Dark

किरातीहरुका साझा धार्मिकस्थल फक्ताङ्लुङ र मुक्कुमलुङ

चन्द्र पन्दाक (प्रयास)

किराँत धर्मावलम्बीको साझा तथा पवित्र तीर्थस्थल हो फक्ताङ्लुङ । फक्ताङ्लुङलाई पवित्र धार्मिक आस्थाको केन्द्र मान्ने गरिएको छ भने फक्ताङ्लुङ दर्शनका लागि यहाँ किरात धर्मावलम्बीहरुको बाक्लो उपस्थिति हुने गरेको छ । यस्तै मुक्कुमलुङ अर्को पवित्र धार्मिक स्थल हो । पवित्र तीर्थस्थल मुक्कुमलुङ पाथीभराको नामले समेत प्रसिद्ध रहेको छ । प्रसिद्ध धार्मिक स्थल मुक्कुमलुङ (पाथीभरा) शक्तिपीठलाई लिम्बू याक्थुङहरुको पवित्र सर्वशक्तिमान पिठको रुपमा लिने गरिएको छ ।

प्रसिद्ध तथा पवित्र तीर्थस्थल फक्ताङ्लुङ

पवित्र तीर्थस्थल फक्ताङ्लुङ जिल्लाको उत्तरी फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपमा रहेको छ । जुन स्थललाई विश्व किराँतीहरुको धार्मिक–सांस्कृतिक दृष्टिकोणले पवित्र आस्थाको केन्द्र महातीर्थभूमि, ज्ञानभूमि, कर्मभूमि, पुण्यभूमि सेन्छेइको रुपमा समेत लिने गरिन्छ । फक्ताङ्लुङलाई पवित्र तीर्थस्थल तथा पावनभूमि सम्झेर सेवाभक्तिका लागि किराँत धर्मावलम्बीहरु हरेक वर्ष दर्शनमा जाने गर्दछन् । समुद्र सतहदेखि करिब छ हजार मिटरको उचाइमा अवस्थित फक्ताङ्लुङ दर्शनमा किराँतीहरुको लर्को नै लाग्ने गर्दछ । विशेष गरेर फक्ताङ्लुङ धाममा ढुङ्गाका दुई ओडार रहेका छन् । सो ढुङ्गाको दायाँबायाँ दुई ओडारलाई किराँत मुन्धुमी मान्यताअनुसार मारुम तेम्बे, पारुम तेम्बे अर्थात् मातृ ओडार र पितृ ओडार भनेर चिनिने गरिएको किरात मुन्धुमका विज्ञ बताउँछन् । फक्ताङ्लुङ धामका रुपमा त्यही ओडारलाई विशेष महत्व दिँदै किराँत धर्मावलम्बीहरु सेवा, भक्ति र आराधना गर्ने गरेको पाइएको छ । फक्ताङ्लुङको दर्शन गर्दा घरपरिवारमा सुख, शान्ति मिल्ने विश्वास किराँतीहरुले गर्ने गरेका छन् ।

किराँत लिम्बूको मुन्धुम र महागुरुको धार्मिक उपदेशमा उल्लेख भएअनुसार यस स्थल किराँतीहरुको उत्पत्तिस्थल पनि भन्ने गरिएको छ । उत्पत्तिस्थल भएकाले किराँत धर्मावलम्बीहरुले पुज्दै ल्याएको फक्ताङ्लुङ हाङ्साम थेवा, हाङ्साम युमा अथवा ज्ञान, विवेकका शक्ति, सिद्धी शक्तिका धनी सत्यको रानी, सत्यका राजा, पितृ देव, मातृ देवहरुको बासस्थान हो । किराँत महागुरु फाल्गुनन्द लिङ्देनले तपस्या गरेको र फक्ताङ्लुङको तपस्यापछि ज्ञान शक्ति प्राप्त गरेर उनले धार्मिक उपदेश दिएको भन्ने भनाइ छ । महागुरुको उपदेशअनुसार सम्पूर्ण किराँत धर्मावलम्बीहरु वर्षको एकपटक फक्ताङ्लुङको सेवाभक्ति गर्न पुग्नैपर्ने मान्यता रहिआएको छ । किराँत भक्तजनका साथ महागुरु लिङ्देनले पहिलोपटक १९९३ सालमा फक्ताङ्लुङ यात्रा गरेका थिए । सोही समयदेखि किराँत धर्मावलम्बीहरुले आफ्नो तीर्थभूमि, कर्मभूमि र पुण्यभूमिको रुपमा पुज्दै आएको र अहिले पवित्र धार्मिक आस्थाको केन्द्र बनेको र दर्शनका लागि किरात धर्मावलम्बीहरुको लार्को लाग्ने गर्दछ । फक्ताङ्लुङ धाम धेरै उचाइमा रहेकाले अनुकूल मौसम बनाएर वर्षको एक सिजन मात्र किराँत धमावलम्बीहरु फक्ताङ्लुङको दर्शन गर्न जाने गरेका छन् । 

प्रसिद्ध तथा पवित्र तीर्थस्थल मुक्कुमलुङ !

किरात लिम्बू समुदायले पवित्र सर्व शक्तिमान पीठका रुपमा मुक्कुमलुङलाई मान्ने गर्दछन् । समुद्र सतहदेखि तीनहजार ७९४ मिटरको उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्कुमलुङ (पाथीभरा) मा किराँत मात्र नभई हिन्दूलगायतका धर्मावलम्बीहरुको घुइँचो लाग्ने गरेको छ । बहुसंख्यक लिम्बू समुदायको बसोबास रहेको यस क्षेत्रका याक्थुङ लिम्बूहरुले परम्परादेखि नै मुक्कुमलुङलाई युमा माङको रुपमा मान्ने गरेका छन् । याक्थुङहरुले मान्ने र पुज्ने गरेका हाङ्साम युमा माङ र हाङ्साम थेवा माङको दर्शन साथै पवित्र शक्तिपिठको रुपमा पुज्ने गर्दछन् । प्राचीन कालदेखि लिम्बू याक्थुङहरुको आफ्नो मुन्धुमी स्थल भएको र पवित्र मुक्कुमलुङको निरन्तर दर्शन गर्ने गरिएको छ । 

आदिम कालदेखि बसोबास गर्दै आएका स्थानीय रैथाने याक्थुङहरुले आफ्ना पवित्र तथा सर्वोच्च माङ्गेन्ना चोत्लुङ शिरको रुपमा पनि पुकार्दै आएका छन् । उनीहरुले मानव कल्याण, विश्व शान्ति कामना र सबै मनोकांक्षा पुरा गरिदिने माङको रुपमा पनि किराँत धर्मावलम्बीले मुक्कुमलुङलाई सम्झिने गर्दछन् । अग्रजका अनुसार परम्परादेखि येवा, साम्बा, माङदेम्बा, फेदाङमा, सेवासाबा, तुतुम्याहाङलगायत धामी झाँक्रीले मुक्कुम्लुङलाई साँची रहेर मुन्धुम वाचन गर्ने प्रार्थना गर्ने गरिएको छ । भनाइअनुसार याक्थुङहरुले तङ्सिङ, याःफोङसिङमा समेत मुक्कुमलुङको नाम उच्चारण गर्ने गरिन्छ । यता याक्थुङ लिम्बूहरुको मुन्धमीस्थल मुक्कुमलुङ भए पनि पाथीभरा देवीको नामले सु–प्रसिद्ध तीर्थस्थलमा हिन्दूलगायतका लाखौ“ भक्तजनले दर्शन गर्ने गर्दछन् । मनोकांक्षा र सोचे चिताएको पूरा गरिदिने साक्षात् देवी पाथीभरा माताको नाममा भक्तजनले दर्शन गर्दछन् । स्थानीयस्तर हुँदै देश विदेशभरिबाट वार्षिक लाखौ“को संख्यामा भक्तजनले मुक्कुमलुङ (पाथीभरा) को दर्शन गर्दै आएका छन् । यसरी किराँत याक्थुङहरुले पुज्ने र मान्दै आएको प्रमुख मुन्धुमी स्थल फक्ताङ्लुङ र मुक्कुमलुङ मात्र होइन, ताप्लेजुङमा अन्य धेरै मुन्धुमीस्थल रहेका छन् । विभिन्न ठाउँमा रहेका तागेरा निवाफु यक, नुहाङ्मा माङ्गेन्ना यक, सेसेलुङ, वसाङ्लुङ, सिदिङ्मा, सुसुवेङ लालावेङ (समाधिस्थल) समेतलाई मुन्धुमीस्थलका रुपमा याक्थुङहरुले पुज्ने र दर्शन गर्ने गर्दछन् ।

प्रमुख धार्मिकस्थल फक्ताङ्लुङ र मुक्कुमलुङ कसरी पुग्ने ?

मुख्य तथा प्रमुख धार्मिकस्थलमध्ये फक्ताङ्लुङ दर्शन यात्राका लागि ताप्लेजुङ सदरमुकाम फुङ्लिङ हुँदै तापेथोक र लेलेपको संगमस्थल रानीपुल हान्द्रुङसम्म सवारी साधन (गाडी) मा यात्रा गर्नुपर्ने हुन्छ । त्यसपछि सेखाथुम, लामाटार, अम्जिलेसा, ग्याब्ला, फले, घुन्सा हुँदै करिब तीन दिनको पैदल यात्रापछि फक्ताङ्लुङ पुग्न सकिन्छ । फक्ताङ्लुङ दर्शन यात्रामा निस्कने दर्शनार्थी वा भक्तजनले पूजा सामग्रीसहित उपभोग्य वस्तु, अन्य बन्दोबस्तीका आवश्यक सामान साथमा बोक्नुपर्ने हुन्छ । यस्तै मुक्कुमलुङ दर्शन यात्राका लागि सदरमुकाम फुङ्लिङ हुँदै काफ्लेपाटीसम्म सवारी साधनमार्फत जान सकिन्छ । काफ्लेपाटीदेखि भने करिब तीन घण्टा पैदल यात्रा गरेपछि मुक्कुमलुङ धाम पुगिन्छ । पैदल यात्रामा कठिनाइ हुनेका लागि भरियाको सुविधा पनि रहेको छ । उता मुक्कुमलुङ दर्शनमा जाने भक्तजनलाई बन्दोबस्तीका सामग्रीको आवश्यक पर्दैन । यहाँ काफ्लेपाटी हुँदै माथिल्लो फेदीसम्म गाँस तथा आवासका लागि होटल सुविधा रहेको छ । 

पर्यटनमा टेवा 

यता ताप्लेजुङ एक पर्यटकीय जिल्ला हो । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा यही जिल्लामा रहेकाले विदेशी पर्यटकको आगमन पनि राम्रै हुने गरेको छ । कञ्चनजङ्घा आरोहणसँगै भ्रमण गर्न यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । कञ्चनजङ्घा हिमशृङ्खलाअन्तर्गत नै रहेको फक्ताङ्लुङमा धार्मिक मात्र नभई अन्य पर्यटकले पनि भ्रमण गर्ने गरेका छन् । यहाँ भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकको राम्रै उपस्थिति रहने गरेको छ । पवित्र धार्मिक स्थल साथै पर्यटकीय गन्तव्यका रुपमा फक्ताङ्लुङ (कुम्भकर्ण) लाई गरिएको छ । फक्ताङ्लुङ आफै“मा पर्यटकीय गन्तव्य हो भने लिम्बू याक्थुङहरुको फरक संस्कृतिले ओतप्रोत मन्धुमीस्थल भएकाले किरात धर्मावलम्बीहरुको तीर्थदर्शन र पूजासहित सांस्कृतिक गतिविधिले पर्यटकलाई थप आकर्षित गर्ने गरेको छ । 
यस्तै मुक्कुमलुङ (पाथीभरा) पनि देशकै धार्मिक पर्यटकीय गन्तव्य हो । यहाँ पाथीभराको दर्शनसँगै यस क्षेत्रको भ्रमणमा देशी विदेशी पर्यटकहरु पुग्ने गरेका छन् । सुन्दर वातारणसहित यसक्षेत्रमा रहेको गुराँसे वनसहितका वनस्पति, रेडपान्डासहितका दुर्लभ तथा लोपोन्मुख जीवजन्तुसमेतको प्रत्यक्ष अवलोकन गर्न पाइने साथै पाथीभरा डाँडाबाट दृश्यावलोकन गर्न सकिने कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्यले पर्यटकलाई आकर्षित गरेको छ । यहाँको स्वच्छ, सुन्दर र आकर्षक वस्तुस्थितिले पर्यटकलाई लोभ्याउने गरेको छ । त्यसैले याक्थुङहरुको मुन्धुमी धार्मिकस्थल मात्र नभई साझा पर्यटकीय गन्तव्यका रुपमा स्थापित छन् ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै