Dark

नारायण वाग्लेले भने-७० वर्षपछि खरीबोटलाई साक्षी राखेर भन्छौँ– अब नो सलामी, नो गुलामी

 

बृहत् नागरिक आन्दोलन क्रममा शुक्रबार टुँडिखेल मार्चपछि महांकालमा आयोजित सभामा लेखक नारायण वाग्लेले दिएको मन्तव्य:


आज ७० वर्षपछि एउटा सही साइतमा, सही ठाउँमा हामी आफ्नो हक जताउन उभिन आएका थियौँ। हामीमाथि बन्देज लाग्यो र त्यो बन्देजले लोकतन्त्रको स्तर उदांग भएको छ।

लिच्छविकालको त्यो विशाल उखुचउर, जुन आजको माइतीघरदेखि लैनचौरसम्म फैलिएको थियो, त्यसलाई स्थानीयहरू तुख्यः भन्थे। तु भनेको उखु, ख्यः भनेको चउर। त्यही तुख्यः आज टुँडिखेल भएको छ। हामी जुन खोलालाई टुकुचा भन्छौँ, त्यसको रैथाने नाम तुखुचा हो। यो नाम तुख्यः बाटै बनेको हो, जसको अर्थ हुन्छ– उखुको रसजस्तै स्वादिलो पानी बग्ने नदी।

काठमाडौँ उपत्यकाको यो विराट छाती, आमजनताको यो विशाल सम्पत्ति आज के भयो? प्रजातन्त्र आएको ७० वर्षपछि आज त्यो उदांग भएको छ।

यही टुँडिखेलमा नारायणहिटी बनाइयो, बागदरबार बनाइयो। सैनिक परेड छाउनीबाट सारेर टुँडिखेल ल्याइयो। लालदरबार यहीँ, सेतोदरबार यहीँ, चारबुजा दरबार, फोहोरा दरबार र केशरमहल पनि यहीँ।

सैनिक तोपखाना यहीँ ल्याइयो, सानो टुँडिखेललाई रंगशाला बनाइयो। सैनिक मुख्यालय बनाइयो र पार्टी प्यालेस बनाइयो।

उपत्यका बाहिरबाट आएका यात्रु बस्ने बाटुले चौतारो भएको ठाउँ मासेर रत्नपार्क बनाइयो। आज त्यहाँ पस्न पैसा तिर्नुपर्छ।

आज हामीले शासकहरूलाई सोध्नुपर्ने प्रश्न पुनर्गठित गर्नुपरेको छ– तिमीले भट्याउने गरेको विकास के हो? दुई हजार वर्ष लगाएर समुदायले बनाएको यो नेपाल मण्डल आज के भयो? पानी सञ्चय र प्रशोधन गर्ने त्यो विशाल उखुबारी र नर्कटघारीलाई कबाज मैदान बनाएपछि काठमाडौँ काकाकुल बनेको थाहा छ कि छैन?

यहाँको राजकुलो कसले काट्यो? किन काट्यो? यसको अर्थ यहाँका परिश्रमी जनतालाई खेती नगर भनेको हो कि होइन? खेती नगर, जग्गा चाना पारेर आना–आना बेच– के यही भन्न खोजेको?

ढुंगेधाराको पानी पिउनु ढुंगेयुगमा जिउनु होइन। तर, हाम्रा सयौँ वर्ष पुराना सित्तैमा पानी पाइने धाराहरू सुकाएर हामीलाई महँगो मेलम्चीको सपना देखाएको देखायै गरियो। यो धोका हो कि होइन?

काठमाडौँ आफैँ समृद्ध थियो, त्यो तिम्रो समृद्धिको नारा फगत षड्यन्त्र हो। हामी संस्कृतिमा धनी भनेको छ, डोजर चलाएको छ। हामी सम्पदामा धनी भनेको छ, पोखरीमा सिमेन्ट हालेको छ। हामी जात्रामा धनी भनेको छ, गुठी मास्ने कानुन ल्याएको छ।

चिनियाँ बादशाहको वाहवाही पाउने अरनिको कसले जन्मायो? कसले हुर्कायो? कसले सिकायो? कुन सभ्यता र संस्कृतिले?

खरीबोटलाई साक्षी राखेर नेपालमा पहिलोपल्ट प्रजातन्त्र घोषणा भएको आज ठिक ७० वर्ष भयो। खरीबोट मासियो, प्रजातन्त्र भासियो। न संस्कृतिसहितको प्रकृति रह्यो, न जनमतसहितको प्रजातन्त्र। न प्रकृति न प्रजातन्त्र।

प्रजातन्त्रका नाममा सलामी चढ्न थाल्यो र हामी जनतालाई फेरि गराउन थाले गुलामी। ७० वर्षपछि हामी यहाँ उभिएर आज भन्छौँ– अब नो सलामी, नो गुलामी।

शासकहरूलाई हामी प्रश्न गर्छौं– के परिवर्तन भयो? के नेपालबाट चाकडीप्रथा गयो? के चाप्लुसी गर्नेहरू बदलिए? के चाटुकारहरू घटे? आज ७० वर्षपछि पनि हरेक ठूलाठालुको निवासमा दर्शनभेट चल्छ कि चल्दैन? जी–हजुरी जारी छ कि छैन?

के जन्मिँदै जर्नेलका नाति जर्नेल हुने प्रथा नेपालबाट गयो? फलानोको छोरा ढिस्कानोका नाति जन्मिँदै नेता हुने प्रथा किन हटेन? वंशवाद किन गएन? के राजनीति पनि परिवारको पेवा हुन्छ? के राज्य कसैको ठेक्का हुन्छ? के जनताले गरेको बलिदान तिमीले फिक्का गर्न मिल्छ?

हामीलाई थाहा छ– नेपालको इतिहास जनताको संघर्षको इतिहास हो। आन्दोलनहरूको इतिहास हो। तर जनताको बुई चढेर जो ठूला दरबारमा पुग्छन्, उनीहरू सलामी र गुलामीको चौघेराबाट लोकतन्त्रको टुँडिखेलमा कबाज खेल्न थाल्छन्।

टुँडिखेल मास्ने र मासिएको टुलुटुलु हेर्नेहरूले लोकतन्त्रको विराट अठोट मास्ने गर्छन्। संविधान मास्ने गर्छन्। संसद मास्ने गर्छन्। जनताका सपना मास्ने गर्छन्।

जनताका विशाल बलिदानहरू सम्झिँदै हामी आज यहाँ उभिएर बाचा गर्छौं– अब हामीलाई मुक्त टुँडिखेल चाहिन्छ, अब हामीलाई खुला लोकतन्त्र चाहिन्छ, अब हामीलाई आफ्नो पौरख र प्रतिभाको विकास चाहिन्छ, अब हामीलाई शिर उभ्याएर संसार नियाल्ने निर्भीक नागरिकतन्त्र चाहिन्छ। साँच्चैको लोकतन्त्र चाहिन्छ।

पराधीन मानसिकता होइन, परिश्रम गर्नेले देशभित्रै आत्मम्मान पाउने व्यवस्था चाहिन्छ। किसान हुँदा गर्व गर्ने, मजदुर हुँदा लड्न सक्ने हामीलाई आमनागरिकले शिर ठाडो गरेर उभिने व्यवस्था चाहिन्छ।

आज हामीले नागरिक आन्दोलनको घोषणापत्र जारी गरिसकेपछि कबुल गर्नुपर्ने भएको छ। अब हामी देशभरिका नागरिक तथा सामाजिक समूहहरू, विभिन्न मोर्चा र मैदानमा संघर्षशील स्वप्नजीवीहरूसँग संवाद गर्दै, नागरिक आन्दोलनमार्फत् जीवन्त नागरिक दबाबको आगो भर्भराउने छौँ।

र, त्यो आगो लिएर हरेक मनपरीतन्त्रविरूद्घ अनवरत खबरदारी गरिरहने छौँ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै