अन्यत्र भौतारिन नपरोस् भन्ने उद्देश्यसहित स्थानीय तहमै आरोग्य स्वास्थ्य केन्द्र स्थापनालाई तीव्रता दिइएको बस्नेतले बताए।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तनहुँले दश वटै स्थानीय तहमा आरोग्य सेवा केन्द्र स्थापनालाई तीव्रता दिएको छ। जिल्लाको घिरिङ, देवघाट र बन्दीपुर गाउँपालिकामा आरोग्य सेवा स्थापना भइसकेको छ।
आयुर्वेद चिकित्सा तथा यसको महत्वबारे बुझाउन केन्द्रको महत्वपूर्ण भूमिका रहने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र प्रमुख डा रामप्रबोध मण्डलले जानकारी दिए। आरोग्य केन्द्रबाट नागरिकलाई निःशुल्करुपमा आधारभूत सेवा प्रदान गरिनेछ। केन्द्रबाट आयुर्वेद सेवा, औषधि वितरण सेवा, ज्येष्ठ नागरिक आरोग्य सेवा, स्तनपायी कार्यक्रम, पूर्वकर्म, पञ्चकर्म, योग, जीवनशैलीलगायत विषयमा निःशुल्क सेवा प्रदान गरिनेछ।
सबै नागरिकलाई स्वस्थ्य बनाउन गाउँ–गाउँमा यस्ता सेवा केन्द्र स्थापना गरिएको डा मण्डलले बताए। ‘यसअघि आयुर्वेदका सेवा नपुगेका स्थानमा आरोग्य सेवा केन्द्र स्थापना गरिएको हो,’ उनले भने, ‘नागरिकलाई रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै राम्रो हो।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न