• वि.सं २०८० असोज ११ बिहीबार
  • Thursday, 28 September, 2023
  • युनिकोड
  • Live
Dark

चितवनमा उद्योग खोल्ने लर्को बढेपछि, कर्मचारीलाई भ्याइनभ्याई

चितवन। घरेलु तथा साना उद्योग कार्यालयमा निकै नै चहलपहल बढेको छ। कर्मचारीलाई उनीहरूको काम गर्न भ्याइनभ्याई रहेको यो कार्यालयका झ्यालहरू दिनभरजसो सेवाग्राहीले छोपिन्छन्।

चैतमा लकडाउनले बन्द भएको कार्यालयमा लकडाउन खुलेपछि घरेलु तथा साना उद्योग कार्यालयबाट सेवा लिनेको चाप बढेको तथ्यांकले देखाउँछ। घरेलु तथा साना उद्योग कार्यालयले ५ लाख रुपैयाँदेखि ५ करोड रुपैयाँसम्म पुँजी भएका उद्योग दर्ता गर्ने गरेको छ। आर्थिक वर्ष २०७७\ ०७८ को साउनदेखि पुस मसान्तसम्म यस कार्यालयमा ८ सय ६५ वटा फर्म दर्ता भएका छन्।

कार्यालयका लेखा अधिकृत नारायणप्रसाद लम्सालका अनुसार सो अवधिमा १ हजार २ सय ६२ जना आफ्नो फर्मको नविकरण गर्न कार्यालय पुगेका थिए त्यसमा ३ सय ८९ ले फर्म संशोधन, १ सय ५८ ले खारेज, ९५ ले प्रतिलिपि र १८ जनाले स्थानान्तरणको काम गरेका छन्।

पुस महिनामा मात्रै यस कार्यालयमा २ सय ६ जनाले उद्योग\व्यापारका लागि फर्म दर्ता गरेका छन्। ती उद्योगहरूको कुल पुँजी ३ अर्ब १ लाख २४ हजार रूपैयाँ छ। 

‘फागुन सकिन लाग्यो हामीले माघ महिनाको सबै विवरण कम्प्युटरमा इन्ट्री गर्न भ्याएका छैनौं,’ लम्सालले भने, ‘कामको चाप असाध्यै बढेको छ, शनिबारसमेत काम गर्दा पनि डाटा इन्ट्री गरेर सकिएको छैन।’ लम्सालका अनुसार सेवाग्राहीको चाप बढ्दै जाँदा पनि यहाँ कर्मचारी र स्रोत साधन भने थपिएका छैनन्। 

‘विगतमा दैनिक २०र३० जना सेवाग्राही आउँदा जति कर्मचारीले सेवा दिन्थे अहिले पनि त्यतिमात्र छन्,’ लम्सालले भने, सीमित जनशक्ति र स्रोत साधनका कारण सेवाग्राहीका काम समयमै हुन सकेको छैन।’

गौतम मैनालीका अनुसार विगतमा नयाँ फर्म दर्ताको काम एकै दिनमा हुने गरेको तर अहिले एक महिनासम्म लाग्ने गरेको छ।

‘वर्षौंदेखि कागजमा मात्र रहेका विवरणहरू कम्प्युटरमा राख्दै आएका छौं, सेवाग्राहीका विवरणहरू सुरक्षित त भएका छन् तर जनशक्तिको कमीले गर्दा हामीमाथि कामको बोझ चर्को परेको छ,’ उनले भने, ‘उपल्लो निकायबाट पछिल्लो विवरणका लागि बारम्बार ताकेता भइराख्दा पनि समयमै बुझाउन सकिएको छैन।’

कार्यालयमा अहिले रहेका १० जना कर्मचारीहरू मध्ये आधा कर्मचारी सेवाग्राहीसँग प्रत्यक्ष जोडिन्छन्। तिनैले कम्प्युटरको काम पनि गर्छन्।

बैंक तथा वित्तीय संस्थाहरूले स्थानीय तहमा दर्ता भएका फर्मलाई ऋण नदिँदा घरेलु तथा साना उद्योग कार्यालयमा कामको चाप बढेको लम्सालले बताए। 
साथै, बैंकले महिला उद्यमीका लागि ब्याजमा सहुलियत दिएका कारण विगतमा पुरूषको नाममा दर्ता भएका फर्महरू महिलाकोमा स्थानान्तरण गर्नेको संख्या पनि बढेर गएको उनले बताए।

‘पाँच लाख रुपैयाँसम्म पुँजी भएका फर्म स्थानीय तहमै दर्ता हुन पाउने व्यवस्था छ तर त्यस्ता फर्मलाई बैंकले ऋण नदिएपछि पुँजी बढाएर हामीकहाँ आउने गरेका छन्,’ लम्सालले भने, ‘यसबाहेक कृषि, पशुपालन, उत्पादनमूलक उद्योग, पर्यटन, सेवा तथा व्यापारमा युवापुस्ताको आकर्षण निकै बढेको पाइयो।’ 

यस कार्यालयमा दर्ता भएका घरेलु तथा साना उद्योग तथा व्यापार प्रतिष्ठानहरूको कुल पुँजी २५ अर्ब ६९ करोड २३ लाख ७५ हजार रूपैयाँभन्दा बढी छ। उद्योग दर्ता गर्दा यस कार्यालयले १२ हजार १०० देखि ३० हजार रूपैयाँसम्म राजश्व लिने गर्छ। 

२० लाख रूपैयाँसम्म पुँजी भएकालाई १२ हजार १००, एक करोडसम्मका लागि २० हजार, ५ करोडसम्मकाबाट ३० हजार रूपैयाँ राजश्व लिने गरेको लेखा अधिकृत लम्सालले बताए। 

दुई\दुई वर्षमा आफ्नो फर्म नवीकरण गर्नुपर्ने र नविकरणका लागि १ हजार ६०० देखि ८ हजार रूपैयाँसम्म राजश्व तोकिएको छ।

यस आर्थिक वर्षको अर्धवार्षिक अवधिमा उक्त कार्यालयले १ करोड ३१ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गरेको उनले बताए। निजी फर्मको तुलनामा साझेदारी फर्म दर्ता हुनेक्रम भने असाध्यै न्यून देखिन्छ। साउनदेखि पुससम्ममा चितवनमा २७ वटामात्र यस्ता नयाँ फर्महरू दर्ता भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै