Dark

दरबार एडभेन्चर जिपलाइनः डोरीमा झुण्डिएर ऐतिहासिक साततले दरबार नियाल्ने थलो !

ऐतिहासिक एवम् प्राकृतिक पर्यटनको उत्कृष्ट थलो नुवाकोट दरबार क्षेत्रमा पछिल्लो समय ‘जिपलाइन’ आकर्षण बनेको छ । यस जिपलाइनको विशेषता भनेको यहाँबाट त्रिशूली बजार, त्रिशूली नदी, बट्टारको समथर फाँट, परपरसम्मका पहाडहरु मात्र होइन, सँगैको सांस्कृतिक सम्पदा नुवाकोटको साततले दरबार, पुरानो बजार र भैरवी मन्दिरसमेत देख्न सकिन्छ । 

नेपालकै दोस्रो लामो लम्बाई (१३ सय मिटर) भएको  दरबार एडभेन्चर जिपलाइन रिसोर्टले सञ्चालन गरेको यो जिपलाइन जिल्लाकै पहिलो जिपलाइन त हुँदै हो, नेपालकै हकमा जिपलाइनको लाइसेन्स लिने पहिलो कम्पनि समेत हो । नेपालमा हालसम्म ६ वटा कम्पनीले जिपलाइन सञ्चालनको अनुमति लिएका छन् । इजाजत लिनेमा पहिलो नम्बरमा दरबार एडभेन्चर नुवाकोट, दोस्रोमा वल्र्डवाइड एडभेन्चर धुलिखेल र क्रमशः होटेल गढी भ्यू एन्ड रिसोर्ट, योयो जिपलाइन घ्याम्पेडाँडा, श्री बेट एन्ड डाइनो एम्युजमेन्ट वाटर पार्क सुनसरी र हाइग्राउन्ड जिपलाइन पोखरा रहेका छन् ।

युवा व्यवसायीहरुको समूहले सञ्चालन गरेको जिपलाइनले नुवाकोटको पर्यटन विकासमा मनग्य योगदान दिइरहेको छ । बागमती प्रदेशको धुलिखेलको जिपलाइन उपत्यकासहित आसपासको प्रमुख रोजाइमा पर्दै आइरहेको छ । हालसम्म यहाँ ४,६०० भन्दा बढी मानिस आई जिपलाइनको मजा लिएर फर्किसकेका छन् । 

भ्रमण वर्ष २०२० लाई टार्गेट गरेर ०७३ सालमा निर्माण सुरु गरिएको यस जिपलाइनको लागत करिब ३ करोड रहेको सञ्चालक सञ्जिव राईले बताए ।  यसमा प्रयोग गरिएका सामग्री अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेको (राम मेटल वर्कशप, चमती, शोभाभगवती) र सफल कम्पनी (वल्र्ड वाइड बिल्डर्स) भएकाले सुरक्षामा कुनै समस्या नहुने सञ्चालक राईको भनाइ छ । ‘अन्यत्रका जिपलाइनहरुले निश्चित मापदण्ड नपु¥याई खोलिदिँदा सुरक्षाको जोखिम बढेको हो, हामीहरुमा त्यस्तो छैन । तपाईंहरु आएर मजाले खेल्न सक्नुहुन्छ,’ उनी भन्छन् । ‘जिपलाइन जडान गर्दा पर्यटन विभागबाट अनुमति प्राप्त जिपलाइन मात्र जडान गरिन्छ । साहसिक खेल भएका कारण सुरक्षामा सम्झौता गर्नुहुँदैन,’ उनले भने  । 

‘सुरुको महिनामा निकै राम्रो व्यावसायिक वातावरण बनेको थियो तर लगत्तै कोरोना सुरु भइदियो । त्यसपछि आर्थिक मन्दी देखियो,’ राई भन्छन्, ‘सुरुमा काठमाडौँ आसपासकै धेरै आउनुभयो । उहाँहरुबाट निकै राम्रो कमेन्ट पनि पायौँ ।’ आजभोलि शनिबार अलि भीड हुने तर अन्य दिन सामन्य उपस्थिति रहने गरेको उनले बताए । आर्थिक मन्दीका कारण कर्मचारी कटौती गरी (हाल १० जना) दुई वर्षसम्म थेग्न प्रयास आफू लागिरहेको समेत उनले बताए । 

ऐतिहासिक नुवाकोट दरबार सामुन्ने भएका प्रचारप्रसार उति जोडबल गर्नु नपरेको समेत उनले बताए । यद्यपि दरबार क्षेत्र पुनर्निर्माण चाँडै सम्पन्न भइदिए देश–विदेशका पर्यटक यहाँ आउने वातावरण बन्ने उनी बताउँछन् । ‘मलाई यहाँ इन्भेष्ट गर्ने आँट दरबारले दिएको हो । पृथ्वीनारायण शाहलाई धन्यवाद भन्नै पर्छ तर दुखको कुरा भुइँचालो गएको यतिका वर्ष भइसक्दा पनि दरबार उठ्न सकेको छैन । चिनियाँहरु हालसालै आइपुगेको थाहा पाएका छौँ । छिटो बनिदिँदा सबैलाई राम्रो,’ उनी भन्छन् । आफूहरुले सुरक्षित साहसिक पर्यटनको स्वाद दिलाउँदै ऐतिहासिक र सांस्कृतिक थलोको परिचय पनि दिइरहेको उनी बताउँछन् । स्थानीय सरकारले बट्टारदेखि दरबारसम्म आउने सडकमा लाइट राखिदिए राम्रो हुने उनले बताए । 

फिलिपिन्स जिपलाइन देखे, नुवाकोटमा खोले

काठमाडौँ थापाथली जन्मथलो भएका राईको पुख्र्यौली घर सङ्खुवासभा हो । उनको पारिवारिक पृष्ठभूमि नै पर्यटन व्यवसायमा रहेको छ । उनका दाजुहरु पनि ¥याफ्टिङ एवम् साइक्लिङ (अन्नपूर्ण लगायत) व्यवसायसँग आबद्ध छन् । दाजुहरु ¥याफ्टिङ एवम् साइक्लिङ गरिरहँदा उनी अफिस सम्हाल्थे । ‘मलाई आउटडोर फिल्डमा त्यति मन लाग्दैन थियो, बसेरै काम गरौँ भन्ने हुन्थ्यो । यसैक्रममा फिलिपिन्स, बालीतिर पुगेँ, त्यहाँ जिपलाइन देखेँ । अनि नेपालमा पनि गरौँ भन्ने भयो,’ उनी भन्छन, ‘नेपाल छ कि छैन भनेर बुझ्दा पोखरामा छ भन्ने थाहा पाएँ । यसपछि भ्याली नजिक उपयुक्त प्राकृतिक सुन्दरता भएको ठाउँ खोज्दै यहाँ आइपुगेँ ।’ नुवाकोट उनको ससुराली थलोसमेत हो । 

नेपालकै पहिलो कम्पनीले कसरी लियो इजाजत ?

सञ्चालक राई कम्पनी दर्ताको क्रममा केही अलमल भएको बताउँछन् । ‘जिपलाइन दर्ता नै पहिलोपटक भइरहेको हुँदा उहाँहरुमा पनि अलमल भयो । पछि, साहसिक खेल अन्तर्गत नै दर्ता गरियो,’ उनी भन्छन् । यहाँ स्थानीय १० प्रतिशत शेयर रहेको छ । साथै, रिसोर्टले  नाफाको १० प्रतिशत स्थानीयस्तर (खानेपानी निर्माण लगायत)मा  खर्च गर्दैसमेत आइरहेको छ ।

कम्पनी रजिस्ट्रार, साहसिक पर्यटन र होटलसँगै जोडिएकाले उद्योग विभाग र पर्यटन विभागबाट जिपलाइन निर्माण स्वीकृति लिनुपर्छ । सरकारको मापदण्ड अनुसार दुई करोडभन्दा माथिका लागतको योजनामा प्रारम्भिक वातावरण परीक्षण (आईईई) गर्नुपर्छ । ‘निजी जमिनको हकमा पर्यटन विभागको स्वकृति लिई प्रयोग गर्ने सामग्रीको कम्पनी खुलाई विभागका मानिसलाई देखाउनुपर्छ,’ राईले भने, ‘निर्माण भइरहेको अवस्थामा निरीक्षण र तयार भइसकेपछि अन्तिममा परीक्षण गर्न विभागका प्रतिनिधि आउँछन्  ।’ त्यहाँको स्थिति, स्थानीयसँगको छलफल, सेयर लगत, वडा र गाउँपालिकाको सिफारिस, प्यान र १० लाख रुपैयाँ बराबरको ग्यारेन्टी बुझाएपछि मात्र जिपलाइन सञ्चालनको पूर्ण स्वीकृति पाइने उनले सुनाए  । 

पर्यटन उद्योग सेवा प्रभाव निर्देशिका २०७० को परिच्छेद ९ को दफा ९३ अनुसार जिपलाइन सञ्चालनका लागि इजाजत लिनुपर्छ । पहिलो चरणमा निर्माण हुने स्थलको अनुगमन गर्ने विभागले दोस्रो चरणमा वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदनका अनुसार अनुगमन गर्ने गरेको छ । यस्तै, विभागले अन्तिम अनुगमन स्वरुप इजाजत दिनुभन्दा अगाडि निर्माणस्थलको स्थलगत अनुगमन गरेर मात्र इजाजत दिने गरेको छ ।

जिपलाइन सञ्चालनको इजाजत लिन पहिलोपटक सबै प्रक्रिया पुरा गरेर ४० हजार दस्तुर तिर्नुपर्छ । त्यसपछि ५ वर्षपछि नवीकरण गरे पुग्छ । नवीकरणका लागि इजाजत अवधि सकिएको ३ महिनाभित्रै निवदेन दिएमा ५० प्रतिशत दस्तुर छुट हुनेछ । यसैगरी, ६ महिनाभित्र नवीकरणका लागि निवेदन दिएमा दस्तुर पुरै र ६ महिनाभित्र पनि नवीकरणका लागि निवेदन नदिएको अवस्थामा इजाजत नै खारेज गर्ने व्यवस्था रहेको छ । नवीकरण दस्तुर भने २० हजार रुपैयाँ तोकिएको छ । 

साहसिक पर्यटन अन्तर्गत जिपलाइनमा बढ्दो आकर्षणः

नेपालमा पछिल्लो समय फस्टाएको व्यवसाय हो, साहसिक पर्यटन । विश्व पर्यटनमा नेपालको नौलो स्थान सुरक्षित गर्नसमेत साहसिक पर्यटकीय गतिविधिले सहयोग गरिरहेको छ । भौगोलिक बनावटले पनि नेपाललाई साथ दिएको छ । सानो लगानीमा यहाँ विश्वकै ध्यान खिच्ने साहसिक खेलहरु सञ्चालन गर्न सकिन्छ । पछिल्लो समय बञ्जी हुँदै स्काइडाइभ, पदयात्रा, जङ्गल सफारी, प्याराग्लाइडिङ, एडभेन्चर राइडिङ, क्यानोनिङ, रक क्लाइम्बिङ, साइक्लिङ जिपलाइन, अल्ट्रालाइटजस्ता गतिविधि बढिरहेको छ । यसले पर्यटक आकर्षण बढाउनुका साथै उनीहरुको बसाइ लम्ब्याउन सहयोग गरिरहेको छ । पर्यटन विभागले २०७१ सालदेखि साहसिक तथा मनोरञ्जनात्मक व्यवसायलाई अनुमति दिएको दिन थालेको हो । 

माउन्टेन साइक्लिङ, ¥याफ्टिङ, क्यानोइङ, प्याराग्लाइडिङ तथा बन्जीमा मात्र सीमित बनेको नेपालको साहसिक पर्यटन पछिल्लो समय जिपलाइन, बन्जी तथा स्विङमा विस्तार हुँदै जानु खुसीको कुरा रहेको राई बताउँछन् । ‘जिपलाइन एक साहसिक खेल हो । यो खेलमा फलामले लठ्ठामा घिर्नीको सहायताले विशेष फित्तामा झुण्डिएर उडेजसरी अघि बढिन्छ । एक दशक लामो इतिहास भए पनि पनि करिब ४ वर्षदेखि मात्र जिपलाइनमा लगानीकर्ता र सेवाग्राहीको आकर्षण बढेको छ ,’ उनी भन्छन् । जिपलाइन व्यवसायको दिगोपन एवम्  प्रचारप्रसारमा सरकार मातहतका संस्थाबाट सहयोग एवम् पर्यटन पूर्वाधार निर्माण भइदिए देशका अग्ला एक डाँडाबाट अर्काे डाँडासम्म चराजस्तै उडेर पुगेको अनुभूति हुने यो खेलले नेपालको साहसिक पर्यटनमा क्रान्ति नै ल्याउने उनी दाबी गर्छन् । 
शहरको कोलाहलभन्दा केही नजिक ‘रिफ्रेस’ हुने ठाउँ भए मानिसहरु बिदाको दिन घुम्न निस्कने भएकाले जिपलाइनको परिकल्पना गरिएको र यसले नेपालको हकमा तीव्र गतिमा व्यवसायिकता हासिल गर्दै आएकाले आफूलाई खुशी लागेको उनको भनाइ छ ।
जिपलाइन खेल तथा अन्य साहसिक पर्यटकीय खेल शतप्रतिशत नै सुरक्षित छ भनेर भन्न नमिल्ने पर्यटन विभाग बताउँछ । संसारभरि नै अहिले साहसिक पर्यटकीय खेलको गतिविधि बढ्दैछ । अहिलेसम्म त्यति ठूलो दुर्घटना भने नभएको विभागको दाबी छ । विभागको प्रशासन तथा सहसिक पर्यटन शाखाका अधिकृत दिपेन्द्र रेग्मी इजाजत अनुमति (लाइसेन्स) दिएपश्चात  अनुगमन नहुँदा यसो भइरहेको बताउँछन् । साहसिक पर्यटनलाई व्यवस्थित र गुणस्तरीय बनाउने आवश्यक सुरक्षा प्रणाली तथा कानुनी व्यवस्था बलियो बनाउनुपर्ने उनले बताए । 

जिपलाइन गर्न नुवाकोट नै किन जाने ? 

नुवाकोट दरबार सङ्ग्रहालयको ११ मिटर उचाइको एल्मुनियम टावरदेखि सुरु हुने जिपलाइनले २५० मिटरको गहिरो गल्छी पार गर्दै विदुर नगरपालिका वडा नम्बर २ को कुवापानीको १६ मिटर उचाइको टावरमा अवतरित भइन्छ । माथिल्लो टावर समुन्द्र सतहदेखि ११ सय मिटर उचाइमा रहेको छ भने तल्लो ८३० मिटर उचाइमा रहेको छ ।  

जिपलाइन कस्ट २,५०० रुपैयाँ रहेको छ भने खाना–बस्ने गर्ने हो भने ४५०० रुपैयाँ तिर्नुपर्छ । आर्थिक मन्दी देखिएकाले लागत कम गर्ने तयारीमा रिसोर्ट लागिरहेको छ । यस रिसोर्टको सफा, सुग्घर चिटिक्क रुमबाट परपरसम्मका पहाडहरुसँगै फाँटहरुको सुन्दरता अवलोकन गर्न सकिन्छ । यहाँबाट त्रिशूली बजार, त्रिशूली नदी, बट्टारको समथर फाँट, परपरसम्मका पहाडहरु देख्न पाइन्छ । पृथ्वीनारायण शाहको पालाको साततले दरबार, भैरवी मन्दिरसँगै अन्य ऐतिहासिक तथा प्राचीन सभ्यताको अवलोकन पनि गर्न पाइन्छ र एड्भेन्चरको मज्जासमेत लिन पाइन्छ । काठमाडौँ टोखाको बाटोको गुणस्तरीय भइदिँदा एक घण्टामा यहाँ आइपुग्न सकिन्छ, हाल डेढदेखि दुई घन्टा लाग्ने गर्दछ । काठमाडौँदेखि ७० किमिटको दुरीमा रहेको ।

सञ्चालकः सञ्जिव राई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै