
मोरङ । गाउँमा जन्मे पनि विदेश गएर कमाउने अनि त्यो पैसाले गाउँ छाडेर सहरमा रमाउनेको ताँती महामारीमा पनि रोकिएको छैन। वैदेशिक रोजगारीमा गएर फर्केकाहरू धेरैले आफ्नै माटो चिन्न सकेका छैनन्। तर, केराबारी मोरङका एक दम्पति भने वैदेशिक रोजगारीमा जानेका लागि उदाहरणीय बनेका छन्।
नारायण राई र उनकी पत्नी खजुम बिना वैदेशिक रोजगारीमा कमाएको पैसाले कृषि उद्यम सञ्चालन गरी उदाहरणीय बनेका हुन्। यी दम्पतीले अहिले अर्गानिक चियाले पाखो बारी नै हराभरा बनाएका छन्।
५ रोपनीबाट चिया खेती थालेका नारायणले यसलाई विस्तार गरी ४ सय रोपनीमा पुर्याएका छन्। उनले भने, ‘२ हजार रोपनीसम्म चिया खेती विस्तार गर्ने योजना बनाएको छु।’
उनी वैदेशिक रोजगारीमा हुँदाहुँदै उनकी श्रीमतीले ५ रोपनी जग्गा किनेर चिया खेती सुरु गरेकी थिइन्।’ सुरुमा उनलाई विदेशमा कमाएको पैसा मजाले सहर बजारमा गतिलो घर बनाएर नबसेर भन्दै गाली गर्नेको ताँतीसमेत लाग्यो। तर, आफ्नो योजनालाई अर्गानिक चिया खेती गरेरै हरियाली बनाउने अठोट लिए। सोही योजनाअनुसार पाखोबारीमा चिया खेती लगाए। उनले सुरु गरेको चिया बगानलाई ‘मातृभूमि टी स्टेट प्रालि’ नाम दिएर दर्ता गराएका छन्।
‘खजुम बिना लिम्बूले भनिन्, ‘सुरु-सुरुमा कृषि कार्यालयका कर्मचारीसमेतले तराईका जिल्लामा चिया खेती गर्दा बालुवामा पानी लगाउनुजस्तै हो भन्थे। यसको खेती नगर्न सल्लाह दिन्थे।’
उनीहरुले दैनिक ४० जनालाई रोजगारीसमेत दिइरहेका छन्। हावापानीसँगै लहलहै मौलाउँदै गरेको चिया बोटलाई उनीहरूले आफ्नो सपना बनाएका छन्।आफूहरूले सुरु गरेको चिया खेती जिल्लाको अन्य छिमेकी गाविसमा पनि विस्तार हुन थालेपछि झनै हौसिएका छन्।
अर्गानिक चियाको जापान, चीन, जर्मन, मलेसिया, इन्डोनेसिया, बेलायत, कोरिया अस्ट्रेलियादेखि दक्षिण अफ्रिका र अमेरिकासम्म बजार छ। पछिल्लो समय डलरमा किनबेच हुन थालेको छ।
नारायण दम्पती चिया बगानमा आफैं खट्छन्। चियाको पत्ती टिप्ने, रोप्ने र गोडमेल गर्ने बेला गाउँलेलाई रोजगारी दिन्छन्। गाईको गोबर, मूत्र र गन्धकको मिश्रणबाट प्राकृतिक मल तयार गरी वनस्पतिमा लगाउने गरेका छन्। उनीहरूको चिया बगान मात्रै होइन, गाई, बाख्रा, लोकल कुखुरासमेत पालेका छन्।
उनीहरूले २०५६ देखि कृषि उद्यम सुरु गरेका हुन्। पछिल्लो समय राई दम्पतीले किबी खेतीसमेत गर्न थालेका छन्। ६ रोपनीबाट सुरु गरेको किबी खेती ५० रोपनीसम्म पुर्याउने लक्ष्यअनुसार राखिएको नारायण सुनाउँछन्।
अर्गानिक होमस्टे
नारायणकै पहलमा सामुदायिक होमस्टेसमेत खोलिएको छ। होमस्टेमा बस्नेले छानीछानी लोकल कुखुरा, खसी–बोकाको मासु खान पाउँछन्,’ खजुम बिनाले भनिन्, ‘हामी किबी, गुराँस, आरुलगायत ५ प्रजातिका वाइन खुवाउँछौँ। चामल किन्नुपर्छ अन्य हाम्रैमा उत्पादन हुन्छ।’
चिया फार्मको कतै छेउटुप्पोमा ध्यान केन्द्र स्थापना गर्ने राई दम्पतीको सोचाइ छ। सहरमा विरक्तिएको जीवनलाई चिसो र स्वच्छ हावापानीको आनन्द लिन सक्नेछन्। उनीहरुको होमस्टेको परिकारको अमेरिकासम्म समेत चर्चा चुलिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न