Dark

घुम्नै पर्ने ठाउँ अछामको ‘रामारोशन’

लक्ष्मण बोहोरा

काठमाडौं । अछाम जिल्लाको रामारोशन गाँउपालिकामा रहेको “रामारोशन“ पर्यटन क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ । पर्यटनको प्रचुर सम्भावना बोकेको तथा ऐतिहासिक, प्राकृतिक, धार्मिक, सांस्कृतिक र मेला–पर्वले अछाम जिल्लाभित्रकै सम्भावनाले भरपुर एउटा नमुना क्षेत्र हो रामारोशन । बाह्र बन्ड (ताल), अठार खण्ड (मैदान) को नामले चर्चित रामारोशन पर्यटन आकर्षणको मुख्य केन्द्र बन्न थालेको छ । ठुल–ठुला हरियालि घाँसेमैदान, आकाश चुम्ने अग्ला पहाड, रङ्गीबिरङ्गी लालीगुराँस, घना वनजंगल र वन्यजन्तुको बासस्थलका रूपमा रामारोशनले महत्वपूर्ण भुमिका बोकेको छ ।


रामारोशन पुग्दा रमाइलो नमान्ने मानिस सायदै होलान् । सुन्दर र आकर्षक पर्यटकीय गन्तव्य रामारोशनमा विभिन्न साँस्कृतिक मनोरन्जनसँगै होरी, भुवो, न्याउल्या, हुड्के, पुतलालगायत अन्य धार्मिक तथा सांस्कृतिक पर्वले जो–कोहीलाई पनि आकर्षित गराउँछ । भौगोलिक वातावरणबाट हेर्दा यस क्षेत्रमा चिन्ड्यानि, कुकुरसोड्ना, अयरपाटा लगायत बिभिन्न पहाडका खोचहरुबाट उत्पन्न हुने पानीबाट  १२ वटा सुन्दर तालहरू र १८ वटा घाँसेमैदानहरू रहेका छन । त्यहाँ पुग्ने जो कोहि पर्यटक यि सुन्दर ताल तथा घाँसेमैदानहरू को अवलोकन गर्न बाध्य हुन्छन् । अनि त्यो पहाडको बीचमा रहेका समतल तालहरु र घासेमैदानको अवलोकन गर्दा मनमा बेग्लै शान्ति छाउँछ ।


 यस क्षेत्रमा वन्यजन्तुहरू घोरल, थार, भालु, चितुवा, रतुवा, डाँफे, मुनाल, कालिज जस्ता राष्ट्रिय चराचुरुङीहरुसमेतको अवलोकन गर्न सकिन्छ ।
रामारोशन पर्यटन क्षेत्रको पहिचान तथा प्रचार प्रसारका लागि सरकारी तथा गैर सरकारि बिभिन्न संस्थाहरु लागिपरेका छन । मुख्यतः विभिन्न सामाजिक संजालद्वारा युवाहरू आफ्नो क्षेत्रको प्रचार प्रसारका लागि लागिपरेका छन । जसले गर्दा  यस क्षेत्रको पहिचान ब्यापक हुन थालेको छ । स्थानीय तहको गठनसँगै रामारोशनका केही गाउँबस्तीमा बजारीकरण, आन्तरिक तथा बाह्य पर्यटनको चाप बढ्दो छ । बाटो–घाटो,यातायात तथा सडकको सहजीकरणले रामारोशन पर्यटन क्षेत्रलाई थप परिचित गराउन मद्दत पुगेको छ । 


सदरमुकाम मङ्गलसेन र व्यापारीक बजार साँफेबगरमा मात्र  बजार क्षेत्र रहेकोमा पछिल्लो समय स्थानीय तहको सरकारको निकट्ताले जनताहरु केही मात्रामा भएपनि सन्तुष्ट छन् । घरबस्तीमा सवारीसाधन पुगेसँगै स्थानीय बजार तथा शहर बिस्तार हुन थालेपछि गाउँमै मेडिकल सेवा, तरकारी बजार, सिलाइबुनाइ पसल, मासु पसल खुलेका छन् । जसले गर्दा आर्थिक कारोबार पनि वृद्धि भएको छ ।

रामारोशन नेपालको मातृभाषा र देउडा गीत तथा भाकाका लागि प्रख्यात ठाउँ हो । रामारोशन  पुरानो संस्कृति (घर, खेतीपाती, रीतिरिवाज, पहिरन) देउडा, हुड्के, पुतला, भुवानाच, भैँसी, बाख्रा तथा भेडी गोठ संस्कृतिको अवलोकन गर्न यो क्षेत्र एकदमै उपयुक्त मान्न सकिन्छ ।

रामारोशन क्षेत्रको अवलोकन सङै यहाबाट बडीमालिका क्षेत्रको अवलोकन तथा पुजापाठ समेत गर्न सकिन्छ । बडिमालिका स्थान  योगा तथा ध्यानको लागि उपयुक्त भएकोले तीन दिन देखि पाँच दिन सम्मको पैदल यात्राको मार्ग अपनाएर जान सकिने भएकाले अहिले यस क्षेत्रमा पर्यटकको घुइँचो बढेको स्थानीय वासिन्दा बताउँछन् । 
पर्यटकहरू विशिष्ट अनुभव लिनका लागि घुम्न आउने हुन् । त्यसैले पर्यटकको ध्यान खिच्नका लागि हाम्रा ऐतिहासिक धरोहर, साँस्कृतिक परम्परा, प्राकृतिक सौन्दर्य, आतिथ्यता, साहसिक गतिविधि, खेलका साथै नौला अवलोकनका अवसरहरू व्यवस्थित गर्न सक्नु पर्दछ । अद्भुत पर्यटकीय सम्भावना बोकेको ‘बाह्र बण्ड अठार खण्ड’लाई पनि पर्यटकमैत्री ढंगबाट व्यवस्थापन गर्न सके एउटा नमुना पर्यटकीय स्थल बन्ने सम्भावना निश्चिति छ ।
रामारोशन पर्यटन  क्षेत्रमा बिभिन्न भ्रमण र गित सङितका सुटिङ जस्ता मनोरञ्जनात्मक क्रियाकलापको चाप बढेसँगै स्थानीय स्तरबाट बनेका अर्गानिक खाद्यवस्तुको समेत माग बढेको स्थानीय बासिन्दाहरू बताउँछन् । यो क्षेत्र फिल्म तथा बिभिन्न म्युजिक भिडियो सुटिङका लागि निकै आकर्षक गन्तव्य बनेको छ । खासगरी आन्तरिक तथा विदेशी पर्यटकहरूको रोजाइमा पर्ने यो पदमार्गमा पछिल्लो समय आन्तरिक पर्यटकको पनि चहलपहल बढेकोमा स्थानिय व्यवसायीहरू खुसि देखिन्छन । 


तर, पछिल्लो समय यस क्षेत्रमा सामाजिक कुप्रथा जस्ता विभिन्न रीतिरिवाजको लोप हुँदै गएको छ । छाउपडी प्रथा धेरै रहेको तथा एड्सप्रभावित बढी भएको जिल्लामा अहिले छाउपडी गोठ, जातीय छुवाछूतको अवस्थाले पनि कोल्टे फेर्न थालेको छ । ६ हजारभन्दा बढी छाउगोठ भत्काइएपछि महिनावारी भएका महिला तथा किशोरी सुरक्षित रूपमा बस्न थालेका छन् । 


छाउगोठ भत्काएसँगै स्थानीय तहको निगरानी र सकारात्मक विभेद, छाउपडीसम्बन्धी कानुन लागू हुनु र जनचेतनामूलक अभियानले समस्या कम हुँदै गएको छ । महिनावारीका बेलामा असुरक्षित ढङ्गले गोठमा बस्दा आइपर्ने विभिन्न समस्या र यसबाट बच्ने उपायसम्बन्धी सन्देश हरेक व्यक्तिसम्म पुग्न थालेको छ । अछाममा १० वर्षको अवधिमा १४ जना किशोरी तथा महिलाको छाउगोठमा बसेकै कारण मृत्यु भएको थियो । 
पुस्तान्तरणसँगै छुवाछूतजन्य विभेद अन्त्यको बाटोतिर पुगेको छ । यस क्षेत्रमा सार्वजनिक ठाउँ जस्तै खानेपानीको धारा, सार्वजनिक स्थान, मेला र पर्वहरूमा हिजोको जस्तो विभेदपुर्ण समाज नरहेको त्यहाँका दलित अभियन्ताहरू बताउँछन् । यस ठाउँमा धामीझाँक्री, बोक्सी, बालविवाह, अन्धविश्वास, कुरीति र परम्परागत अन्धो संस्कार क्रमशः हट्दै गएको छ ।


 

यसरी नै स्थानीय सरकारले शक्ति, स्रोत, अधिकार र जिम्मेवारीको परिधिभित्र रही पर्यटन विकासमा थप भूमिका निर्वाह गरेको अनुभूति हुन्छ । स्थानीय निकायलाई पर्यटन विकासका सन्दर्भमा बढीभन्दा बढी सचेत, सक्षम, जागरुक र क्रियाशील नबनाउँदासम्म अपेक्षित प्रतिफल सम्भव छैन । ग्रामीण पर्यटनलाई प्रवर्द्धन गर्ने गरी घरवास ( होम स्टे) जस्ता पर्यटकीय क्रियाकलापको प्रवर्द्धन गर्न कत्ति पनि विलम्ब गर्न हुँदैन । पर्यटन क्षेत्रलाई दिगो, मौलिक र सार्थक बनाउन हाम्रा पर्यटकीय समस्याहरूलाई समाधान गर्दै सम्भावना तथा अवसरहरूको संरक्षण, सम्वर्द्धन र विकास गर्नु आवश्यक छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरू आकर्षित हुनेगरी पर्यटन प्रवद्र्र्धन गर्न नेपालका आफ्नै आकर्षक ब्राण्डहरू निर्माण गर्नु आवश्यक छ । हाम्रा नौला स्थान, नौला क्रियाकलाप, नौला अनुभूतिप्रति पर्यटकलाई आकर्षित गर्न बजार प्रवर्द्धनका रणनीतिलाई आधुनिक पद्धतितर्फ लैजानैपर्छ अनि मात्र समग्र रामारोशन जनताको विकासमा टेवा पुग्नेमा दुई मत रहन्न ।

पर्यटन क्षेत्र बहुसरोकारवालाहरूको अन्तरसम्बन्धबाट चल्ने क्षेत्र हो । त्यसैले पर्यटनको प्रवर्द्धन र विकासको लागि सरकारी, गैरसरकारी, निजी तथा साझेदारीको प्रयास आवश्यक छ । स्थानीय, प्रदेश र संघीय सरकार तथा निजी क्षेत्रको पूर्ण सहयोगसहित पर्यटनमा गुणस्तर मापदण्डको विकास गरी इमान्दार कार्यान्वयन गर्न आवश्यक देखिन्छ । 


संस्थागत संरचना, नीतिगत व्यवस्था, व्यवस्थापन प्रणाली एवम् समन्वय र नियमन पद्धतिमा सुधार गर्दै प्रयाप्त सहकार्य र उपयुक्त गृहकार्यको साथमा अगाडि बढ्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यप्राप्तिमा रामारोशन क्षेत्रले पनि महत्वपूर्ण भूमिका सिद्ध गर्नेमा विश्वस्त हुन सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
90 %
WOW
0 %
 Like
10 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

ताजा उपडेट

छुटाउनुभयो कि?

सबै