
दार्चुला । कोरोना महामारीका कारण गत ११ चैतबाट बन्द गरिएका र भारतसँग सीमा जोडिएका दार्चुलाका ६ नाकामध्ये ५ वटा नाका अझै खुलेका छैनन्। वैधानिक सीमा नाका नखुल्दा यहाँका स्थानीय निराश छन्।
दार्चुला सदरमुकाम खलंगा नाका मात्रै सरकारले खोल्ने निर्णय गरेको छ। त्यसबाहेक लेकमको लाली, मालिकार्जुनको जोलजीवी, महाकालीको दत्त, व्यासको तिगरम र सीतापुल नाका अझै खुलेका छैनन्।
सरकारले गत ११ माघमा नै दार्चुला–धार्चुला नाकाबाट मात्र तोकिएको मापदण्डभित्र रहेर घरायसी सामान खरिद गर्न भारत जान पाउने निर्णय गरेको छ। सीमा जोडिएका अन्य नाका नखुल्दा दार्चुलाबासीलाई समस्या छ।
घरायसी सामान तथा औषधी खरिद वा आफन्त भेट्न भारत जानुपरे घुमेर दार्चुला पुलघाट पुग्दा झनै खर्च बढ्ने र समस्या हुने गरेको महाकाली नगरपालिका वडा नम्बर ९ का स्थानीय विक्रमसिंह सामन्तले बताए।
उनले भने, ‘सानो कामका लागि सयौँ रुपैयाँ खर्च गरेर दार्चुला सदरमुकाम खलंगा पुग्नुपर्छ। भारत जानुपरे घरबाट खलंगा पुग्नुपर्छ। खलंगाबाट मात्रै धार्चुला(पिथौरागढ जानुपर्ने अवस्था छ। दत्तु नाकाबाट जान नपाउँदा हामीलाई दैनिक उपभोग्य सामान ल्याउन पनि सास्ती छ।’
लेकम क्षेत्रका स्थानीयलाई बिरामी हुँदा विगतमा सहज रूपमा भारतीय क्षेत्रमा गएर उपचार गराउन सहज हुने गरेकामा अहिले समस्या भोग्नुपरेको लेकमका स्थानीय वीरसिंह भण्डारी बताउँछन्।
‘हामीलाई पिथौरागढसम्म अस्पताल जान छोटो बाटो यही पुल हो। तर, यो पुल नखुल्दा बिरामीले अकालमै उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था छ,’ भण्डारीले भने।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले भने सरकारको निर्णयपछि खलंगाको पुलघाट नाका पूर्ण रूपमा खोलिएको बताए। तर, अन्य नाकामा रोक कायमै छ।
‘अरू नाका खोल्न गृह मन्त्रालयलाई अनुरोध गरेका छौँ। गृहको पत्र जिल्ला नपुगेकाले अहिले अन्य नाका बन्द गरिएको हो’, उनले भने, ‘माथिबाट आदेश नआई सीधै नाका खोल्न मिल्दैन।’
दार्चुला लेकमको लालीदेखि व्यासको छांगरु टिंकरसम्मका बस्ती भारतसँग सीमा जोडिएका क्षेत्र हुन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- बैंक अफ काठमाण्डू लिमिटेड र फोकसवान पेमेन्ट सोलुसन्स् प्रा.ली बिच भुक्तानी सेवा सम्झौता
- अपर हेवाखोला हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचिकृत,ओपनिङ्ग रेञ्ज कति ?
- जापान भ्रमण सकेर स्वदेश फर्के अध्यक्ष प्रचण्ड
- तथ्यांक विधेयक र शपथसम्बन्धी विधेयक पारित
- थप ८६८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
- सानिमा बैंकले आइएफसीबाट : MSME का लागि २ करोड डलर ऋण प्राप्त
- हिमालयन बैंक र अमेरिकन एक्स्प्रेसद्वारा दुईवटा नयाँ कार्ड सेवा शुभारम्भ
- शेयर बजारमा सामान्य गिरावट, निरन्तर खुम्चिदै कारोबार