
- बेलुका बुवासँग बोल्दा बुवा भन्नुहुन्थ्यो, 'म निको भैहाल्छु बाबु, तँ बरू आफ्नो ख्याल राख्नु। कामबाट भर्खर आएको होलास्, खाना खाँदै बोल् न।'
म बिउझिएँ। एक्कासी, गहिरो निद्राबाट झस्किए जसरी।
कोठामा म एक्लो भएपनि मेरो मष्तिस्कमा अनेकौं प्रश्न र भावनाहरूको कोलाहलले हजारौँको भीडमा उभिएको जस्तो चाप र आतस महशुस हुँदै थियो। बुबालाई बिरामी हुनुभएर अस्पतालमा भर्ना गरिएको थियो। म एक्लो छोरो भने सात समुन्द्रपारि थिएँ।
बेलुका बुवासँग बोल्दा बुवा भन्नुहुन्थ्यो, 'म निको भैहाल्छु बाबु, तँ बरू आफ्नो ख्याल राख्नु। कामबाट भर्खर आएको होलास्, खाना खाँदै बोल् न।'
बुवाको स्वर मलिन थियो। बोल्ने सामर्थ्य नभएपनि बलजफ्ती बोल्नु भएको जस्तो र त्यस्तो हुँदा पनि बुबालाई मेरो चिन्ता थियो। त्यत्तिकैमा आमाले फोन खोस्नु भएछ क्यारे, 'तेरो बुवा धेरै बोल्दा गाह्रो हुन्छ। जति भने पनि टेर्नु हुन्न। तँलाई मात्र सम्झेर रुनुहुन्छ। तँ आए अलि सन्चो हुन्थ्यो कि!'
'बुवालाई निकै सन्चो नभएको हो आमा?'
कोभिडको कारण लकडाउन भएकोले, म आउँछु छिट्टै भन्न पनि नपाउँदा मेरो मन छिया छिया भएको थियो तर केही प्रतिउत्तर दिन नसक्दा, आफूलाई नै सान्त्वना दिने प्रश्न राख्दै थिएँ म।
'डाक्टरहरू ठिक हुनुहुन्छ, नआत्तिनुस् त भन्छन् तर तेरो बुबाको यस्तो अवस्था कहिल्यै देखेको थिइनँ। एकपल्ट मेरो बाबु आए पनि मलाई निको हुन्थ्यो होला भनिरहनु हुन्छ। म के भनूँ छोरा तँलाई, आउन मिल्दैन भन्छस्।'
यति भनिरहँदा, आमाको आँखाबाट कति थोपा आँसु झरे होलान्। तर म लाचार थिएँ। कैद गरिएको पंक्षी जस्तो।
'ठिक हुन्छ बुबालाई, म लकडाउन खुल्नासाथ आइहाल्छु नि!' योभन्दा अरू मैले केही भन्न सकिनँ।
'एकछिनपछि फोन गर्छु है बाबु, यहाँ काम पर्यो' भन्दै आमाले फोन काट्नु भयो।
मेरा आँखाबाट आँसुका ढिक्का बग्न खोज्दै थिएँ र म तिनलाई रोक्न सक्दो प्रयास गर्दै थिएँ। एकोहोरो हेरिरहेका आँखाहरु, चिम्म हुनासाथ ती बगेर मेरो अनुहारमा स्पर्श गर्न थाले। अनि ठोक्किन थाले अतीतका यादहरु।
'बाबु, तँ बाहेक को नै छ र हाम्रो यहाँ, यतै बसेर केही गरे हुन्न र?' बुबाले रोउँला झैँ गरी भन्नुभएको थियो।
तर मलाई त विदेश नै जानु थियो। पैसा कमाउनु अनि स्वतन्त्र जीवनको सुरुआत गर्नु थियो। टसमस भएर बसेका आकांक्षाहरू पूरा गर्दै जीवनको अर्थ खोज्नु थियो। नेपालको राजनीति, नेपालको स्थिति, अस्तव्यस्तता, यी सबलाई नियाल्दा यहाँ बसेर केही पार लाग्दैन झैँ लाग्थ्यो।
त्यसैले म अडिग थिएँ आफ्नो निणर्यमा। न आमाको आँसु न बुबाको सुझावले मेरो मन बदलियो। केही दिन मै मेरो भिसा पनि आयो। बुबाआमा खुसी पक्कै हुनुहुन्थेन तर मेरो अघि केही व्यक्त गर्न पनि खोज्नु भएन।
'सबै सहजै भैहाल्छ नि! परेको बेला घर आइहाल्छु। अनि अरु बेला भिडिओ कल गरिहालिन्छ। किन अत्यास मान्नुहुन्छ?' यस्तै के-के भन्दै एयरपोर्टसम्म आमाबाबुलाई सम्झाउँदै आएको थिएँ म तर त्यही आफ्नै एक-एक शब्दले पोल्दै थियो मलाई।
सबै सहजै नहुँदो रहेछ, सबै सोचे झैँ नहुँदो रहेछ। प्रत्यक्ष एकअर्कासँगै बसेर दुःख सुख साटे जस्तो भिडिओ कल गरेर तृष्णा नमेटिने रहेछ।
हरेकचोटि बिदा हुँदा कहिले थोरै भएपनि पैसा बढी कमाउने लोभले काममा गएर, कहिले बल्ल त बिदा भयो भन्दै साथीहरुसँग घुम्न गएर र कहिले केही मेसो नमिलाई कहाँ त्यसै दौडनु भन्दै टार्न मात्र खोजेँ।
स्वतन्त्र हुने र आफ्नो जीवन आफ्नो इच्छाले जिउने सोचले कहिले मलाई मत्सर बनाएछ थाहै पाइनँ। तर अब लकडाउन खुल्नासाथ घर गैहाल्छु... यस्तै केके सोच्दा सोच्दै म कुनबेला भुसुक्कै निदाएछु पनि थाहै भएन।
बिहानको करिब तीन बजेतिर फोनको घण्टी बज्यो। रातभर आँसुका धाराले सुन्निएका आँखाहरुले सकिनसकी फोनको स्क्रीन हेरेँ। आमाको फोन थियो। फोन उठाउनासाथ सोधिहाँले- 'कस्तो छ बुबालाई?'
एकछिन केही आवाज आएन। त्यो शून्यताले मलाई झन अत्यायो।
'आमा? भन्नु न! कस्तो छ बुबालाई?' मेरो आवाजमा डरको संकेत थियो।
'मेरो सिन्दुर पुछियो, बाबु। तेरो बुबाले मलाई छोडेर जानु भयो' यति भनेर आमा भक्कानिएर रूनु भयो। ममाथि आकाश खसे झैँ भयो। कान टिन्न भएर सबै सुनिन छाडे। आँखा धमिलो भएर आयो। म निशब्द भएँ।
मैले सुनेको कुरा, मलाई विश्वास गर्न मन थिएन। मेरो त्यति माया गर्ने बुबाले मलाई छोडेर जानुभयो भनेर पत्याउन मन थिएन। तर त्यो सत्य थियो। कटु सत्य।
त्यसबेला, एउटा पुरानो यादले एक्कासी मेरो मष्तिस्कमा दौड लगाउन थाल्यो। म करिब एघार वर्षको थिएँ होला जब मेरो व्रतबन्ध गरिएको थियो। मेरो सबै कपाल खौरिएर थोरै टुप्पी मात्र राखिएको थियो।
अनायासै मेरो मुडुलो टाउको सुम्सुम्याउँदै, हाँस्दै बुबाले भन्नु भएको थियो, 'अब चाहिँ म मरेपनि ढुक्क हुने भयो, मेरो छोराले दागबत्ती दिएपछि म स्वर्ग पुग्छु नि त!'
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा उपडेट
- प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा पुगे (फोटो फिचर)
- गोल्डेन ट्रायाङ्गल बाइक टुरका राइडरहरु पर्सा राष्ट्रिय निकुञ्जमा
- सर्लाहीमा चिताबाट युवतीको शव बरामद, पतिसहित ३ जना पक्राउ
- एनसेलको १८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न्न
- चौलागाईंको गुण्डा नाइके र प्रहरीसँग साँटगाँठ, समाचार लेख्ने पत्रकारलाई ज्यान मार्ने धम्की
- गरिमा विकास बैंकका ग्राहकले विदेशबाट पनि मोबाईल बैकिङ सुचारु गर्न मिल्ने
- नेशनल लाईफ इन्स्योरेन्सको तीन दिने चेयरपर्सन कार्यक्रम सम्पन्न